काठमाडौंमा रगत पाइएन भने बनेपा आउनुस्



मधुसुधन गुरागाईं, बनेपा, साउन २२- काठमाडौं उपत्यकामा रगत अभाव हुँदा आसपासका ब्लड बैंकले समेत भरथेग गर्दै आएको छ। बितेको वर्ष काठमाडौं उपत्यकामा चार सय २७ युनिट रगत पठाएको काभ्रेको बनेपास्थित ब्लड बैंकले जनाएको छ। 

'पोहोर साउनदेखि असोजसम्म उपत्यकामा रगत अभाव थियो, त्यतिखेर हामीले सहयोग गर्‍यौं,' ब्लड बैंककी इन्चार्ज राधा थापाले जानकारी दिइन्। जिल्लामा मासिक औसत दुई सय पिन्ट रगत खपत हुने गरेको छ। धुलिखेल, शीर मेमोरियल र अपांग बाल अस्पतालका बिरामीले यहाँबाट रगत लिने गरेका छन्।
'बढी भएको र दुर्लभ समूहको रगत लिन बिरामीका आफन्तहरू भक्तपुर, काठमाडौं र ललितपुरदेखि आउने गरेका छन्। यहाँ आएकाहरूलाई रित्तो हात फर्काउनु परेको छैन,' थापाले भनिन्। अघिल्लो साता धुलिखेलमा एकता युवा समूहले आयोजना गरेको कार्यक्रममा संकलित सबै रगत ब्लड बैंक भक्तपुरलाई हस्तान्तरण गरिएको उनले बताइन्।
असार, साउन र दसैंपछि रगत अभाव हुने गर्छ। खेतीपातीको व्यस्तता, व्रत र चाडपर्वले गर्दा दाताहरू यो समयमा रक्तदान गर्न अनिच्छुक देखिने उनको अनुभव छ। 'दसैंमा घर फर्केकाहरू उपत्यका फिर्ता नहुन्जेल चरम अभाव हुने गरेको छ। यस वर्ष पनि हामी दसैंपछि उपत्यकाको अवस्था अनुमान गर्दै रक्त संकलन गर्दैछौं,' उनले भनिन्।
बितेको आर्थिक वर्ष एक हजार ६ सय २१ युनिट रगत संकलन गरेको ब्लड बैंक बनेपाले अघिल्लो मौज्दातबाट समेत गरी एक हजार ७ सय ६५ युनिट रगत बिरामीलाई उपलब्ध गराएको छ।
'धुलिखेल अस्पतालमा पाँच सय ८६, शीर मेमोरियलमा पाँच सय ७६, अपांग बाल अस्पतालमा एक सय १२ युनिट रगत सप्लाई भएको थियो,' रेडक्रस काभ्रेका कर्मचारी गोकुल बानियाँले भने, 'काठमाडौं उपत्यकामा चार सय २७ युनिट गयो। तिनमा पनि दुर्लभ समूहको रगत बढी थियो।'
११ वर्षअघि स्थानीय चन्दादाता र रेडक्रसको आर्थिक-प्राविधिक सहयोगमा बनेपामै ब्लड बैंक खुलेको हो। हालसम्म स्वयंसेवी रक्तदाता र चन्दादाताकै भरमा बैंक चल्दै आएको बानियाँ बताउँछन्। 'जिल्लाका पाँच दर्जन संघसंस्थाले नियमित रक्तदान गराएर ब्लड बैंकमा पठाउँदै आइरहेका छन्। बैंकले पनि प्रति रक्तदाता ३० रुपैयाँ खाजाका लागि सहयोग गर्दै आएको छ,' उनले जनाए।
बैंकले दुर्लभ रक्तसमूहका दाताहरूको सूचीसमेत अद्यावधिक राख्ने गरेको छ। यस्तो समूहको रगत माग भइआए, तत्कालै दातालाई बोलाएर दिने व्यवस्थासमेत मिलाइएको छ। 'एक घन्टाभित्रै ताजा रगत उपलब्ध गराउन सक्छौं,' थापाले जनाइन्।
बैंकको नियमित सम्पर्कमा ए नेगेटिभका ५५ जना, बी नेगेटिभका ३३, ओका नेगेटिभ ७० र एबी नेगेटिभका १६ दाता छन्। ब्लड डोनर्स एसोसियन नेपाल (ब्लडान) काभ्रे शाखाले प्रत्येक महिनाको पहिलो शनिबार बैंकमै रक्तदान कार्यक्रम राख्दै आएको छ। 'पहिले झैं नियमित रक्तदान गर्ने युवा अहिले जिल्लामा छैनन्,' ब्लडान काभ्रेका अध्यक्ष राजु शाक्यले भने, 'नयाँ पुस्तामा रक्तदानको महत्व बुझाउन स्कुल र कलेजहरूमा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्नु परेको छ।'