समुद्रपारिको तीज



हङकङ, आश्विन २ - तीजको रौनकले चिनियाँ सहरका नेपाली महिलालाई समेत छपक्कै छोपेको छ । हप्ता दिनअघि नै हङकङमा नाचगान सुरु भयो, विभिन्न संघसंस्थाले तीज कार्यक्रम राखेका छन् । हङकङको मुटुमै अवस्थित काउलुन पार्क पियाजामा आइतबार भएको तीज विशेष कार्यक्रमले गाउँठाउँमै पुगेको झल्को दियो । आठ वर्षदेखि निरन्तर तीज कार्यक्रम गर्दै आएको हङकङ एकीकृत नेपाली समाज -हिन्स) ले यस वर्ष पनि महिलालाई कम्मर मर्काउने अवसर जुराएको हो । हङकङेली महिलाले पनि मौकाको राम्रै सदुपयोग गरे । कतिपयलाई हेर्दा लाग्थ्यो उनीहरू रमाइलो गर्ने क्षण फुत्काउनै चाहँदैनन् ।
भीडमा भेटिइन् रुपन्देही मंगलापुरकी कुमारी थापा । 'उहिले गाउँमा आफैं गाउने बजाउने गरेर नाचिन्थ्यो, क्यासेटको जमाना आएपछि एउटै कलाकारले गाउँदा संसारै नाच्ने भए,' नाचिरहेकी ६६ वर्षीया कमला केहीबेर छेउ लाग्दै बोलिन्, 'तर मज्जा त आफैं गाउने बजाउनेमै थियो ।' नौ वर्षदेखि हङकङमा बसोबास गर्दै आएकी गुल्मीकी कमला खरेलले प्रवासमा तीज मनाएको यो पाँचौं रहेछ । 'यसरी सबै एकैठाउँमा भेला भएर नाच्दा गाउँतिरै भएजस्तो लाग्छ,' गुल्मी आँपचौरकी उनी फुर्किंदै बोलिन्, 'जहाँ बसे पनि आफ्नो परम्परा भुल्न कहाँ सकिँदोरहेछ
र ।' उता र यताका तीजमा के फरक पाउनुभो ? 'गाउँमा अलि बढी दुःख छ, गीत पनि वेदनाका हुन्थे,' जिज्ञासामा उनी बोलिन्, 'ठाउँ परिवेश अनुुसार यहाँ बढी रमाइला गीतमै रमाइन्छ ।' तीज सुरु हुनुअघि नै दर खान र ख्वाउनमा व्यस्त रहेको सुनाउने उनले तीजका दिन भने भोकै व्रत बस्ने समेत सुनाइन् ।
महिलाका पर्व भनिए पनि भीडमा पुरुष कम थिएन । रातो पहिरनमा सजिएका अधिकांश महिला भने सिंगारपटार गरी चिटिक्क परेका थिए । कतिपय मोबाइलबाटै नेपाली परम्परा कैद गर्न व्यस्त देखिन्थे । कतिपय चिनियाँ लगायत अन्य समुदायलाई आयोजकले निम्तै दिएका थिए । 'हाम्रो संस्कृति र परम्परा विदेशीलाई पनि चिनाउनुपर्‍यो नि,' हिन्सका अध्यक्ष बुद्धिबहादुर थापाले भने, 'अब तीज कुनै धर्म वा जात विशेषको भन्ने पनि त रहेन ।' कुनै जमानामा वर्ष दिनको दुःख वेदना गीतमार्फत पोख्ने पर्व अब रमाइलोमा परिणत भइसकेको अनुभव समेत सुनाए उनले । 'प्रवासमा सबैलाई नजिक्याउने यस्तै चाडपर्व त हुन यसैले पनि वर्षेनि निरन्तरता दिएका हौँ', अध्यक्ष थापाले भने ।