पुरानैबाट लुकिचोरी रक्तचन्दन तस्करी


सिन्धुपाल्चोक, असोज २ - अहिलेसम्मकै ठूलो कारबाही गरी प्रहरीले सीमा नाका फुल्पिङकट्टीको स्यालाङकट्टीबाट बरामद गरेको रक्तचन्दन पुराना तस्कर नारायण पौडेलको भएको खुलेको छ। चन्दनसहित पक्राउ परेका भरियाले तस्करीमा उनको संलग्नता खुलासा गरेको प्रहरी स्रोतले जनायो।
'तस्करीमा संलग्नताबारे ज-जसको नाम चर्चामा छ। जुनसुकै हालतमा तिनीहरुलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्छौं,' बाग्मती अञ्चल प्रहरी प्रमुख एसएसपी पशुपति उपाध्यायले भने। करिब ५० भरियालाई बोकाएर स्यालाङकट्टीको चोरबाटो हुँदै खासा लैजाने क्रममा फुल्पिङकट्टी प्रहरीचौकीको टोलीले आइतबार बिहान ७२ मुढा चन्दन बरामद गरेको थियो।

चन्दन बरामद गर्ने क्रममा प्रहरी र तस्कर समूहबीच निकै बेर दोहोरो भिडन्त भएको थियो। भाला-खुकरी देखाउँदै तस्कर समूह प्रहरीमाथि जाइलागेपछि प्रहरीले नौ राउन्ड गोली चलाएको थियो। भिडन्तका क्रममा प्रहरीको गोली लागेर हगाम-५ का भरिया २० वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको थियो भने फुल्पिङकट्टी- १ खोकुन्डोलका २६ वर्षीय बिर्खबहादुर श्रेष्ठ र फुल्पिङकोट- ८ का ५३ वर्षीय प्रताप तामाङ पक्राउ परेका थिए।

पक्राउ परेका सहयोगीलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान थालेपछि तस्करीमा पौडेलको संलग्नता खुलेको हो। उनीहरुले पौडेल पुराना चन्दन तस्कर रहेका समेत खुलासा गरेका छन्। प्रहरीका अनुसार कन्टेनर भ्यानका चालक रहेका बिर्खलाई भरियाको नेतृत्व गर्ने जिम्मा दिइएको थियो भने प्रताप चन्दन बोक्ने भरिया हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पौडेलले सहयोगी निमा शेर्पा र प्रकाश कार्कीलाई चन्दन खासा पुर्या्उने (क्यारिङ) जिम्मा दिएका थिए। 'पहिल्यैदेखि दादागिरी देखाउने निमाले ५ हजार दिने सर्तमा भरियालाई गाइड गर्न प्रस्ताव गरे। नमान्दन कुटाइ खाइने डरले स्वीकार गरेँ,' पक्राउ परेका बिर्खको भनाइ उद्धृत गर्दै इन्स्पेक्टर विश्व कार्कीले बताए। रक्तचन्दन तस्करमाथि प्रहरी चलाएको यो अहिलेसम्मकै पहिलो र ठूलो कारबाही हो। यसअघि चन्दन बरामद भए पनि व्यक्ति पक्राउ पर्दैनथे।
चारवटा मुढा बोकेका प्रतापले प्रतिकिलोको २ सय रुपैयाँ दिने प्रलोभन निमा र प्रकाशले दिएपछि चन्दन ओसारेको स्विकारे। सँगै रहेका उनीहरु भने भाग्न सफल भए। रातभरि हिँडाएर घनघोर जंगल लगिएकाले उनीहरुलाई कहाँबाट बोकाइयो र कहाँबाट कसरी ल्याइयो भन्ने पत्तो छैन। बोरामा प्याक गरिएको चन्दन मुढा जंगलबीचबाट सातजनाले ओसार्दै बोक्न लगाएका थिए।

