एमाओवादीको राजनीतिक दिल्लगी


सुबर्णबाबु सापकोटा
जे. कृष्णमुर्तीले भनेका थिए- ‘आफुले ठिक गर्दै छु कि बेठिक गर्दै छु भन्ने ज्ञान हुन निक्कै गाह्रो हुन्छ । जुन दिन ज्ञान हुन्छ, सम्झ- तिमीले सबै प्रश्नको उत्तर पायौ र मुक्त भयौ ।’
मलाई यही प्रसँगमा (ए) नेकपा माओवादीका नेताहरुको याद आउँछ। तिनकै भाषामा भन्नु पर्दा “रुदा रुँदै हास्न सक्ने र हाँस्दा हाँस्दै रुन सक्ने” माओवादी नेताहरु आजकल रामलीलाको जोकर र तिनका कुराहरु गाइजात्रे प्रहसन जस्तो देखिन लागेका छन । कहिले क्रान्तिका कुरा, कहिले शान्तिका कुरा कहिले मार्क्सका कुरा, कहिले बुद्धका कुरा, कहिले जनवादका कुरा कहिले प्रजातन्त्रका कुरा, कहिले चाइनाका कुरा कहिले भारतका कुरा । यि सब कुराहरुको समग्र रुप भनेको यिनले रामलीलाको सुरुदेखि नै झुट बोल्दै आएका थिए। आज यो बिन्दुमा एउटा झुट लुकाउन हजारौँ झुठ बोल्नु पर्ने स्थितिमा आईपुगे र के बोल्दै छन, कता जाँदै छन, ठीक गर्दै छन या बेठिक गर्दै छन ? महान तथा गौरबशाली पार्टी र स्वघोसित तीनका सर्वहाँरा नेताहरुलाई पत्तो हुन छाडिसक्यो र बर्बराइ रहेका छन् ।
 घटना १.
२०५२ फाल्गुन १ मा जनयुद्ध सुरु गर्नु पूर्व स्वयमले देउवा सरकारलाई बुझाएको ४० बुँदे माग प्रचारात्मक मात्र थियो, पुरा गर्न सकिने माग थिएनन र होइनन भन्नुले प्रचारात्मक मागको जगमा टेकेर गरिएको जनयुद्ध पनि प्रचारात्मक नै थियो , १६ हजार बढी नेपालीको मृत्यु पनि प्रचारत्मक नै थियो भन्ने अर्थ लाग्छ । “र” का नाजायज नेपाली सन्तान “अम्रेश कुमार सिंह” भन्दा पनि एक कदम अगाडि उभिएर प्रभु चरणमा लम्पसार २१ औँ सताब्दीको नौलो जनवादी क्रान्तिको दर्शनले सन्चालित जनयुद्धको वास्तबिक रुप त साँचो लिएर बसेका एस. डि मुनीले जगतसामु प्रस्ट पारिसके बाँकी तपसिलका कुरा हुन । जनयुद्धको अन्डा कहाँ कसले कुन नियतले कोरलेका रहेछन र ति कोरलिएका चल्लाहरु नेपाल बाहिर कसका सुरक्षा छाताभित्र निर्बाध हुर्किएका रहेछन भन्ने कुरा अब गोप्य रहेन ।
घटना २.
बर्तमान परिवेशमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कारणले गर्दा जनवादी क्रान्ति सम्भब छैन भन्ने माओवादी नेताहरुको स्विकारोक्तीले एउटा गम्भिर प्रश्नको जन्म गराएको छ, नेपाली समाजमा जनयुद्धको सान्दभिर्कताकोबारे, जनयुद्ध जायज यु्द्ध थियो वा नाजायज युद्ध थियो भन्ने बारे, जनयुद्ध नेपाली समाजको आवश्यकता थियो या फेरी कोही कसैको क्रान्तिकारी भईटोपलिने क्रान्तिकारी रोमान्टिसिजमको नतिजा थियो भन्नेबारे ।
अहिलेको परिवेशमा क्रान्ति असम्भब छ भने नेपालमा संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र आफ्नो परिक्षणकालमा बामे सर्दै गर्दा अनि समाजवादी सोभियत सँघ बिघटन भएको पारिबेशमा के कति कारणले क्रान्ति सम्भब देखियो र जनयुद्ध सुरु गरियो ? हुन त गल्ती गरेर नै मनिसले सिक्ने हो । भन्लान- २०५२ सालमा जनयुद्ध सुरु गरेका कारणले त अहिले आएर क्रान्ति असम्भब रहेछ भन्ने ज्ञान प्राप्त भयो, नत्र कसरी थाहा हुन्थ्यो र हामीलाई ? कुरा साँचो सत्य नै हो। आफुले के गरे र के गर्दै छु भन्ने कुराको ज्ञान प्राप्त हुनु भनेको पनि मोक्ष हो, मुक्ति हो ढिलो नै भए ।
घटना ३.
