लक्ष्मी अधिकारी (संघर्षले दिएको साहस)
![]() |
उनका लागि संसार अन्धकारजस्तै भएको थियो। न त सहारा थियो न त समाज नै। उनी अर्थात् लक्ष्मी अधिकारी सबैतिरबाट एक्लिसकेकी थिइन्। यो एकाकीपनबाट उनलाई निकै चोट पुग्यो। एचआईभी संक्रमित भएकै कारण उनी सबैको हेंलाको पात्र भइन्।
उनी आफ्नो समाजमा बस्न सकिनन्। सबैले घृणा र तिरस्कार गर्दै समाजबाट एक्ल्याए लक्ष्मी अधिकारीलाई। उनलाई गाउँ समाजले पनि दुर्व्यवहार गर्न थाल्यो। उनी सबैतिरबाट तिरष्कृत भइन्। गाउँमा अपहेलित भएपछि संघर्षका लागि उनी पोखरा झरिन्।
एचआईभीसम्बन्ध संघ-संस्थामा आबद्ध हुँदै उनी चेतनामूलक अभियानमा जुटिन्। एचआईभी सक्रमणका बारेमा सबैलाई जानकारी दिँदै हिँड्न थालिन्। उनकै पहलमा लेखनाथको सालडाँडामा आँकुरा एकल संक्रमित महिला समूह नामक संस्था खोलियो।
लक्ष्मी सोही संस्थाअन्तर्गत ११ जना एकल महिलासँग मिलेर सामूहिक रूपमा खेतीपाती तथा पशुपालन गरेर लामो समयसम्म बसिन्। अहिले उनी आफ्नै घर पुरुन्चौरमा कार्यालय स्थापना गरेर संक्रमितहरूलाई अघि बढ्ने बाटो देखाइरहेकी छिन्। एचआईभी संक्रमित महिला लक्ष्मीले केही गर्न सक्छिन् भनेर एड्स रोग नियन्त्रण संघ कास्कीले उनकै विषयमा आधारित लक्ष्मी नामक चेतना मुलुक वृत्तचित्र निर्माण गरिदिएको छ। एमबी आस्थाद्वारा निर्देशित उक्त वृत्तचित्रलाई यतिबेला देशव्यापी प्रदर्शन गर्न संघ लागिपरेको छ। १ लाख ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको वृत्तचित्रमा लक्ष्मी एचआईभी संक्रमित भएपछिको क्षणका सम्बन्धमा चित्रण गरिएको छ। 'सक्रमित भएर पनि उनले समाजका लागि उदाहरणीय काम गरेर देखाएकी छिन्, संघका अध्यक्ष विश्वमोहन गौचनले भने।
वृत्तचित्र हेरपछि धेरैका आँखा रसाउँछन्। किनभने वृत्तचित्रमा लक्ष्मीको संघर्ष लुकेको छ। उक्त वृत्तचित्र पहिलो राष्ट्रिय डकुमेन्ट्री एवं फिल्म फेस्टिबलमा जुरी एर्वाड प्राप्त गर्न सफल भएको थियो, एचआईभीकै कारण छोरी मर्छिन् भनेर सबैले भन्दा उनकी आमा चन्द्रलक्ष्मी बास्तोला भक्कानिएर रोएको दृश्यले वृत्तचित्र हेर्ने दर्शकलाई भावुक बनाउँछ। वृत्तिचित्र हेरेकी लक्ष्मी पौडेलले भनिन्- 'संक्रमित भएपछि लक्ष्मीले दे खाएको साहस सबैका लागि उदाहरणीय छ।'
३४ वर्षीया लक्ष्मी अधिकारी एभआईभी संक्रमित हुनुमा उनको दोष थिएन। रोजगारीको सिलसिलामा भारत गएका श्रीमान्का कारण उनी संक्रमित भइन्। एचआईभी संक्रमणकै कारण सात वर्षअघि श्रीमान्को मुत्यु भयो। गाउँलेहरू उनका श्रीमान्को मलामी जान समेत अनकनाए। लाससमेत राम्रोसँग जलाएनन्।
६९ वर्षीया बास्तोलाले रुँदै भनिन्- 'पहिले छोरीको बेहाल देखेर सधैं रुन्थें, अहिले छोरीले एचआईभीको क्षेत्रमा गरेको काम र नाम देखेर खुसीले रुन मन लाग्छ।' उनका दुई छोरा बोल्न नसक्ने र अपांग छन्। आमा र सासूसँगै बसेर वृत्तचित्र हेरेकी लक्ष्मीले आँसु थाम्न सकिनन्। उती बेला छोरीले पढनु हुँदैन भन्ने मान्यताकै कारण लक्ष्मीले विद्यालयको मुख समेत देख्न पाइनन्।
लक्ष्मी संक्रमित भएको नौ वर्ष बितिसकेको छ। सुरुमा थाहा पाउँदा उनी धेरै रोइन्। यतिसम्म कि मर्छु भनेर विषसमेत सेवन गर्न खोजिन्। सासू भीमकुमारी अधिकारीले खुलेर बाँच्न सक्नुपर्छ भनेपछि उनमा आँट पलाएर आयो।
६ वर्षअघि पोखरामा भएको एचआईभीसम्बन्धी बृहत् कार्यक्रममा लक्ष्मीले ४ सय जनाका बीच आफू एचआईभी संक्रमित भएको कुरा सावर् जनिक गरेकी थिइन्। 'स्कुल नपढेकी मैले सबैमाझ नमस्ते गर्दा खुट्टा कामेका थिए, अतीत सम्झँदै उनले भनिन्- 'सार्वजनिक भए पनि सुरुमा धेरै समस्या भोगें।'
विवाह भएको जम्मा पाँच वर्ष मात्र उनी श्रीमान्सँग बस्न पाइन्। अहिले भने लक्ष्मी एचआईभीकै क्षेत्रमा काम गरिरहेकी छिन्। सक्रमितलाई अस्पताल पुर्याउने, सार्वजनिक गर्ने तथा जनचेतना जगाउने कार्यमा उनको दिन बितेको छ। सबैको हौसलाकै कारण उनलाई अहिले संक्रमित भएकोमा कुनै हीनताबोध छैन। लक्ष्मीले भनिन्- 'बाँचुन्जेल एचआईभीकै क्षेत्रमा जनचेतना फल्याउन लाग्नेछु।'
![]() |