फुल्पिङकट्टीको नारायणस्थानस्थित जंगलमा चन्दन स्टोर गरेर राखेको थाहा पाएपछि प्रहरीले शुक्रबार रातिदेखि नै उक्त स्थान घेरा हालेर सर्च चलाएको थियो। यस क्रममा रक्तचन्दन लोड गरिरहेको बा२ख ८८६७ नम्बरको फोरह्विल गाडीसहित सय किलो बराबरका ६ मुढा चन्दन बरामद भएको थियो। स्थानीय हिन्दी गाउँका गणेश खड्का र सन्जोग भण्डारी पक्राउ परेका थिए। उनीहरुको बयानअनुसार सबै रक्तचन्दन नभेटेपछि जिल्ला प्रहरीले पछ्याउने क्रममा दोस्रो भिडन्त भएको थियो। शुक्रबारको भिडन्तमा पनि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। दुवै घटनामा पक्राउ परेका चारैजनालाई हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले बताए।

स-साना परिमाणमा ल्याइएको चन्दन जम्मा पारेर राखिएको प्रहरीको अनुमान छ। कच्ची सडक पुगेको स्यालाङकट्टीको सीमामा तिब्बतको ताप्टाङ क्षेत्र परेकाले तस्करले ग्रामीण सडकलाई तस्करीको वैकल्पिक रुट बनाएको प्रहरी निष्कर्ष छ। अरनिको राजमार्गबाट घटनास्थल स्यालाङकट्टी २० किलोमिटर टाढा पर्छ। जिल्ला प्रहरी प्रमुख परिवर्तन भएको मौका छोपी रक्तचन्दन चीन लैजाने प्रयास भएको हो। डिएसपी वसन्त लामा सरुवा भएर उनको बदलामा प्रहरी प्रमुखको रुपमा प्रताप गुरुङ बिहीबारमात्र जिल्ला आएका छन्। गुरुङलाई जिम्मेवारी सुम्पेर शुक्रबार लामा हिँडेकै दिन राति तस्करले मौका छोपेका हुन्।

२०६२ यता प्रहरीले १८ पटक खासा लैजाने क्रममा करिब ३३ हजार किलो रक्तचन्दन बरामद गरेको जिल्ला वन कार्यालयको तथ्यांक छ। डिएसपी लामा प्रहरी प्रमुख बनेर आएपछि १६ महिनायता ठूलो परिमाणमा रक्तचन्दन खासा जान सकेको छैन। सुरुमा चन्दन पठाउनकै लागि तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराले लामालाई सिन्धुपाल्चोक पठाएको चर्चा चलाइए पनि उनी ठिकविपरीत देखिए। रक्तचन्दनलाई नै लक्षित गरेर काभ्रेको सीमा राजमार्गको बन्देउमा चेकप्वाइन्ट राखेपछि तस्करको हरेक रणनीति असफल हुँदै आएको छ। सुरक्षा कडाइपछि तस्करले रणनीति बदल्दै मुढा र टुक्रा गरी स-साना परिमाणमा मोटरसाइकल, बलेरो गाडी, कन्टेनर र यात्रुबसमा समेत फल्सबटम बनाई चन्दन तस्कर गर्दै आएका छन्।

प्रहरीले राजमार्गलाई केन्द्र बनाएपछि गाउँको वैकल्पिक बाटो रोजिएको छ। थोरै-थोरै गरी ल्याइने रक्तचन्दन जम्मा गरेर फुल्पिङकट्टी, कर्थली, घोर्थली हुँदै दोलखाको बिगुलगायत स्थानबाट नियमित जस्तो खासा पुर्याेइँदै आएको स्थानीय स्रोतले जनायो। खासामा यतिबेला प्रतिकिलो रक्तचन्द मूल्या १०-१२ हजार रुपैयाँ पर्छ।

को हुन पौडेल?
विगतमा चिनियाँ सामग्रीको आयातकर्ता पौडेल फुल्पिङकट्टी गाविस हिन्दी गाउँका हुन्। अरनिको राजमार्गमा पर्ने हिन्दी तातोपानीनजिक रहेकाले उनी आयात व्यापारी बनेका थिए। करिब तीन वर्षअघि व्यापारकै क्रममा अमेरिकी डलर अपचलन गरेको अभियोगमा उनी लामो समय जेल परे। ठूलो परिमाणमा धरौटी बुझाएर उनी वर्ष दिनपछि जेलबाट छुटेका थिए। रक्तचन्दन तस्करीमा उनको नाम बारम्बार जोडिँदै आएको छ। तातोपानीस्थित स्रोतका अनुसार उनी पुराना चन्दन तस्करी हुन्। कारोबारमा टाट पल्टेर धेरैले चन्दन कारोबार छाड्दा पौडेल चन्दन कारोबारलाई निरन्तरता दिने थोरै पुराना व्यापारीमध्ये पर्छन्।