अहिले हामीहरु पूँजीको बिकासको चरणमा छौ बिदेशी लगानी भित्राउन लगानी मैत्री वातावरण निर्माण गर्दै छौँ, समाजवादमा पुग्न अझै १०० औँ बर्ष लाग्छ भन्ने क्रान्तिकारीहरु माओवादीले पक्कै बिर्सिएका छैनन होला नेपालमा बिदेशी लगानी मैत्री वातावरण बिग्रन सुरु गरेको २०५२ साल पछि हो । जनयुद्ध सुरु भएपछि नै बिदेशी मात्र होइन स्वदेशी पूँजी पनि पलायन हुन सुरु गरेको हो अन्यथा आजसम्म पूँजीको बिकासमा हामीहरु १६ बर्षले अगाडी पर्ने थियौँ, अर्थात १०० औँ बर्षपछि आउने समाजवादको १६ बर्ष नजिक हुन्थ्यौं।
हिजो आफैले साम्राज्यवादी र बिस्तारबादीको लगानीले देशलाई कङ्गाल बनाउँछ भन्ने बरिष्ठ माओवादी नेता स्वयम प्रधानमन्त्री हुँदा आँफैले भन्ने गरेको साम्राज्यबादी र बिस्तारबादीका लगानी नेपालको बिकासका लागि अपरिहार्य छ भनि तिनको लगानी सुरक्षित गराउने सम्झौतामा हस्ताक्षर गरेका छन् । अरु कुनै दलले यो सम्झौता गरेको भए अर्को राष्ट्रबादी तान्डव नृत्य देख्न पाइन्थ्यो, धन्न टर्यो ।
बिदेशी लगानी मुलुकलाई आवश्यक छ भन्ने थाहा भएपछि आफु सत्ता बाहिर हुँदा साम्राज्यबादी र बिस्तारबादी भनेर बम पड्काउन आदेश दिनेहरुले आफु सत्तामा पुग्नासाथ रातारात कसरी त्यही पूँजीलाई राष्ट्र बिकासमा अपरिहार्य छ भन्न सके ? यो समाजवादी चरित्र बोकेको पूँजीको बिकास हुँदै होईन, यो त सत्तामा टिकीराख्न अवसरबादी खोल ओढेका पूँजीको बिकास हो ।
 घटना ४.
जनवाद भनेको जनताका लागि हो । अधिकांश जनताका छोराछोरी अहिले सरकारी र निजी स्कुलमा पढ्छन् । त्यसकारण अहिलेका लागि सरकारी र निजी स्कुल नै जनवादी स्कुल हुन् । कुनै निजी बिद्यालय संचालकको एजेन्टको जस्तो सुनिने यो बोली बर्तमान क्रान्तिकारी शिक्षामन्त्री दिनानाथ शर्माले बि.बि.सि नेपाली सेवाको साझा सवाल कार्यक्रममा राखेको बिचार हो।
यो भन्दा घिनलाग्दो राजनैतीक रुपले स्वखलित, नैतिक रुपले भ्रष्ट र बैचारिक रुपले पतित खुल्ला प्रहसन अरु हुनै सक्दैन । बुजुर्वा शिक्षा लिनु हुँदैन, बुजुर्वा शिक्षाको प्रमाणपत्र च्यातेर बन्दुक बोकौँ भनेर विद्यार्थीलाई सिकाउनेहरुले पढाइ छोडेर असम्भव भनिएको भनिएको क्रान्तिका लागि जनयुद्धमा मारिएर पार्टीको मात्र शहिद भएकाको आत्मालाई के जबाफ दिन्छन होला ?
