सरकारी सेवा मात्र ११ मिनेटमा
![]() |
काठमाडौ, श्रावण २७ - कुनै सरकारी कार्यालय छिरेको केही मिनेटमै एउटा महत्वपूर्ण काम फत्ते भएर सेवाग्राही खुसी हुने दिन कहिले आउला ? अहिलेसम्म यो कल्पना हो । यद्यपि नेपाल प्रहरीले छिट्टै आश्चर्य खडा गर्नसक्छ, ११ मिनेटभित्र 'चालचलन पत्र' -पुलिस क्लियरेन्स रिपोर्ट) दिने सेवा सुरु गरी ।
अहिलेसम्मको अवस्थामा सेवाग्राहीले चालचलन पत्र लिन घण्टौं बिताउने गरी कम्तिमा दुई दिन प्रहरी प्रधान कार्यालय धाउनुपर्छ । कार्यालयबाहिरै निजी पसलमा फर्मेट टाइप गराएपछि फोटो र सरकारी छाप लगाएर बनाइने चालचलन पत्रको स्तर निकै कमजोर छ । पैसा नै बढी लाग्छ । 'डुप्लिकेशन' पनि प्रशस्त हुनेगर्छ ।
नेपाल प्रहरीले बनाएको योजना अनुसार अब चालचलन पत्र लिने क्रममा सेवाग्राहीले समय, पैसाको भारी बचतका अलावा इज्जत पनि पाउने छन् ।
नमुना सरकारी सेवा
नेपाल प्रहरीले चालचलन पत्र दिने प्रक्रियालाई नेपाल सरकारकै नमुना सेवा (बेन्चमार्क सर्भिस) बनाउन खोजेको छ ।
प्रहरी प्रधान कार्यालय सचिवालयले तयार गरेको यससम्बन्धी विस्तृत परियोजना प्रतिवेदनअनुसार सेवाग्राहीले चालचलन पत्र का लागि अनलाइन आवेदन गर्नेछन् । नागरिकता प्रमाणपत्र, राहदानीको प्रतिलिपी र राजश्व दस्तुरको भौचरसहित अनलाइन आवेदन अपलोड गरेको एक घण्टाभित्रैमा सेवाग्राहीले 'कन्फर्मेसन इमेल' पाउनेछन् । अठ्चालिस घण्टाभित्रमा अर्को इमेल र एसएमएस आउनेछ, प्रहरीको सेन्ट्रल डाटावेसमा 'केस भेरिफिकेसन' भइसकेकाले चालचलनपत्र भोलिपल्ट फलानो समयमा लिन आउ भन्दै ।
तेस्रो दिन सेवाग्राही प्रधान कार्यालयको पूर्वी पर्खाल भत्काएर बनाइन लागेको अत्याधुनिक सेवा केन्द्रमा जानेछ । त्यहाँ उसले 'स्मार्ट क्यु मेसिन' बाट चिट लिएर आरामदायी कुुर्सीमा बसेर पालो कुर्नेछ । पालो आएको डिजिटल डिस्प्लेबाट थाहा हुनेछ । वृद्धवृद्धा, अशक्त महिला, गर्भवतीलगायतले विशेष चिट लिनेछन्, जसले पालो कुर्नु पर्दैन ।
सेवा केन्द्रमा आठ वटा ट्रेलर हुनेछन् । त्यहाँ पुगेर सेवाग्राहीले नागरिकता प्रमाणपत्र र राहदानीको सक्कल पेश गर्नेछ । कर्मचारीले एकपटक सेवाग्राहीसँग आँखा जुधाएर एउटा सामान्य प्रश्न सोध्नेछ, आत्मियता बढाउने गरी । विवरणहरु ठिक देखिएपछि त्यहीं बस्दाबस्दै सेवाग्राहीको डिजिटल तस्विर लिइनेछ । तस्विरसहितको पत्र पि्रन्ट हुुन्छ । नजिकै बसेका अधिकारीले त्यसलाई प्रमाणिकरण गर्छन् । सेवाग्राही काम सकेर बाहिंरिंदा मात्र ११ मिनेट बितेको हुनेछ ।
हरेक चालचलनपत्रमा एउटा 'युनिक नम्बर' प्रकाशित हुनेछ, जसका आधारमा सम्बन्धित व्यक्तिको विवरण नेपाल प्रहरीको वेवसाइटमा गएर सक्कल भए नभएको हेर्न सकिन्छ ।
अहिले प्रहरी प्रधान कार्यालयबाट दैनिक सरदर ४ सय ५० जना सेवाग्राहीले चालचलन पत्र लिन्छन् । त्यसैलाई आधार बनाएर राखिन लागेको आठ वटा ट्रेलरबाट दुई-मिनेट कुरेपछि नै पालो आइहाल्ने स्थिति बन्ने अधिकारीहरु बताउँछन् ।
यो सेवाका लागि प्रहरी कर्मचारीलाई विशेष तालिम दिइनेछ । तीन सिफ्टमा ड्युटी खटाइनेछ । चौविस घण्टा आवेदन दर्ता हुने व्यवस्था मिलाइनेछ । सेवा केन्द्रमा कसैलाई पनि त्यहाँ एक वर्षभन्दा बढी राखिनेछैन ।
'नेपालकै नम्बर एक सार्वजनिक सेवामा दर्ज हुने गरी हामीले योजना बनाएका छौं,' परियोजना डिजाइनमा संलग्न एक वरिष्ठ अधिकारीले भने ।
प्रधान कार्यालय परिसरभित्र अहिले मोटर ग्यारेज भएको ठाउँमा सेवा केन्द्र बनाउने तयारी सुरु भएको छ । 'हामीले लगभग ४ करोड रुपैयाँ बराबरको वजेट लागत तयार गरेका छौं । वजेट विनियोजन भएसँगै पूर्वाधार निमार्ण सुरु हुनेछ,' प्रहरी प्रवक्ता विनोद सिंहले कान्तिपुरसँग भने ।
आवेदन गर्नका लागि इन्टरनेटको पहुँच नभएकाहरुलाई भूतपूर्व प्रहरी वा महिला प्रहरी संगठनमध्ये कसैलाई जिम्मा दिने गरी प्रधान कार्यालय नजिकै सहयोग केन्द्र खोल्ने योजना पनि नेपाल प्रहरीले बनाएको छ ।
![]() |