२०६४ मा पौडेलले कन्टेनरमा ठूलो परिमाणमा रक्तचन्दन खासा लैजाने क्रममा राजमार्गका बोर्डरल्यान्डनजिक रकम असुल्ने युवाहरुले बाटो देखेपछि उनका सहयोगीले गोली चलाएका थिए। भरियाको ज्यान जाने गरी भएको आइतबारको घटनाअघि यो गोलीकाण्ड नै ठूलो मानिएको थियो। उनी अधिकांश समय काठमाडौं बस्दै आएका छन्।

प्रहरी टोलीलाई स्याबासी
रक्तचन्दन बरामद गर्ने फुल्पिङकट्टी प्रहरीचौकीका इन्चार्ज असई राजन कार्की नेतृत्वको टोलीलाई बाग्मती अञ्चल प्रहरी प्रमुख एसएसपी पशुपति उपाध्यायले भेटेरै स्याबासी दिएका छन्। उनीहरुलाई स्याबासी दिन उनी सोमबार सिन्धुपाल्चोक आएका थिए। टोलीका काममा प्रशंसा गर्दै उनले निडर भएर काम गर्न आग्रह समेत गरे।

घटनापछि असुरक्षा महसुस गरी असई कार्की नेतृत्वको सबै प्रहरीलाई आइतबार साँझै जिल्लामा तानिएको छ। उनको नेतृत्वमा त्यहाँ सात प्रहरी तैनाथ थिए। उनीहरुको बदालामा फुल्पिङकट्टी नयाँ टोली पठाइएको छ।

जिल्लास्थित सुरक्षा निकायका अधिकारीसँग छलफल गर्दै एसएसपी उपाध्यायले रक्तचन्दन तस्करी रोक्न अझै कडा भएर उत्रनु पर्ने खाँचो औंल्याएका छन्। 'घटनाक्रमले अझै रक्तचन्दन तस्करी हुन नछाडेको पुष्टि भएको छ। अब एक्सनमा जानुपर्छ,' प्रमुख जिल्ला अधिकारी दूर्गा पोखरेल, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रताप गुरुङ, सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरीका एसपी कमल गिरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख इन्द्रसिंह लामालगायत अधिकारी सम्मिलित छलफलमा उनले भने। घटनाको अनुसन्धान गर्ने जिम्मा अञ्चल प्रहरीले डिएसपी राजेन्द्र थापालाई दिएको छ। उनले सोमबार नै जिल्लामा आएर अनुसन्धान थालेका छन्।

३५ घाइते

मृतकका आफन्त र स्थानीय बासिन्दाले घटनापछि आइतबार साँझबाट बन्द गरेको तातोपानी सडक प्रहरीले बल प्रयोग गरेर सोमबार दिउँसो खुलाएको छ। प्रहरीले बल प्रयोग गर्ने क्रममा ३५ बढी बन्दकर्ता घाइते भएका छन्। कोदारीमा ढुंगामुढा थुपारेर बन्दकर्ताले सवारी आवागमन ठप्प पारेपछि प्रहरीले बल प्रयोग गर्नु परेको सीमा प्रहरी कार्यालयका इन्स्पेक्टर कार्कीले बताए। सो क्रममा प्रहरीले बन्दकर्तामाथि लाठी प्रहार गरेको थियो।

वास्तविक तस्कर नपक्रेको र भरियाको ज्यान गएको भन्दै सडक बन्द गरिएको थियो। केही स्थानीयले मृतकका आफन्तलाई अघि सारेर बन्द गराएका थिए। बन्द खुलाउन सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो। बन्दले तातोपानी नाका तनावग्रस्त बनेको थियो।