जिब्रोको स्वाद र स्वास्थ्य - डा. अरुणा उप्रेती



झन्डै दुई वर्षअघि गुणराज (नाम परिवर्तन) लाई भेट्दा मैले उनलाई भनें, 'तपाईभन्दा अघि त तपाईको भुँडी हिंड्दो रहेछ । कम्मर त कमरा भएछ । यस्तो त स्वास्थ्यलाई खतरा हुन्छ है ।' उनले भने, 'अँ मलाई पनि थाहा छ । तौल घटाउन कोसिस गर्दैछु ।'  उनीसंग पुनः जम्काभेट भयो । उनको ठूलो भुँडी त स्याप्पै घटेछ, कम्मर त कमरा (कोठा) बाट पुनः कम्मर नै भएछ । उनलाई हेर्दा त उनको उमेर नै ५-७ वर्ष कम भए जस्तो लाग्यो र भनें, 'तपाईले त के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि, कतै गएर शल्यक्रिया गरेर आउनुभएको त होइन पेटको ?' ठट्टा गरेर भनेको यो प्रश्नलाई गुणराजले गम्भीर भएर जवाफ दिए, 'होइन-होइन, मैले मेरो भुँडी वरिपरिको १५ किलो त योग, हिंडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदोरहेछ, तर एकचोटी बोसो लागेपछि घटाउन गाह्रो हुनेरहेछ ।
त्यसैगरी पारू श्रेष्ठ (३३ वर्षीया) ले १० महिनामा ७५ किलोबाट ६० किलोमा  झारेकी थिइन् । उनी विवाहभन्दा अघि ५६ किलो थिइन् । अग्ली, पातली पारू सुन्दर देखिन्थिन्, तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा भएपछि त झन् चाकु, घिउ, मासु, अन्डा आदिले गर्दा उनको जीउ त फैलिंदै गयो । उनका बुबा ३० वर्ष नपुग्दै मधुमेहले बित्नुभएको थियो । आमा र बहिनी दुवै मधुमेह लागी औषधी गरिरहेका छन् । मैले पारूलाई भनें, 'पारूजी, तपाई त होशियार हुनुपर्छ है । तपाईको परिवारमा निकै समस्या छन् । तपाई यसरी नै मोटाउनुभयो भने तपाईलाई पनि ती समस्या आउन सक्छन् । तपाईंको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ नै नराम्रो भएपछि त जति काम गर्नसक्ने हो, त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनहुन्न ।'
पारूले उनको शरीरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटी भनेपछि एकदिन उनले मलाई खुसी भएर भनिन्, 'मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले ४०,००० रूपैयाँमा ग्यारेन्टीसाथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरूले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधी पनि दिन्छन् रे ।' पारूको खुसीलाई काट्दै मैले भनें, 'पारूजी, त्यसरी तौल कम गर्ने कुनै व्यक्ति वा संस्थाले तपाईलाई भन्छ भने त्यो त सोह्रैआना ठग हो । त्यस्तो कुनै औषधी छैन, जसले जादुको छडीले झैं तपाईको तौल कम गराओस् । फेरि त्यस्ता औषधी के हुन्, कसरी काम गर्छ, थाहा नै नपाइकन कसरी प्रयोग गर्नुहुन्छ । त्यसरी औषधी प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र प्रमुख कुरा पानी खाने र व्यायाम गर्नुस् ।'
त्यसपछि उनले कोदो र फापर किनिन् र त्यसलाई आफ्नो दैनिक भोजनमा समावेश गरिन् । हरियो र टुसा उमारेको तरकारी अफिसमा लैजान थालिन् । बिहान व्यायाम गर्न थालिन् । दुई महिनापछि उनको तौल ५ किलो कम भयो । उनको अनुहारको छालामा चमक आयो । अर्को ६ महिनामा उनको तौल १० किलो कम भयो र पारू त झन्डै पहिलेको जस्तै भइन् । सबैबाट धेरै प्रशंसा पाएपछि पारूले मलाई भनिन्, 'तपाईले मेरो ४०,००० रूपैयाँ त बचाउनुभयो नै, मलाई जीवनभरको ज्ञान पनि दिनुभयो ।'
पारू र गुणराजको मोटोपनबाट छुटकारा पाउने घटना सायद कमै मानिसको कथा होला । प्रायः मानिसलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ । किनभने खाना खाएर, मज्जासंग सुतेर, तेल र मसला हालेको मासु खाएर तौल जति मज्जासंग बढ्छ, त्यति नै मज्जसंग घटाउन गाह्रो हुन्छ । मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाइ पनि बिर्सिन्छ । कति मानिस यस्तै खाना र वियरबाट हुने मोटोपनको कारणले हुने उच्च रक्तचापको कारणले गर्दा 'पक्षाघात' भएपछि पनि रक्सी, मासु र तेल हालेको खान छोड्दैनन् र वास्तवमा विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । लोग्नेमानिस मात्र होइन, महिलाहरू पनि मोटोपनको समस्याले ग्रस्त हुन्छन् र पनि जिब्रोलाई तह लगाउन सक्दैनन् ।
जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागको छैन भने हामी जस्ताले जति भाषण दिए पनि जति लेखे पनि फाइदा छैन । मध्यमवर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसमा पनि विभिन्न किसिमका चाउचाउ, चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनले गर्दा जीवनको धेरै क्षेत्रमा प्रभाव पर्छ । स्वास्थ्य त चौपट नै हुन्छ, तर पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला ?