तीजको व्रत बसेर भगवान्सँग के माग्नुहुन्छ ?
![]() |
पतिदेव, माग्ने नै पतिदेव हो, सधैं माग्दै आएकी छु, तर अहिलेसम्म पाएकी छैन।
कोमल वली, गायिका
केटा पाऊँ भनेर बस्दिनँ, मात्र भगवान्को प्रार्थनाका लागि बस्छु, हाम्रा लागि कुनै केटा व्रत बसेका छन् र हामीले उनीहरूका लागि बस्ने ? माग्नैपरे मेरो जीवनमा जे कमी छ, भगवान्, त्यो पूरा गरिदिनुस्, रक्षा गर्नुस् भनेर माग्थंे।
निशा सुनार, गायिका
म त भगवान्सँग एकदमै हेन्डसम केटा माग्छु, कोमल दिदी झ्वाँक तन्नेरी माग्नुहुन्छ, मचाहिँ च्वाँक तन्नेरी माग्छु, रूप पनि भा'को, बुद्धि पनि भा'को। अरू त केही छैन माग्ने कुरा।
दीपाश्री निरौला, हास्य अभिनेत्री
श्रीमान्को आयु लामो होस्, उहाँले निर्माण गरिरहेको चलचित्र 'धूँवा' को काम सफल होस्, परिवारमा सुख-शान्ति छाओस, सबैले गरेको काम राम्रो होस् भन्ने कामना गर्छु।
कविता श्रेष्ठ, चलचित्र निर्मात्री
म त प्रायः तीजको व्रत बस्दिनँ, आफू गणपति बाबाको फ्यान परियो, यसपालि फेरि तीज मंगलबार नै परेछ, गणेश भगवान् र तीज दुवैको व्रत बस्न पाइने भयो। भगवान्प्रति मेरो बलियो आस्था छ। म अरुका लागि व्रत बस्दिनँ, आफ्ना लागि मात्र बस्छु।
कविता शर्मा, कलाकार
जहिलेदेखि भगवान्को पूजा गर्न थालें, मन्दिर जान थालें त्यसयता कहिल्लै पनि कुनै कुरा माग्ने गरेकी छैन। हजुरबुबाले भनेझैं सत्कर्ममा मन जाओस, व्रत बस्दा, पूजा गर्दा मनमा आनन्दप्राप्त होस् प्रसन्न भावना जागोस् जस्तो लाग्छ। मलाई माग्न नआउने भएर पनि हो कि ?
माण्डवी त्रिपाठी, गायिका
सबैभन्दा पहिले अविवाहित भएकाले पतिदेव नै माग्नुपर्ला, तर यस्तो पतिदेव कि, मेरो मनलाई बुझ्ने होस्, धन भा'को भन्दा पनि मन भा'को होस्। शिवजीजस्तो त नपाइएला, तर जोगी पनि नहोस्, भोगी र लोभी पनि नहोस्।
कला सुब्बा, कार्यक्रम सञ्चालिका
म खासै व्रत बस्दिनँ, तर भगवान्लाई एकदमै मान्छु, सुख-शान्तिको कामना गर्छु। श्रीमान् छैनन्, त्यसकारण उनको आयुका लागि पनि बस्ने कुरा भएन। व्रत बस्नैपरे परिवारको सुखशान्तिका लागि अनि आफैंलाई प्रसन्न बनाउन बस्छु।
करिश्मा कार्की, खेलाडी
तीजको व्रत बसेर बूढाको ग्यास्टि्रक रोग छिटो निको होस् भनेर कामना गर्छु। घरमा सधैं सुखशान्ति छाओस्, असल बूढो पनि पाइहालियो। बस्, अब आनन्दले बस्न पाइयोस्।
कुन्जना घिमिरे, हास्यकलाकार
यदि मैले व्रत बसेर भगवान्सँग बर माग्नै पर्यो भनें स्वयं भगवान् नै मसँग मन्त्रमुग्ध वा प्रभावित भएर मलाई माग्न मेरा बा-आमासँग मेरो हात माग्न आऊन भन्ने कामना गर्छु।
मञ्जु पौडेल, लोकदोहोरी गायिका
मेरा लागि यो तीज विगतका तीजभन्दा फरक छ, मैले शिवजी पाइसकेकी छु। म उहाँको सु-स्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्छु। विवाहित भैसकेपछि श्रीमान्को खुसीमै आफ्नो खुसी हुने भएकाले आगामी दिनहरूमा उहाँका निम्ति नै तीजको व्रत बस्छु।
सविना कार्की, आरजे
अहिलेसम्म अविवाहित भएकाले तीजको व्रत बसेकी छैन, तर हाम्रो घरमा विवाहितहरूले पानी नै नखाई व्रत बस्ने परम्परा छ। विवाहपछि कडा व्रत बस्ने भएकाले पनि अहिलेसम्म नबसेको हो, तर विवाहपछि म पनि श्रीमान्को लामो आयुका लागि व्रत बस्नेछु।
इन्दिरा जोशी, गायिका
