झाडापखालासँगै हैजा


केही महिनायता जन्डिस, झाडापखाला जस्ता पानीजन्य रोगको मार झेल्दै गरेका नेपालीले अब 'हैजा' को थप संक्रमणबाट जोगिनुपर्ने छ । डोटीमा हैजा र झाडापखालाले सात जनाको मृत्यु भइसकेको छ । झाडापखालाको उपचार गराउन राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकाहरूमध्ये तीन जनामा हैजाको जीवाणु देखिएपछि थप सतर्कता आवश्यक भएको हो । उनीहरूमा हैजाको 'ओ १ ओगावा' प्रजाति देखिएको टेकु अस्पतालको प्रयोगशालाकी सूक्ष्मजीव विशेषज्ञ ज्योति भट्टराई बताउँछिन् ।
'हैजाको संक्रमण देखिएका तीनै जनाले धाराबाट वितरित खाने पानी उपयोग गरिरहेको बताएका थिए,' उक्त अस्पतालका डा. राजेश भन्छन्, 'यो वर्ष हालसम्म झाडापखालाका रोगी आउँदै गरेकोमा अव हैजा समेत थपिएको छ ।'
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमान अनुसार विश्वमा वर्षेनि ३० लाखदेखि ५० लाख व्यक्तिमा हैजाको संक्रमण पाउने गरिन्छ । १ लाखदेखि १ लाख २० हजार व्यक्तिको मृत्यु हैजाको कारणले हुन्छ ।
अनियन्त्रित रूपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडा पखाला -डाइरिया) भनिन्छ । यस्ता रोगीको पखालामा 'ब्याक्टेरियम भिबि्रयो कोलेरी' जीवाणु देखियो अर्थात् पखाला उक्त जीवाणुको संक्रमणले गर्दा भएको हो भने त्यो हैजा हो ।
हैजा आन्द्राको संक्रमण हो । यो भिबि्रयो कोलेरी नामक जीवाणुले गर्दा हुन्छ, जसले हाम्रो आन्द्राको आन्तरिक पत्रमा आक्रमण गर्छ । अनि हैजाको लक्षण देखिन्छ । यसले कोसिकाबाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलाजी जस्तै दिसा हुन थाल्छ ।
हैजामा एक्कासि हुने पखालाले केही घन्टादेखि केही दिनसम्म निको नहुन सक्छ । पखाला लाग्दा प्रायः पेट दुख्ने, ज्वरो आउने, रिंगटा र वान्ता लाग्ने पनि हुन सक्छ । यदि पखालाको असर बढे तुरुन्त चिकित्सककहाँ पुग्नु अत्यावश्यक हुन्छ । नत्र शरीरमा पानीको कमी भई ज्यान जोखिममा पर्न सक्छ ।
हैजाको संक्रमण भएको २४ देखि ७२ घन्टाभित्र लक्षण देखिन्छ । चौलानी जस्तै दिसा दोहोरिने, तेहरिने बित्तिकै अस्पताल पुर्‍याउनुपर्ने इपिडिमियोलजिस्ट डा. मानसकुमार बनर्जी सुझाउँछन् ।
लक्षण देखिएको ३ देखि ६ घन्टामा हैजाले घातक रूप लिन्छ । अमेरिकन कलेज अफ ग्यास्ट्रोइन्टरोलजीका अनुसार, शरीरले गुमाएको पानी थप्दै जानु यसको मुख्य उपचार हो ।
वान्ता नभएका रोगीहरूलाई मुखबाटै पुनर्जलीकरण (ओरल रिहाइड्रेसन) गरेर उपचार गर्न सकिन्छ । अत्यन्त बिगि्रएको स्थितिमा भने नसाबाट पानी चढाएर शरीरमा पानी र लवणको मात्रालाई स्थिर गर्न सकिन्छ । यो रोगमा मुख्य रूपले शरीरमा पानीको कमी हुन दिनु हुन्न ।
खाने पानीमा स्वस्थ हुनुपर्नेमा सचेत नभएसम्म हैजा नियन्त्रण नहुने उल्लेख गर्दै डा. साह भन्छन्, 'खाने पानी शुद्घ पाउन नसक्ने अवस्था भए कम्तीमा घरघरमा पानीलाई क्लोरिनेसन गरेर खाने प्रयास गर्नुपर्छ । यसले धेरै हदसम्म हैजा, झाडापखालाको समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।' बर्खाको बेला खुला कुवा र हयान्ड पम्पको पानी समेत उमालेर खानुपर्ने उनी बताउँछन् । पानी उमाल्न नसक्नेहरूका लागि क्लोरिनेसन सस्तो र राम्रो विकल्प हो ।
राजधानीमा वितरित खाने पानी उपभोक्ताको धारासम्म आइपुग्दा खानका लागि पूर्ण सुरक्षित रहेको ग्यारेन्टी गर्न सक्ने अवस्थामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) छैन । वितरण प्रणालीको सञ्चालन पुरानो रहेको र उपत्यकामा खाने पानी एवं ढलको पाइप लाइन जमिनमुनि सँगसँगै गएको र पाइप लाइन फुट्नाले ढल र खाने पानी मिसिने गरेको दाबी गर्दै केयूकेएलका प्रवक्ता सुरेश आचार्य भन्छन्, 'यो झाडापखालाको मौसममा खानेपानी उमालेर मात्रै खानु राम्रो हो ।'
हैजाबाट बच्ने सबैभन्दा राम्रो उपाय बाहय, प्रदूषित खाद्यपदार्थ र पानीबाट टाढा रहनु हो । डा. बनर्जी भन्छन्, 'खाना खानुअघि र शौचालय गएपछि साबुनपानीले नियमित रूपले हात धुन कहिले पनि नबिर्सौं ।' त्यसै राखिएको सफा भाँडोमा समेत ब्याक्टेरियाको हमला हुन सक्छ । त्यसैले भाँडाकुँडा नियमित रूपमा सफा गर्ने गर्नुपर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, झाडापखालाको ८८ प्रतिशत कारक असुरक्षित पानी, अपर्याप्त सरसफाइ र स्वच्छताको कमी हो । सरसफाइमा सुधारले झाडापखाला (डाइरिया) ले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिने डब्लूएचओले जनाएको छ । यसरी नै खाने पानीको गुणस्तरमा सुधारले ६ देखि २५ प्रतिशतसम्म झाडापखालाबाट हुने मृत्युदर कम गर्न सकिन्छ । डब्लूएचओका अनुसार, स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता, हात धुने बानी जस्ता स्वास्थ्य शिक्षाले झाडापखालाको असरलाई ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ ।
हैजा र झाडापखालाबाट जोगिन :
    आफैंले बोक्रा ताछेका फलफूल खाने
             घरमै पकाएको तातो खाना खाने
    तरकारी राम्ररी पकाएर खाने
    सलाद भरसक नखाने
    खाना खानुअघि साबुनपानीले राम्ररी हात धुने
    बिजारका बरफ, आइसक्रिम नखाने
    झिंगा भन्केको, बासी वा चिसो वस्तु नखाने
    कम्तीमा पाँच मिनेट उमालेको पानी खाने
    पानी क्लोरिन वा आयोडिन उपचार गरेर खाने
    दाँत माझ्दा सकभर उमालेको पानी प्रयोग गर्ने