नेपाल आज आयरल्यान्डसँग भिड्दै, सम्भावना कायमै
![]() |
काठमाडौं, साउन ३१ (नागरिक)- अस्ट्रेलियासँग २ सय १२ रनको शर्मानक हार बेहोरे पनि आइसिसी यु-१९ विश्वकपको सुपर लिगमा पुग्ने समिकरणबाट नेपाल अझै बाहिरिएको छैन। नेपालले बुधबार आयरल्यान्ड र त्यसको भोली पल्ट इङ्ल्यान्डसँग खेल्ने छ।
अस्ट्रेलियाले समूह 'ए' का तीनै खेल जित्ने क्रममा आयरल्यान्डलाई ६ विकेटले पराजित गर्यो। अस्ट्रेलियाले पहिलो खेलमा इङ्ल्यान्डलाई पनि ६ विकेटले नै पराजित गरेको थियो। दुबै खेल जिते नेपाल उपविजेताको रुपमा दोस्रो चरण पुग्ने छ। सन २००० मा सुपर लिगमा पुगेको इतिहाँस एसोसिएट राष्ट्रमा यही एकमात्र हो।
अस्ट्रेलियाको ब्रिसवेन स्थित टाउन्सभिलमा नेपाललाई इतिहास दोहर्याउने चुनौती त्यत्ति सजिलो छैन। नरेश बुढाऐरले सतक बनाउदै न्युजिल्यान्डसँगको अभ्यास खेलमा बहादुरी प्रदर्शन गरेर जोशिलो बनेको नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा हार बेहोरेपछि ढुक्क हुन सकेको छैन।
यु-१९ विश्वकपमा नेपाल एसोसिएट राष्ट्रसँग केवल एक पटक २००४ मा आयरल्यान्डसँग मात्र पराजित भएको छ। आयरल्यान्डसँगको यसअघिको दुवै खेल जितेकाले नेपाललाई बुधबारको खेल त्यत्ति गाह्रो नहुन सक्छ। तर निरन्तर खेलले आयरल्यान्डको प्रदर्शनमा निकै सुधार आइसकेको छ।
नेपालले २००६ मा श्रीलंकामा पहिलो पटक आयरल्यान्डको सामना गर्दा ६० रनको विजय निकालेको थियो। शरद भेषावकरको ८२ रनमा नेपालले ८ विकेट गुमाई २ सय ३४ रन बनाएको थियो, जुन यु-१९ विश्वकपमा नेपालको उच्च स्कोर हो। इङ्ल्यान्डका बर्तमान टोलीका सदस्य इआन मोर्गनले ८६ रन बनाए पनि आयरल्यान्ड ४५.३ ओभरमा १ सय ७४ रनमा समेटिएको थियो।
अस्ट्रेलियालाई छनोट हुनेक्रममा नेपालले आयरल्यान्डविरुद्ध दोस्रो विजय हात पार्यो। आयरल्यान्डमै भएको आइसिसी यु-१९ विश्वकप छनोटमा नेपाल डकवर्थ लुइस पद्धतिमा आएको नतिजामा १० रनको विजय पाएको थियो। वर्षाले ४६ ओभरमा छोटयाइएको खेलमा सागर पुनको ५० रनमा नेपालले ७ विकेट गुमाई १ सय ८७ रन बनाएको थियो। राहुल विकले ४ विकेट लिएपछि आयरल्यान्ड ४६ ओभरमा १ सय ७५ रनमा अल आउट भयो। अस्ट्रेलियासँगको आइतबारको खेलमा सागरको अलराउन्ड र राहुलको बलिङमात्र नेपालको सम्झन योग्य क्षण थियो।
नेपालको मुख्य परिक्षा इङ्ल्यान्डसँगको खेलमा हुनेछ। यु-१९ विश्वकपमा नेपाल यसअघि इङ्ल्यान्डसँग भएका सवै चार खेलमा पराजित भएको थियो। इङ्ल्यान्डले नेपाललाई २००० मा ९ विकेटले, २००२ मा ३७ रनले, २००४ मा ६ विकेटले र २००६ मा ७७ रनले पराजि गरेको थियो। अस्ट्रेलिया भन्दा इङ्ल्यान्डको सिम आक्रमक राम्रो मानिएकाले नेपाललाई निकै कठिन हुन सक्छ। इङ्ल्यान्ड टोलीमा काउन्टी खेलिसकेका १० खेलाडी छन्।
नेपालविरुद्ध आयरल्यान्ड, बुधबार
नेपालविरुद्ध इङ्ल्यान्ड, बिहीबार
(प्रत्यक्ष प्रसारण : स्टार क्रिकेटमा बिहान ५ बजेदेखि)
![]() |