दुई ठेकेदार समूहबीच कुटपिट


टहरी, साउन २ (नागरिक)- जिविस सुनसरीबाट सेउती खोलाबाट ढुंगागिट्टी-बालुवा निकासी र कर संकलन गर्ने ठेक्का पाएपछि तरहरामा खटिएका ठेकेदारका कर्मचारीमाथि सोमबार बिहान आक्रमण भएको छ। आफ्ना कर्मचारीमाथि आक्रमण भएपछि पुगेका ठेकेदारहरू शिव पोखरेल, विकास केसी र सुदीप तामाङलाई पनि दिउसो स्थानीय युवाहरूले कुटपिट गरेका छन्।



पुराना ठेकेदार सिजन गुरुङ समूहका युवाले तरहरामा कर संकलन गर्न खटिएका मिलन राईमाथि कुटपिट गरेका थिए। त्यसपछि नयाँ ठेकेदार समूह उजुरी दिन तरहरा प्रहरी चौकी पुगेको थियो। चौकीबाट निस्किएपछि उनीहरूमाथि आक्रमण भएको हो। दुवै समूहमा कांग्रेसमा आबद्ध युवाहरू छन्।
लगत्तै घटनास्थल पुगेको प्रहरीले लाठीचार्ज गरेर उनीहरूलाई तितरबितर पारेको थियो। सम्भावित झडप रोक्न दिउँसो दुई बजेदेखि साँझसम्मै बाक्लो सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ।


सोमबारदेखि लागू हुनेगरी ठेक्का पाएकाले अधिकांश कर संकलन गर्ने स्थानमा नयाँ कर्मचारी नियुक्त गरेको ठेकेदार पोखरेलले बताए। 'गुरुङले कर संकलन गर्ने व्यक्ति आफूअनुकूल नभएको भनेका थिए,' उनले भने, 'कर्मचारी कुटिएकोबारे प्रहरी कार्यालयमा जानकारी दिएर निस्किन खोज्दा उल्टै हामीमाथि कुटपिट भो।'


गुरुङले भने कर्मचारीलाई कुटपिट नगरी सम्झाएरमात्र पठाएको बताएका छन्। 'अन्य ठेकेदारलाई उक्साएर झगडा गर्ने नियतले तरहरामा आएकाले उनीहरूमाथि कुटपिट भएको हो,' उनले भने।


चार जनाको समूहले सेउती खोलाबाट ढुंगागिट्टी र मिक्सगिट्टी निकाल्नसँगै कर संकलन गर्न ८६ लाख रुपैयाँमा ठेक्का पाएको छ। यसअघि यो ठेक्का गुरुङलगायतको समूहले लिएको थियो।