मुख्यसचिवको म्याराथन अन्तिम चरणमा



स्वरुप आचार्य, काठमाडौं, साउन ९- नेपाल सरकारका मुख्यसचिव माधवप्रसाद घिमिरेको उत्तराधिकार दाबी गर्दै सचिवहरुले दौडधूप बढाएका छन्। मुख्यसचिवका लागि एक दर्जन सचिव योग्य भए पनि लीलामणि पौडेल, उमाकान्त झा, शंकर कोइराला र वृन्दा हाडा अग्रपंक्तिमा छन्।
अन्य दावेदारमा त्रिलोचन उप्रेती, भगवतीकुमार काफ्ले, ताना गौतम, बालानन्द पौडेल, वामनप्रसाद न्यौपाने, सुशीलजंग राणा, ज्ञानचन्द्र आचार्य, श्यामप्रसाद मैनाली र अवनिन्द्रकुमार श्रेष्ठ छन्। दौडमा रहेका सबै सचिवको नियुक्ति एकैदिन भएको हो। त्यसैले छनोटको मुख्य मापदण्ड मानिएको वरिष्ठताक्रममा कुनै विवाद छैन।
त्यसो त अहिलेका मुख्यसचिव माधवप्रसाद घिमिरे र पूर्व मुख्यसचिव लोकमानसिंह कार्की र विमल कोइरालाको नियुक्तिले कनिष्ठलाई पनि मुख्य सचिवमा नियुक्त गर्न सकिने परम्परा सुरु भइसकेको छ। उनीहरू आफ्नो समकक्षीभन्दा कनिष्ठ भए तापनि कार्यकुशलतालाई आधार बनाएर मुख्यसचिवमा नियुक्त गरिएका थिए।
कार्यकुशलतालाई नियुक्तिको आधार बनाउने हो भने यो वस्तुपरकभन्दा आत्मपरक हुने प्रशासनिक विज्ञहरूको धारणा छ। 'सबैका आ-आफ्ना गुण, अवगुण हुन्छ। कोभन्दा को राम्रो भन्ने कुरा नियुक्ति गर्ने मान्छेले हेर्ने कुरा हो,' एक विज्ञले भने, 'मुख्यसचिवको नियुक्ति प्रधानमन्त्रीबाट हुने भएकालेे उनले कसको कार्यकुशलताको मूल्यांकन कसरी गरेका छन्, त्यसैमा धेरै निर्भर हुन्छ।'
पूरै तीन वर्ष पदमा रहन सक्ने व्यक्तिलाई मात्र मुख्यसचिव नियुक्त गर्ने परम्परा छ। तर, पूरै समय मुख्यसचिव हुन नसक्नेसमेत जोडतोडले दौडमा लागेका छन्। 'अहिले जे पनि हुन सक्छ। न संसद छ, न कुनै खबरदारी गर्ने निकाय नै,' अर्का विज्ञले भने, 'त्यसैले पनि प्रशासनतर्फको सबैभन्दा गरिमामय पदबाट अवकाश लिने लालसा सबैमा देखिन्छ।'
स्रोतका अनुसार अहिले प्रमुख दाबेदारका रुपमा देखिएका लीलामणि पौडेल प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल निकट छन्। घनिष्ठता कायम राख्न उनले अरु सचिवलाई प्रधानमन्त्रीको छेउमा उभिनसमेत नदिएको गुनासो छ।
प्रचार माध्यमहरुमा छाए पनि सचिवहरूमाझ भने पौडेलको त्यति राम्रो छवि छैन। उनलाई प्राय सबै सचिवहरू 'अजासु' (अति जान्ने सुन्ने) नामले चिन्छन्। उनको यो सबैभन्दा ठूलो अवगुण हो।
अर्का प्रतिस्पर्धी उमाकान्त झा मधेसी हुन्। उनी मधेसी भएकै फाइदा उठाएर कुनै पनि हालतमा मुख्य सचिव बन्ने धुनमा छन्। मुख्यसचिव हुन उनले 'साम-दाम-दण्ड-भेद' सबै नीति अख्तियार गरिरहेका छन्। उनी मुख्यसचिवमा नियुक्त भए पहिलो मधेसी मुख्यसचिव हुने छन्। सत्तामा रहेका सबै मधेसी मन्त्रीको छत्रछाया उनेमाथि छ।
मुख्यसचिवकै दौडमा रहेका शंकर कोइराला कांग्रेस निकट मानिन्छन्। उनी पनि आफ्नो पहुँचको उपयोग गर्न पसिना काढेर लागिपरेको प्रशासनका जानिफकारहरुको भनाइ छ। यस्तै बालानन्द शर्मा एमालेनिकटका भनेर चिनिन्छन्।
मुख्यसचिवको दौडमा रहेकी एकमात्र महिला उम्मेदवार वृन्दा हाडा हुन्। उनी आफ्नो योग्यता र महिलासमेत भएकाले त्यसैका आधारमा मुख्यसचिवको दौडमा लागेकी छन्।
स्रोतका अनुसार प्रधानमन्त्री पत्नी हिसिला यमीको उनलाई समर्थन छ। तर, स्वयं प्रधानमन्त्री भने वृन्दाको नियुक्तिमा सकारात्मक छैनन्।

कुनै पार्टीको समर्थन जुटाउन असफल र महिला भएकैले उनी मुख्यसचिव हुन नसक्ने ठहर प्रधानमन्त्रीको रहेको स्रोतको दाबी छ। वृन्दामा नेपालको प्रशासनिक इतिहासमा प्रथम महिला मुख्यसचिव हुने लालसा छ। उनी दौडबाट बाहिरिएको खण्डमा नेपालले अर्को १२-१५ वर्षसम्म महिला मुख्यसचिव नपाउने प्रशासनिक विज्ञको दाबी छ।
'अहिले मुख्यसचिवको दौडमा भएका सबै आ-आफ्नो हिसाबले दाबेदार छन्। तर, इतिहासले हालसम्म मुख्यसचिवकालागि महिला दावेदार नै पाएको थिएन,' ती विज्ञले भने, 'अहिले वृन्दाको नियुक्ति भएन भने लामो समयसम्म महिलाले मुख्यसचिव पद नपाउने अवस्था छ। यो वृन्दाका लागि सकारात्मक पक्ष हो।'
पूर्व मुख्यसचिव विमल कोइरालाका अनुसार, मुख्यसचिवको पदमा बसेर जो कोहीले काम गर्न सक्छन्। यसमा लैंगिक वा जातीय विभेद हुनुहु"दैन। 'मुख्य सचिव हुनेको वरिष्ठताक्रम र कार्यकुशलता हेर्ने हो,' उनले भने, 'कोठामा बसेर समन्वयकारी भूमिकामा काम गर्न योग्यता भएको जो कोहीले पनि यो दायित्व लिन सक्छ।'
मुख्यसचिवका दाबेदार ज्ञानचन्द्र आचार्य भने राष्ट्रसंघको उपमहासचिव हुने कसरतमा लागेकाले निष्त्रि्कय छन्। मुख्यसचिवको म्याराथन कसले जित्छ? यो हेर्न मन्त्रिपरिषदको आगामी बैठकसम्म कुर्नुपर्नेछ। साउन २० मा पदावधि सकिने मुख्यसचिव माधवप्रसाद घिमिरे बुधबारदेखि बिदामा बस्दैछन्।