पुरुष बिरामीलाई पिल्स खुवाएपछि....




रुकुम, असोज २- रुकुम सदरमुकाम खलंगा १ का ६५ वर्षीय वृद्ध झुत्रो खत्रीलाई लामो समयदेखि पिसँआमा हुने समस्याले सताइरहेको थियो। पिसाब गर्दा पोल्ने, कटकटी दुख्ने र चराउँने पीडा हुने भएपछि सोमबार बिहानै उनी उपचारको लागि खलंगाको मुराल मेडिकलमा पुगे।


उनको समन्या चेकजाँच भयो। मेडिकलका स्वास्थ्यकर्मीले औषधि दिए। एक गोली तत्कालै खाएर घरतिर लागे। तर, उनी घर नपुग्दै निको हुनुको साटो वाकवाकी लाग्ने, वान्ता हुने र रिंगटा लाग्नेजस्ता अक्षण देखिए। निरक्षर खत्री पिसाबको समस्याले खाएको औषधिले बान्ता हुन थालेपछि मेडिकलमा खाएको औषधि परिवारलाई देखाए। तर, पिसाबको समस्या भएका खत्रीको औषधि भने महिलाहरुको लागि गर्भनिरोध औषधि पिल्स पो परेछ।

महिलाको गर्भनिरोधको चक्की पिल्स पुरुषले खाएपछि खत्री उपचारको लागि जिल्ला अस्पताल रुकुममा भर्ना भएका छन्। खत्रीले आफूले आएको पिल्स लिएर जिल्ला अस्पताल पुगेका हुन। ‘मलाई पिसाबको समस्या थियो त्यसैले मेडिकल गएको हुँ।' खत्रीले भने, ‘मेडिकलले ठीक हुन्छ भन्दै औषधि दिएपछि खाएँ, तर पिल्स पो दिएछ।' महिलाको गर्भनिरोध चक्की पिल्स भएको आफूलाई थाहा नभएको उनले बताए। ‘के औषधि हो भन्ने कुरा मलाई पत्तो नै भएन, खाइसकेपछि परिवारका सदस्यलाई देखाएपछि मात्र थाहा भो मैले त पिल्स खाएको रहेछु।' उनलाई पिल्सले के गर्छ भन्ने पनि थाहा रहेनछ। ‘मेडिकलको औषधिले वाकवाकी लाग्ने र बान्ता हुन थालेपछि अस्पताल आएको हुँ।' जिल्ला अस्पतालका डा. युधिष्ठिरराज खड्काले महिलाको लागि गर्भ रोक्ने पिल्स हो भने पछि मात्र उनलाई थाहा भो। उनको पिसाब परीक्षण गरिएको छ।

पुरुष बिरामीलाई जानीजानी हो या झुलवस पिल्स दिइएको हो भन्ने पत्ता लगाउने जिल्ला अस्पतालले जनाएको छ। ‘पुरुषलाई पिल्स दिनु गलत हो, औषिधि पसललाई कारबाही हुन सक्छ।' जिल्ला अस्पताल रुकुमका डा. युधिष्ठिरराज खडकाले भने, ‘गलत औषधिले बिरामीको ज्यानै जान सक्छ, पुरुषलाई पिल्स दिएको यो पहिलो घटना भएपनि अन्य गलत औषधि दिएको रिपोर्ट आउने गरेका छन्।' पुरुषले पिल्स खाँदा हर्मनमा असर पुग्न सक्ने उनले बताए। पुरुषले पिल्स खाँदा पुरुषत्वमासमेत असर पुग्ने उनको भनाई छ। ‘वीर्य र सुक्रकिटमा असर पुग्ने भएकाले सन्तान उत्पादन नहुन सक्छ।'

रुकुममा खुलेका अधिकांश मेडिकलले गलत औषधि दिने गरेको उनको भनाई छ। औषधि पसलहरुले दिएको गलत औषधि खाएर धेरै बिरामी अस्पताल आउने गरेको अस्पतालको भनाई छ। यस्ता औषधि पसलहरुको अनुगमन नहुँदा बेथिति हुने गरेको हो। सर्वसाधरणको जीवनसँग प्रत्यक्ष सम्वन्ध रहेको औषधिहरु जथाभाबी बिक्री वितरण हुँदा पनि स्थानीय प्रशासनले कुनै कारबाही गर्न सकिरहेको छैन्।

तालिम प्राप्त औषधि पसलवालाले वितरण गर्दा समस्या हुने गरेको छ। जिल्ला सदरमुकाम मात्रै १ दर्जनभन्दा बढी औषधि पसल छन्। गत वर्ष जिल्ला प्रशासन कार्यालयको अगुवाई बजार अनुगमन गरिएको थियो। त्यतिबेला केही मेडिकल बन्द गराइएको थियो। औषधि पसलका लागि प्रमाण र कागजी प्रक्रिया पुरा भएपनि औषधि वितरक दक्ष राखिएको छैन्।