चितवनका अस्पताल आज पनि ठप्प
![]() |
भरतपुर, श्रावण १ - स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणको बिरोधमा आज(सोमबार) पनि चितवनका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्पै छन् । अस्पतालमा हुल हुज्जत गर्दै स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने क्रम नरोकिएपछि सम्पुर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित बनेका छन् ।
बिरोधमा चिकित्सक संघले हिजो पनि जिल्लाका दुइ दर्जन साना ठूला अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएको थियो । सुरक्षा ग्यारेण्टी नहुंदा सम्म काममा नर्फकने चेतावनी दिएका छन् ।
चिकित्सक संघका जिल्ला सचिव कृष्ण पौडेलका अनुसार आक्रमण दोहोरिने खतरा नटेरेकाले आन्दोलन यथावत रहेको बताए । उनले बिरोधमा जिल्लाका ३ सय चिकित्सकले काम छाडेको जनाए ।
शनिवार राति भरतपुर सरकारी अस्पतालमा निको हुन कठिन क्षयरोग (एमडिआर टिभी) का बिरामी मकवानपुरको मनहरी ३ का ५५ वर्षीय रामचन्द्र साभारीको आइसियूमा उपचार क्रममा मृत्यु भएपछि जम्मा भएको भीडले अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) महेन्द्रराज न्यौपाने माथि सांघातिक आक्रमण गरेको थियो । त्यस अघि नर्स माथि कुटपिट र अस्पताल तोडफोड गरिएको थियो ।
हिजो राति जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकले दुख व्यक्त गर्दै घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको र सुरक्षाका लागि चिन्तित बनेको जनाउँदै स्वास्थ्य जस्तो मानवीय सेवा बन्द नगर्न अनुरोध गर्दै बिज्ञप्ती जारी गरेको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले बताए । अस्पताल बन्द हुँदा चितवन लगायत आसपासका १२ जिल्लाका बिरामी प्रभावित बनेका छन ।
![]() |