खास म केही माग्दिनँ, ममीहरूले व्रत बस्ने गरेकाले परम्पराका लागि म पनि व्रत बस्छु। हुन त श्रीमान्को सु-स्वास्थ्य, दीर्घायुका लागि भनेर तीजको चलन व्रत बसिन्छ, तर म आफूसहित परिवारका सबै सदस्यलाई राम्रो होस् भन्ने कामना गर्छु। तीज मेरा लागि रमाइलो पर्व हो।
करिश्मा मानन्धर, नायिका
तीजको व्रत खासै बसेको छैन, व्रत बस्दा म यो पार्टीकुलर चिज चाहिन्छ भन्ने माग पनि गर्दिनँ। भगवान्को पूजा गर्दा मनमा शान्ति, सन्तुष्टि तथा रमाइलो अनुभूति हुन्छ। यो वर्षचाहिँ तीजको व्रत बसौं कि भन्ने योजनामा छु।
मौसमी गुरुङ, गायिका
चेलिबेटीको यो महान् चाडले परिवारभित्र दाजुभाइ-दिदीबहिनीबीचको सद्भाव बढाउँदै लगोस् भन्ने मेरो कामना हुनेछ। व्रत बस्दा एक- आपसमा सद्भाव जोगाउने कामले निरन्तरता पाओस्, तीजले विकृति नफैलाओस् भन्ने वर माग्छु।
मिथिला शर्मा, नायिका
मलाई माया गर्ने, मलाई पूर्ण बनाउने साथीको स्वास्थ्य राम्रो होस्, दीर्घायु होस् भन्ने चाहन्छु। प्रार्थना तथा व्रतमार्फत उहाँको जीवनमा आउने अवरोधहरू सहजै हटेर जाऊन् भन्ने मेरो कामना रहनेछ। पानी पनि नखाई मैले विगतमा पनि व्रत लिएकी थिएँ, अब पनि त्यही प्रयोजनका निम्ति बस्ने हो।
रविना देशराज श्रेष्ठ, बैंकर्स
यस पटकको तीजमा चाहिँ म भिजा गर्लको सफलताको कामना गर्छु। ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड दुवैले यो चलचित्रको सफलताका लागि दिनरात मेहनत गरिररहेकाले भगवानसँग यसलाई सफल बनाउन अनुरोध गर्छु।
ऋचा शर्मा, नायिका
तीजको व्रत बसेर म भगवान्सँग केही माग्दिनँ। एक दिन व्रत लिएर भगवान्सँग श्रीमान् मागेर वा भैरहेको श्रीमानलाई राम्रो होस् भन्ने कामना गरेर माग पूरा हुने पनि होइन। तीजको समयमा एक दिन भए पनि महिलाले स्वच्छन्द जीवनशैली जिउन पाउँछन्, त्यसकारण श्रीमान्, बिगि्रएको श्रीमानका लागि कामना गर्नेभन्दा पनि घर बाहिर निस्केर समस्या तथा विचार आदान-प्रदानमा समय खर्चिनु राम्रो हुन्छ। तीजमा रक्सी पिउने, पार्टी गर्ने, नाच्ने आदि कार्यले महिलाको हित हुँदैन।
रेखा थापा, नायिका
म कहिलेकाहीं मात्र व्रत बस्छु, तर रमाइलोका लागि, तीजको व्रतमा केही माग्नैपर्छ भने म पनि आममानिसहरू तीजको व्रत जुन उद्देश्यले बस्छन् त्यसैका लागि बस्ने हो।
रिमा बिके, नायिका
सबैले मागेजस्तै म पनि श्रीमान्को दीर्घायुका लागि व्रत बस्छु। अहिले त परिवारका सबै सदस्यको राम्रोका लागि शिवजीको आराधना गर्छु।
सविना कार्की, गायिका
म यो वर्ष विवाहपछिको पहिलो तीजको व्रत परदेशी श्रीमान्को राम्रोका निम्ति बस्दैछु। श्रीमान्को आयु लामो होस् भनेर व्रत बस्छु। आफूभन्दा टाढा भएकाले पनि उहाँको सुस्वास्थ्य चाहन्छु।
सामना सिटौला, कलाकार
खै के माग्ने छ र ? श्रीमान्का लागि माग्नुपर्ने व्रत हो यो, अहिले श्रीमान् नै नभएपछि, त्यो पनि परेन, अब राम्रो श्रीमान् पाइयोस भनेर माग्नुपर्ला, अनि खोजेजस्तो पाइए उसको लामो आयुका लागि व्रत पनि बसिएला।
सिम्पल खनाल, मोडल
केही पनि माग्दिनँ। हामीले संस्कृतिलाई पछ्याउँदै आएको मात्र हो। व्रत बस्दा आत्मसन्तुष्टि मिल्छ भने श्रीमान् पनि दंग पर्छन्।
उपासना घिमिरे, सञ्चारकर्मी
यस्तै माग्छु भन्ने छैन, मागेको पनि छैन, श्रीमान् र छोराछोरीको सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि कामना गर्छु।
शैलजा अधिकारी, फेसन डिजाइनर
![]() |