जापानमा नेपाली विद्यालय

'एभरेष्ट इन्टरनेशनल स्कुल' स्थापना



काठमाडौं, फाल्गुन १६ - जापानमा पहिलो नेपाली विद्यालय स्थापना भएको छ । 'एभरेष्ट इन्टरनेशनल स्कुल' निजी क्षेत्रबाट स्थापित विदेशको पहिलो नेपाली विद्यालय भएको दाबी गरिएको छ ।
विद्यालय सञ्चालक संस्था नेपाल एजुकेशन सेन्टर जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठले उक्त विद्यालय नेपाली भाषामै आफ्नै मौलिक कला, संस्कृति र पाठ्यक्रममा आधारित हुने जानकारी दिए । 'जापानमा रहेका नेपाली समूदायमा विद्यालयको अभाव खडि्कादै गएपछि सिंगो नेपाली समुदायको सक्रियतामा जापानको राजधानी टोकियोमा आगामी अप्रिलदेखि 'एभरेष्ट इन्टरनेशनल स्कुल, जापान' शुभारम्भ गर्दैछौं,' उनले भने ।
जापानको सरकारी तथ्यांकमा २० हजार ३ सय ८३ नेपाली छन्, तीमध्ये एक हजार प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका छन् । विद्यालयले 'नेपाली भाषाको साम्राज्यता' कायम गर्ने पहिलो कदम हुने डा. श्रेष्ठको भनाइ छ ।
'जापानमा काम गर्ने दम्पत्तिका सन्तानलाई नेपालमा राखेर अध्यापन गराउादा आवासीय विद्यालयमा राख्नुपर्छ,' उनले भने, 'एकातिर जापानको व्यस्त दैनिकीका कारण आफ्ना बालबालिकासाग भेट्न समयमै सकिादैन । नेपालमा आवासीय विद्यालय खर्चिलो पनि छ ।'
'एभरेष्ट इन्टरनेशनल स्कुल जापान' नेपाल एजुकेशन सेन्टर जापान (एनपीओ) को मातहतमा सञ्चालन गरिने कार्यक्रममा जानकारी गराइयो । पहिलो वर्ष नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन गराइन्छ । वर्षेनि 'अपग्रेट' गर्दै माध्यमिक स्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको छ ।
राजधानीमा बुधबार भएको कार्यक्रममा एमाओवादी विदेश विभाग प्रमुख राम कार्कीले विद्यालय सुरु भएपछि नेपालमा आफन्तको छोराछोरी राख्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । 'अब फूपु र मामाकोमा छोरोछोरी राख्नुपर्ने झन्झट हटेको छ,' उनले भने, 'नेपाली भाषा, संस्कृति जोगाउन त झन् कोषेढुंगा सावित भएको छ ।'
पूर्वशिक्षामन्त्री एवं एमाले पोलिट्ब्यूरो सदस्य गंगालाल तुलाधारले विद्यालयलाई स्तरोन्नती गर्दै विश्वविद्यालयसम्म बनाउन सुझाव दिए । 'त्यो विश्वविद्यालयले नेपालका विश्वविद्यालयबाट पनि सम्बन्धन लेओस्,' उनको भनाइ थियो, 'नेपाल र जापानबीच शैक्षिक आदानप्रदानमा भूमिका खेल्नुहोस् ।'