चोरी मोटरसाइकलको दाम १५ देखि २० हजार रुपैयाँ
|
मोटरसाइकल चोरमा पनि गिरोह
मोटरसाइकल चोरको जालो
काठमाडौं, भाद्र ९ - राजधानीबाट दैनिक सरदर तीनवटा मोटरसाइकल चोरिएर उपत्यका बाहिर पुग्ने गरेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट दैनिक तीनवटा मोटरसाइकल हराउने गरेको पाइएको हो ।
महाशाखाका अनुसार पछिल्लो समयमा तीनवटै जिल्लाका काँठ क्षेत्रबाट चोरिने गरेका हुन् । गत साउनदेखि अहिलेसम्म ३८ दिनमा १ सय ३१ वटा मोटरसाइकलमा हराएका छन् ।
सामाखुसीका श्रीधर पौडेलको बा५०प ६७०० नम्बरको नीलो पल्सर आधा घन्टाको बीचमा हरायो । डेढ महिनाअघि बिहानको समयमा घर बाहिर राखेर खाना खान भित्र गएर फकर्ंदा मोटरसाइकल गायब । तत्काल प्रहरीलाई खबर गरे पनि पत्तो लागेन । किनेको २ महिना नबित्दै मोटरसाइकल हराएपछि उनी तनावमा छन् ।
पैसा कमाउने सजिलो उपाय मोटरसाइकल चोरी देखिन थालेपछि चोरहरू त्यतैतिर सक्रिय हुन थालेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले बताए । चोरी हुनबाट रोक्न धनी आफै पनि सचेत हुनुपर्ने सुवेदीको सुझाव छ । '२/३ लाख रुपैयाँ हालेर मोटरसाइकल खरिद गर्छन् तर त्यसलाई सुरक्षित राख्न आवश्यक पर्ने उपकरण प्रयोग गर्दैनन्' सुवेदीले भने, 'मोटरसाइकलको बिमा हुने हुँदा धनी चनाखो नभएका हुन् ।' मोरटसाइकलको बिमा भएपछि हराउँदा सवारीधनीलाई धेरै घाटा लाग्दैन । ट्राफिक प्रहरीबाट हराएको उजुरी लगेपछि बिमा बापतको पैसा पाइन्छ । कतिपय सवारीधनीले आफै 'चोरी गराएर' बिमाबाट नगद दाबी गर्ने गरेको समेत भेटिएको छ । पछिल्ला ३ आर्थिक वर्षमा ४ हजार ९ सय २३ वटा मोटरसाइकल हराएको तथ्यांक छ ।
अपराध महाशाखाले पछिल्ला दुई महिनामा मोटरसाइकल चोरी गर्ने २० जनालाई पक्राउ गर्यो । विशेषगरी अस्पताल क्षेत्रबाट चोरी गर्ने गिरोह र त्यसका नाइकेलाई समातेको छ । काभ्रेका केदार तामाङ त्यसका नाइके हुन् । पक्राउ परेका तामाङले काठमाडौंबाट ३ सय वटा मोटरसाइकल चोरी गरेको बयान प्रहरीलाई दिएका छन् । उनीसहितको ५/६ जनाको एउटा समूहले अस्पताल र पार्किङस्थलबाट चोरी गर्ने गथ्र्यो । 'टिचिङ अस्पतालबाट दैनिक मोटरसाइकल चोरी भएको गुनासो आउँथ्यो, बिरामी भेट्न र बिरामी लिएर गएका व्यक्तिले हतारमा ह्यान्डिल लक' नगर्नाले चोरी धेरै भयो' एसएसपी सुवेदीले भने, 'झन्डै १५ दिन पिछा गर्दा मात्र यो गिरोह समातियो ।' अहिले टिचिङ अस्पतालबाट मोटरसाइकल चोरी भएका छैनन् । तामाङको समूह समातिएपछि काभ्रेतिरको गिरोह नै समाप्त भएको प्रहरीको दाबी छ ।
यो समूहले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली लगायतका पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा मोटरसाइकल पुर्याएर १५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बेच्ने गर्छन् । महाशाखाबाटै पक्राउ परेका बूढानीलकण्ठका सुरेश विक र नारायण पुरकोटीले राजधानीबाटै ७ वटा मोटरसाइकल चोरेका छन् ।
मोटरसाइल चोरको बिगबिगी हँदाहुँदै धनीले राम्रोसँग ह्यान्डिल लक र डिसलक जस्तो व्यवस्था नगर्दा चोरी हुने गरेको ट्राफिक महाशाखाका एसपी देवबहादुर बोहराले बताए । 'प्रहरीको आँखा कम पर्ने र चोरी गरेर भाग्न सजिलो हुने भएकाले उनीहरूले काँठलाई लक्ष्य बनाएको देखिन्छ,' बोहराले भने । ललितपुरको बडिखेलबाट केही समयअघि अभय न्यौपानेको घरमा पार्क गरेर राखेको बा४०प ८९९३ नम्बरको हिरोहोन्डाको सिबी जिलेक्स मोटरसाइकल हरायो । यस्तै बा४९प ४११९ नम्बरको हिरोहोन्डा सिबीजेट मोटरसाइकल पनि हराएको छ । प्रहरीलाई चोरीको उजुरी दिए पनि मोटरसाइकल फेला परेका छैनन् ।
मोरटसाइकल चोरी पनि संगठित
प्रहरीको अनुसन्धानले मोटरसाइकल चोरी पनि संगठित रूपमा हुने गरेको देखाएको छ । पार्किङ गरेर राखेको स्थानबाट एउटाले चोर्ने र अर्काले रेकी गर्ने गरेको पाइएको हो । ट्राफिक महाशाखाले पक्राउ गरेका भकुन्डे भनिने शेरबहादुर तामाङ र अपराध महाशाखाले पक्राउ गरेका केदार तामाङ एकै समूहका व्यक्ति हुन् । पार्किङमा राखेका मोटरसाइकल चोरी गर्दैगर्दा उनलाई लक काट्ने कैंचीसहित पक्राउ गरेको हो । पक्राउ परेका उनले एउटा मोटरसाइकल चोरी गरेबापत २ देखि ३ हजार रुपैयाँ पाउने गरेको बताए । 'एउटा चोरेर लगेपछि अर्को साथीले लान्छ, उसले बेचेर मलाई ३ हजार रुपैयाँ दिन्छ,' उनले भने । दुई वर्षअघिसम्म गाडीमा खलासीको काम गर्ने तामाङले गाडीको काम छाडेपछि मोटरसाइकल चोरी नै गरेका छन् । प्रहरीका अनुसार उनले ७ वटाभन्दा बढी चोरेका छन् । उनका अनुसार धेरैजसोले बाइकसँग मिल्ने साँचो बनाएर चोर्ने गरेका छन् । चोरी गरेका मोटरसाइकल पक्राउ परेका केदारले बाह्रबीसे पुर्याएर बेच्ने गरेका छन् ।
बक्स
आर्थिक वर्ष
२०६६/०६७ १९३८
२०६७/०६८ १५३२
२०६८/०६९ १४५३
|




