कोइरालाले भने- प्रचण्ड सरकार बनाउने ठेकेदार हुन र ?

२८ साउन, चितवन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार बनाउने ठेकेदार नभएको टिप्पणी गर्नु भएको छ ।
आइतबार नारायणगढमा आयोजित कार्यक्रममा सभापति कोइरालाले प्रश्न गर्दै भन्नुभयो-’प्रचण्ड सरकार बनाउने ठेकेदार हुन र त्यस्ता कुरा गर्ने ?’ चुनावी सरकारको नेतृत्वमा कांग्रेस स्वीकार्य नहुने बताएपछि कोइराला माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आउनु भएको छ ।
प्रचण्डको रवैयाले माओवादीभित्रै उनको कद होचो भएको भन्दै उहाँले धम्की र घुर्की छाडेर सहमतिको राजनीतिमा इमान्दार भएर लाग्न आग्रह गर्नुभयो । माओवादीले सँधै बखेडा मात्र झिक्ने र सहमतिमा नआउने गरेको भन्दै उहाँले माओवादी शैलीप्रति दिक्क लागेको बताउनु भयो । माओवादीको कार्यशैलीप्रति दिक्क लागेर आफूले एक पटक बन्दुकै बोकेर आउन भनेको सुनाउनु भयो । उहाँले भन्नुभयो-’बन्दुक बोकेर आउनुहोस्, मलाई पनि मार्नुहोस भनेको थिए ।’
सभापति कोइरालाले जेठ १४ पछि माओवादीसँग रिस उठेपनि सहमतिका लागि वार्ता सुरु गरेको बताउनु भयो ।

-onlinekhabar