डीआईजी शाह वर्षका उत्कृष्ट प्रहरी


काठमाडौं, आश्विन ३ - क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाह वर्षको उत्कृष्ट प्रहरी भएका छन् । प्रहरी प्रधान कार्यालयले गर्ने प्रहरीको आन्तरिक परीक्षणमा शाह उत्कृष्ट भएका हुन् । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको हातबाट असोज २९ मा प्रहरी दिवसका दिन प्रहरी ब्याटन पाउनेछन् ।
प्रहरी प्रधान कार्यालयले केहीअघि देशभरका प्रहरी कार्यालयको अनुगमन गरी त्यसको रिपोर्ट संकलन गरेको थियो । मुख्यालयका तत्कालीन एआईजी कल्याण तिम्सिना संयोजक रहेको टोलीले एक महिना लगाएर पाँचवटै विकास क्षेत्र र महानगरीय प्रहरी आयुक्त कार्यालयमातहत सबै कार्यालयको अनुगमन गरेको थियो । त्यसैका आधारमा शाह प्रथम घोषित भएका हुन् । मुख्यालय स्रोतका अनुसार डीआईजी शाहले कुल ३१ सय अंकमा २५ सय ९० पाएका थिए ।
पूर्वक्षेत्रले शाहको नेतृत्वमा पूर्वी तराई र पहाडी जिल्लामा हुने सशस्त्र समूहका आपराधिक गतिविधि नियन्त्रण गर्न सफल भएको थियो । एक वर्षअघि सुरु भएको यस प्रतिस्पर्धामा महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी -हालका आईजीपी) कुवेरसिंह राना दोस्रो भएका छन् । सुदूरपश्चिम विकास क्षेत्रका डीआईजी विश्वराजसिंह शाही तेस्रो भएका छन् । यस्तै पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी राजेन्द्रसिंह भण्डारी चौथो भएका छन् भने मध्यक्षेत्रका डीआईजी वीरेन्द्रबाबु श्रेष्ठ पाँचौं । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयकी डीआईजी पार्वती थापा छैटौं नम्बरमा परेकी छन् ।
मूल्यांकन गर्दा क्षेत्रीय प्रहरी कार्यालय व्यवस्थापन, सुशासन प्रयास, मानव अधिकार, महिलामैत्री कार्यालय, विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन, सीमा प्रहरीसँगको सम्बन्ध र सहकार्यलाई आधार बनाइएको समितिका एक सदस्यले बताए । यस्तै जिल्ला र इलाकामा छनोट गर्दा चौकी सुरक्षा, कार्यालयका सेन्ट्रीको अवस्था, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन लगायतलाई आधार बनाइएको थियो ।
यसैगरी अञ्चल प्रहरी कार्यालयमा मेची उत्कृष्ट ठहरिएको छ । जिल्लामा कपिलवस्तु प्रहरी कार्यालय उत्कृष्ट दरिएको छ । तालिम केन्द्रतर्फ विराटनगर तालिम केन्द्र पहिलो भएको छ । ट्राफिक कार्यालयतर्फ ट्राफिक महाशाखा उत्कृष्ट भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक शिव पोख्रेल र महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका डीएसपी राजन अधिकारी पनि आ-आफ्नो वर्गमा उत्कृष्ट दरिएका छन् ।