सहमति भए सरकार छोडन तयारः प्रकाश
|
४ भदौ, लहान । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शान्ति र संविधान निर्माणबारे सहमति भए सरकार छोड्न तयार रहेको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ सिरहाले सोमबार लहानमा अयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमतिका लागि सरकार बाधक नरहेको स्पष्ट पार्नुभयो । ‘राष्ट्रिय सहमतिका लागि सरकारको विषयमा पनि हामी छलफल गर्न तयार छाँै’ एमाओवादीका उपाध्यक्षसमेत रहेका प्रकाशले भन्नुभयो-’सरकार छोड्ने कुरा हाम्रो लागि ठूलो कुरा होइन्, शान्ति र संविधानको विषयमा राष्ट्रिय सहमति हुनु ठूलो कुरो हो ।’
राष्ट्रिय सहमति नभई सरकार छोड्दा मुलुक अनिश्चितता र ठूलो दुर्घटनामा फस्ने उहाँको भनाइ थियो । राष्ट्रिय सहमतिको विकल्प नरहेको भन्दै उहाँले सबै दललाई आ-आफ्नो हठ त्यागेर ठन्डा दिमागबाट सोच्न आग्रहसमेत गर्नुभयो ।
राष्ट्रपतिबाट फिर्ता पठाइएको अध्यादेशबारे सोधिएको प्रश्नमा उपप्रधानमन्त्री प्रकाशले राष्ट्रपतिले सरकारसँग कुनै छलफलै नगरी दुईवटा अध्यादेश फिर्ता पठाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सरकार र राष्ट्रपतिबीच टकराबको स्थिति सिर्जना भए प्रतिगामी तत्वहरु खेल्ने र अहिलेसम्मको प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै उहाँले आफूहरु सचेत रहेको बताउनु भयो । रासस
|