यो बिन्दुसम्म आईपुग्दा जनवादि शिक्षा लागु गर्न पर्छ, निजी बिद्यालय बन्द गर्नु पर्छ भनेर घोक्रो फुट्ने गरि चिच्याउन नछोड्ने माओवादी विद्यार्थी संगठनको बिछ्र्याउनामै तिनकै बर्गका शिक्षा मन्त्रीले मुतिदिएका छन चिसो हुने गरि।
माथिका प्रतिनिधि घटनाहरु रुपमा जे देखिए पनि सारमा अहिले आएर स्विकार गरेको जनवादी क्रान्ति सम्भव छैन भन्ने मुख कृयाको प्रतिकृया मात्र हुन र यस्ता प्रतिकृयाहरु भोलीका दिनमा अझै घनिभुत रुपले सुन्न र देख्न पाइनेछन ।
प्रस्टै छ- माओवादी नेताहरु आँफैमा अस्पस्ट छन र यिनीहरुसित आफु-आफु लड्ने तागत त छ तर देशलाई स्विजरल्यान्ड होइन भुटानको जती बिकास गर्ने सामर्थ्य र योजनाको खेस्रा पनि रहेनछ । प्रश्न जतिसुकै जटिल होस् माओवादीका नेताहरुले दिने सजिलो उत्तर हो- यो सम्झौताको दस्ताबेज हो सम्झौतामा आउँदा केही गर्न सकिएन । सम्झौताको दस्तावेजमा टेकेर केही गर्न सकिदैन भन्ने थाहा थियो भने सम्झौता गरेको किन ?
वास्तबमा कुरा के हो भने जनयुद्दको प्रस्थान बिन्दु नै ठीक थियो या गलत थियो माओवादीका नेताहरुले आज १७ बर्ष पछि आएर ठम्याउन सकेका छैनन् । माओवादी भनेको कहिले दाँया डुंगा त कहिले बाँया डुंगामा खुट्टा चालेर समुन्द्र पार गर्ने पार्टी हो भनेको सुन्न पाइन्थ्यो। सत्य रहेछ अहिले हेर्दा त टाङ च्यातिएर २ फ्याक भएको छ । हिजो अरु पार्टीलाई तेस्रो लिङगी भन्ने माओवादीहरु आज आँफै नपुन्सक भएका छन् ।
नेता प्रदिप गिरीको शब्दमा भन्नु पर्दा माओवादीका नेताहरुले साच्चिकै मुलुकलाई राप र ताप दिए तर प्रकाश दिन सकेनन् । विद्यार्थी नेता लेखनाथ न्यौपानेले भने- राजनीति जब नेताहरुको कमाउने भाडा बन्न पुग्छ र नेताका आसेपासेले औंलाले होइन अन्जुलीले पैसा निकाल्न थाल्छन तब जनताले परिवर्तनको केही आसा नगरे हुन्छ ।’ माओवादी राजनितीको त्यो प्रकाश बिनाको राप र ताप पनि लगभग सेलाई सकेको छ र चिसो खरानी घसेर भेस बादल्नु अघि माओवादी नेताहरु पनि राजनीतिलाई कमाउने पेसा बनाउँदैछन जनताले परिवर्तनको आशा गर्नु बेकार छ ।
 अहिले देखिएको समाजिक परिवर्तनलाई असम्भव भनेर घोषणा गरिएको जनवादी क्रान्तिको उपलब्धि मान्ने हो भने, आज १६हजार बढी नेपालीको मृत्युपछि, नेपाली समाजको कुमारी मानबिय सम्बेदनाको अन्त्यपछि अनि तमाम क्षतिपछि जनवादी क्रान्ति सम्भव छैन, समाजवादमा पुग्न अझै १०० औँ बर्ष लाग्छ, जनवादी शिक्षालय भनेको निजी बिद्यालय पनि हुन भन्ने माओवादी नेताहरु जनयुद्ध सुरु गर्न छोडेर आफ्ना सबै कार्यकर्ताहरु लिएर गाउँका स्कुलहरुमा अध्यापन गराएको मात्र भए वा कुनै सर्बहारा गैर सरकारी सँस्था चलाएको भए पनि यो भन्दा ठुलो सामाजिक परिवर्तन हुने थियो । शन्तिपूर्ण तरिकाले, क्षति बिना र सबैको सहअस्तित्व सहित ।
जुन बिन्दुमा आफ्नो अस्पष्टताको ज्ञान हुन्छ ठिक त्यही बिन्दु सत्य प्रकट हुन्छ भनेर जे कृष्ण मुर्तीले भने जस्तै माओवादीलाई आफ्नो अस्पष्टताको ज्ञान छिट्टै होस् र यस राजनीतिक दिललगीबाट माओवादीका नेता र माओवादी पार्टीलाई मुक्ति मिलोस । हाम्रो समाजमा शुभकर्मको लागि ढिलो भएको कहिले मानिदैन् । अन्यथा अन्डा कुहिनु र कम्युनिष्ट बिग्रिनु एउटै हो।
हालः फ्राइबर्ग बिश्वबिद्यालय, जर्मनी