कोइराला प्रधानमन्त्रीमा 'अनिच्छुक'
![]() |
काठमाडौं, आश्विन ३ - कांग्रेस सभापति सुशील कोइरालाले आफू प्रधानमन्त्रीको प्रतिस्पर्धामा नरहेको संकेत दिएका छन् । उनले पार्टी नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये जो प्रधानमन्त्री भए पनि आफूलाई मान्य हुने बताएका थिए ।
सभापति कोइरालाले शुक्रबार केन्द्रीय सदस्य शशांक कोइरालाको निवासमा पहिले पौडेल र त्यसपछि देउवासँग छलफल गरेका थिए । पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्न दबाब परेपछि सर्वसम्मत निर्णय गर्न तीन नेता अनौपचारिक छलफलमा जुटेका हुन् ।
देउवाले पार्टीबाट निर्णय भएमा आफ्नो नेतृत्वमा सरकार बन्ने घरेलु तथा बाह्य आधारहरू प्रस्तुत गर्दै कोइरालासँग सहयोगका लागि आग्रह गरेका थिए । जवाफमा कोइरालाले 'रामचन्द्रजीलाई मनाए आफूलाई कुनै समस्या नहुने' बताएको स्रोतको दाबी छ ।
'उहाँ -कोइराला) ले आफ्नो इच्छा राख्नु भएन । पौडेललाई मनाए आफ्नो आपत्ति नहुने स्पष्ट पार्नुभएको छ,' कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'संविधानसभा पुनःस्थापना भएको अवस्थामा संसदीय दलको नेता पौडेलजी हुनुहुन्छ । पार्टी संगठनमा उहाँको सक्रियतालाई पनि ख्याल गर्नुहोस् । तपाइर्ंहरूमध्ये जो भए पनि मलाई समस्या छैन । म हुन्छु भनेको पनि छैन ।'
कोइरालाले पौडेललाई पनि देउवालाई मनाए आफ्नो आपत्ति नहुने सन्देश दिएका थिए । केहीअघि पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवारमा कोइरालाको नाम चर्चामा थियो । उनी आफंैले पनि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन अप्रत्यक्ष रूपमा इच्छा जनाएका थिए । कोइरालानिकट सदस्यहरूले 'अबको उम्मेदवार कोइराला' नै हो भनेर अभिव्यक्ति दिएका थिए । पार्टीभित्रको आन्तरिक विवादका कारण कोइराला भने बोल्न सकेका थिएनन् ।
कोइरालानिकट केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले दुई नेतालाई मिल्न आग्रह गर्नुको अर्थ सभापति पछाडि हटेको रूपमा बुझ्न नहुने बताए । 'उम्मेदवार हुने विषयमा पहिला पनि उहाँले केही भन्नुभएको होइन । तर जो भए पनि तीन जनाबाटै हुने हो,' बडुले भने, 'हामीले तीन जना बसेर मिलाउनु पर्छ भनेका छांै । उहाँहरू बसेर जसको नाममा सहमति गर्नु हुन्छ, उसैको पक्षमा केन्द्रीय कार्यसमितिले निर्णय लिन्छ ।'
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व बन्ने अवस्था आए र सबै दलले आफूलाई सर्वसम्मत प्रस्तुत गरेको अवस्थामा बाहेक कोइराला प्रधानमन्त्रीको आकांक्षी नहुने निकट स्रोतहरूको भनाइ छ ।
देउवा पक्षीय केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले भने सभापति कोइरालाले प्रधानमन्त्रीका लागि सार्वजनिक रूपमा इच्छा प्रकट नगरेका कारण कांग्रेसभित्र देउवा र पौडेल मात्रै स्वाभाविक उम्मेदवार रहेको तर्क गरे । 'उहाँले म दाबेदार हुँ पनि भन्नुभएको छैन । साथीहरूलाई पनि केही भन्नुभएको छैन । इच्छा नै नराखेको व्यक्तिलाई विवादमा तानिरहन आवश्यक छैन,' खड्काले भने, 'अहिलेसम्मको हकमा देउवा र पौडेल नै स्वाभाविक उम्मेदवार हुन् ।'
![]() |