शान्ति र संविधानबारे निर्णय गर्न नेपाली सक्षम : चीन
![]() |
'सहुलियत ऋण' व्यवस्थित गर्न चिनियाँ टोली आउने
पूर्ण बस्नेत, हङकङ, असोज २ - चिनियाँ परराष्ट्र मन्त्री याङ जेइचीले नेपालको शान्ति र संविधानबारे निर्णय गर्न नेपालका राजनीतिक दल सक्षम रहेको दोहोर्याएका छन्।
पूर्ण बस्नेत, हङकङ, असोज २ - चिनियाँ परराष्ट्र मन्त्री याङ जेइचीले नेपालको शान्ति र संविधानबारे निर्णय गर्न नेपालका राजनीतिक दल सक्षम रहेको दोहोर्याएका छन्।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग मंगलबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा परराष्ट्र मन्त्री जेइचीले शान्ति प्रक्रियामा भएको प्रगतिको प्रशंसा गर्दै संघीयताबारे चर्चा नगरी सहमतिमा छिट्टै नयाँ संविधान बन्ने विश्वास व्यक्त गरे।
'द्विपक्षीय भेटमा नेपालमा कस्तो संघीयता भन्ने चर्चा भएन,' चिनियाँ परराष्ट्र मन्त्री याङ जेइचीसँगको भेटपछि उनलाई उद्धृत गर्दै परराष्ट्र मन्त्री श्रेष्ठले भने, 'नेपालको शान्ति र संविधानबारे निर्णय गर्न नेपालका राजनीतिक दल सक्षम छन्।'
चीनमा पहिलोपटक आयोजित नेपाल कल्चर फेस्टिभल उद्घाटन गर्न नेपाली दूतावासको निमन्त्रणामा बेइजिङ पुगेका परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ परराष्ट्र मन्त्री जेइचीबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो। बेइजिङस्थित राजदूत महेश मास्केका अनुसार चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणपछि नेपाल-चीन परराष्ट्रमन्त्री तहमा भएको यो पहिलो द्विपक्षीय वार्ता हो।
एकीकृत माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठले बुधबार चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य झोउ योङकाङसँग भेट गर्ने कार्यक्रम छ। नौ सदस्यीय स्थायी समितिका शक्तिशाली नेता झोउ चीनको आन्तरिक सुरक्षा मामिला प्रमुख हुन्। चीनमा राष्ट्रपतिका दाबेदार उपराष्ट्रपति सि जिन्पिङ वा प्रधानमन्त्री वेन जियाबाओलाई भेट्ने श्रेष्ठको प्रयास चीन-जापान तनावका कारण झोउमा सीमित भएको बुझिएको छ।
मंगलबारको भेटवार्तामा परराष्ट्रमन्त्री श्रेष्ठसहित राजदूत महेश मास्के, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिका लुइँटेललगायत दूतावासका अधिकारी संलग्न थिए भने चिनियाँ परराष्ट्र मन्त्री जेइचीको साथमा निर्देशक लुओ झाओहुईलगायत सहभागी थिए। चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनको समीक्षासहित भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क र संयुक्त राष्ट्रसंघको संरचनागत सुधारबारे समेत छलफल भएको छ।
मन्त्री श्रेष्ठका अनुसार दुई पक्षबीच पुनः छलफल गरी पोखरा विमानस्थल निर्माण प्रक्रियाअगाडि बढाउन चीन सहमत भएको छ। विमानस्थल निर्माण प्रक्रियामा देखिएको समस्यासँगै चीनले दिने सहुलियत ऋण व्यवस्थित गर्ने समझदारी भएको बताउँदै श्रेष्ठले भने, 'सहुलियत ऋण नयाँ प्रणालीमा व्यवस्थित गर्न सरकार र एक्जिम बैंकको संयुक्त अध्ययन टोली छिट्टै नेपाल आउने सहमति भएको छ।'
नेपाल-चीनबीच बिप्पा सम्झौता गर्न थप छलफल गरिने श्रेष्ठले बताए। 'अर्थतन्त्रमा राष्ट्रिय स्वामित्व कायम रहने गरी विदेशी लगानी भित्र्याउनेबारे हामीले चीनको अनुभव जान्न चाहेका छौं, उनीहरूले सहयोग गर्छौ भनेका छन्', श्रेष्ठले भने, 'त्यससँगै बिप्पा सम्झौताबारे पनि टुंगोमा पुगिन्छ।'
भेटवार्तामा पूर्व-पश्चिम पहाडी सडक मार्ग निर्माणमा सहयोग गर्न नेपालले चीनलाई आग्रह गर्नुसाथै उत्तर- दक्षिण सडक, तिब्बत रेलमार्ग नेपालसम्म विस्तार गर्ने लगायत लगानीका सम्भावित क्षेत्रबारे छलफल भएको राजदूत मास्केले बताए। मन्त्री श्रेष्ठले मंगलबार साँझ दूतावासमा चिनियाँ लगानीकर्ताहरूसँग नेपालमा लगानीको अवसरबारे छलफल गरे।
राजदूत मास्केका अनुसार बेइजिङ दूतावासले आयोजना गरेको नेपाल कल्चर फेस्टिभलको चर्चा गर्दै परराष्ट्रमन्त्री जेइचीले यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै युवा आदानप्रदान कार्यक्रमअन्तर्गत चीनले अर्को वर्ष ५० जना युवालाई नेपाल भ्रमणमा पठाउने भएको छ।
भेटवार्तामा नेपालले एक चीन नीतिअनुसार नेपाली भूभागमा चीनविरोधी गतिविधि हुन नदिने दोहोर्याएको छ भने चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री श्रेष्ठको निमन्त्रणा स्वीकार गरी चिनियाँ परराष्ट्र मन्त्री जेइचीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन्।
भेटवार्तामा नेपालले एक चीन नीतिअनुसार नेपाली भूभागमा चीनविरोधी गतिविधि हुन नदिने दोहोर्याएको छ भने चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री श्रेष्ठको निमन्त्रणा स्वीकार गरी चिनियाँ परराष्ट्र मन्त्री जेइचीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन्।
![]() |