झडपको विषयलाई लिएर रुकुम वन्द
![]() |
१८ साउन, रुकुम । दुई विद्यार्थी संगठनको विवादलाई लिएर विहीवार एकीकृत माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले रुकुम वन्द गराएको छ । बुधबार साँझ दुई विद्यार्थी सङ्गठनबीच भएको झडपको विषयलाई लिएर क्रान्तिकारीले रुकुम जिल्ला अनिश्चितकालीन बन्द गराएको हो ।
बन्दका कारण रुकुम सदरमुकामलगायत आसपासको बजार, कलकारखाना, विद्यालय पूर्णरुपमा बन्द छन् । बन्दका कारण रुकुम जिल्ला बाहिरिने र भित्रिने यात्रु बाटामै अलपत्र परेका छन् ।सदरमुकाम मुसीकोटस्थित मुसीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुधबार साँझ झडप भएको थियो । झडपमा अनेरास्ववियु क्रान्तिकारीका तीनज विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइतेको अहिले जिल्ला स्वास्थ्य कार्यालय रुकुम उपचार भइरहेको छ भने थप उपचारका लागि गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।
क्याम्पसले विद्यार्थीका विभिन्न माग सम्बोधन गर्नुपर्ने माग राख्दै अनेरास्ववियु -क्रान्तिकारी)ले एक सातादेखि आन्दोलन गरिरहेकाले बुधबार बेलुका क्याम्पस सञ्चालक समितिले सबै विद्यार्थी सङ्गठनलाई बोलाएर छलफल गरिरहेका बेला दुई सङ्गठनबीच झडप भएको हो ।
![]() |