पहिरोले घर लगेपछि ६ वर्षदेखि सडकमा
![]() |
.jpg)
गोरखा, श्रावण १ - छोप्राक ३ का भरतबहादुर ठकुरीका सात जनाको परिवारले पेटभरि खाएको र राम्रो ठाउँमा सुत्न नपएको छ वर्ष बित्यो । शरीर ढाक्ने राम्रो कपडा यो परिवारलाई निकै परको कुरा हो । उनीहरूसँग ओढ्ने, ओच्छ्याउने लुगासमेत छैन । नाबालक पाँच छोराछोरीसँग ठकुरी दम्पती सडकको पेटी वा प्रतीक्षालयमा रात बिताउँछन् । 'भएको घरजग्गा छ वर्षअघि पहिरोले पुरेपछि गाउँ छाडें,' भरतले भने, 'सडकमै सुत्छु ।
बालबच्चाको फोहोर र गरिबीको पीडा नभोग्नेले सार्वजनिक ठाउँमा पनि बस्न दिंदैनन् । शनिबार पनि गोरखा सदरमुकाममा उनलाई त्यस्तै भयो । रंगशालाको मञ्चमा तीन दिनदेखि बस्दै थिए । 'खेलकुद विकास समितिका मान्छे आएर बस्न पाउँदैनस् भनी उठाइदिए । बासस्थानको खोजीमा भौँतारिएका भरतले शनिबार भने, 'अन्य सार्वजनिक प्रतीक्षालयमा बस्न खोजेँ, फोहोर हुन्छ भन्दै बस्न दिएनन् ।' बस्न प्रयास गरिएको चौथो ठाउँ गोरखा नगरपालिकाको टक्सारस्थित एक प्रतीक्षालयमा उनीहरू बसिरहेका छन् । काठमाडांैको सडक र अस्पताल आसपास बस्ने उनीहरू अपांग छोराको भत्ता लिन चार दिनअघि गोरखा आएका हुन् ।
पुख्र्यौली जग्गा नभएका ठकुरीलाई स्थानीयले दुई रोपनि जग्गामा वषौर्ंअघि घर बनाएर छोप्राकमा राखिदिएका थिए । २०६३ साउन ५ गते त्यही जग्गा पनि खोलाले पुरिदियो । पहिरोमा श्रीमती नन्दकुमारी र छोरा अच्युतको ढाड भाँचियो । 'उपचार गर्न भरतपुरको अस्पताल गएँ,' उनले भने, 'स्वास्थ्यमा सुधार नआएपछि उतै बसें । घरजग्गामा खोलो बगेपछि फर्किन मन लागेन ।' उनीहरूले तीन वर्षसम्म भरतपुरमा मागेर खाए र बिनाशुल्कको उपचार सेवा लिएर अस्पताल आसपासका सडक प्रतीक्षालयमा दिन बिताए ।
घाइते श्रीमती र छोराको सामान्य उपचार भयो । सात वर्षका छोराको ढाड चल्दैन । सुताउन उठाउन सहयोगी चाहिन्छ । छोरा सुतेको सुत्यै हुन्छ । 'थप उपचार कान्ति बाल अस्पतालमा हुन्छ भन्ने सुनेर काठमाडांै पुग्यौं', श्रीमती नन्दकुमारीले भनिन्, 'त्यहाँ पनि माग्ने काम र अस्पतालले दिने बिनाशुल्कको उपचार गराएर बस्यौँ ।' उनीहरूका आफन्त कोही छैनन् । भरत परिवारका एक्ला हुन् । नन्दकुमारीका माइती पक्ष हुनेखाने नभएकाले केही सहयोग गरेनन् ।
'यस्तो अवस्थामा सडकमा नबसेर कहाँ जाने ?,' आँखाभरि आँसु पार्दै नन्दकुमारीले भनिन्, 'अब जीवनभर पेटभरि खाने र राम्रो ठाउँमा सुत्ने कुरा कल्पनाभन्दा बाहिरका कुरा हुन् ।' पहिरोले घरबारविहीन बनाएपछि सडकमा बस्दा चेतना अभावमा उनीहरूका थप दुई छोरा जन्मिए । उनीहरूका ११ वर्षदेखि छ महिनासम्मका दुई छोरी र तीन छोरा छन् । पाँच महिनाको काखे छोरा छ । लालनपालन मागेर गरिरहेका छन् ।
'सुरुमा गाउँले मिलेर सहयोग गरेका थियौँ,' मण्डली उच्च माविका प्राचार्य रुद्र पोखरेलले भने, 'धनसम्पत्ति नभएपछि पीडाले पछि उनीहरू गाउँ आउन छाडे ।' उनीहरूलाई सरकारी सहयोग भनेको ७ वर्षीय छोरालाई दिने अपांग भत्ता मात्र हो । 'यस वर्षको भत्ता पाँच हजार दिएँ,' गाविस सचिव जनार्दन पोखरेलले भने, 'पहिरोले उनीहरूको परिवार पीडित छ ।'
![]() |