आज तीज, पशुपतिमा दर्शनार्थीको भिड
![]() |
काठमाडौ, आश्विन २ - हिन्दु महिलाहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज आज मनाइदैछ । तीज अवसरमा पशुपति मन्दिरमा महिला दर्शनार्थीहरुको ठूलो भिड लागेको छ । महिलाहरु निरहार वसेर नाचगान गर्दै तीज मनाउँदैछन् । पशुपतीमा दर्शनका लागि तीनवटा ढोका खोलिएको छ । मित्रपार्कदेखि उमाकुण्ड हुँदै रुद्रगाढेश्वरबाट बस्ने लाइन उत्तरढोकाबाट, गौशाला वनकालीबाट बस्ने लाइन दक्षिणढोकाबाट र विशिष्ट व्यक्तिहरूले पश्चिमढोकाबाट प्रवेश गर्न पाएका छन् । लगातारको झरीलाइ वेवास्ता गर्दै महिलाहरु दर्शनका लागि लाइन बसेका छन् ।
पशुपतिमा तयारी
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीलाई सहज बनाउन स्वयंसेवक तथा प्रहरी परिचालन गरिएको छ । छिटो दर्शनका लागि भुवनेश्वरीबाट पशुपति प्रांगण हुँदै गेट बाहिरबाटै दर्शन गर्नुपर्ने छ । दर्शनका लागि सबै तयारी पूरा गरेको कोषले जनाएको छ ।
कोषले एक हजार रुपैयाँको टिकट काटेर दर्शन गर्नेहरूका लागि छुट्टै प्रवेशद्वार बनाइएको छ । भुवनेश्वरीको गणेश मन्दिरनजिकैबाट सशुल्क दर्शनार्थी, अर्चक, उपार्चक, विशेषपूजा र कर्मचारीले छिटो दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाएको छ । विशिष्ट व्यक्ति, अर्चक, उपार्चक, सशुल्क दर्शनार्थीलाई कोषको प्रांगणमा जम्मा गरी स्कर्टिङ गरी छिटो दर्शन गराउने व्यवस्था गरिएको कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले जानकारी दिए । उनले भने, 'विशिष्ट व्यक्ति र अर्चक, उपार्चकको सवारी साधनसमेत कोषकै प्रांगणमा पार्किङ गरिनेछ ।'
उनका अनुसार झरीका कारण गत वर्षभन्दा दर्शनार्थी कम हुनसक्ने अनुमान गरिएको छ । भोलिसम्मै झरी पर्यो भने गत वर्षभन्दा घुइँचो कम हुनसक्छ,' उनले भने, 'बिहानैदेखि घाम लागे दर्शनार्थीलाई दर्शन गर्न सहज हुने थियो ।'
कोषले नृत्य दर्शनार्थी र पुरुष दर्शनार्थीहरूलाई बिहानको ३:३० देखि सात बजेभित्र दर्शन गरिसक्न आग्रह गरेको छ । सात बजेपछि नृत्य दर्शनार्थी र पुरुषहरूले दर्शन गर्न नपाउने व्यवस्था गरिएको छ ।
सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरिएको कोषले जनाएको छ । सशुल्क दर्शनार्थीहरूले तिलगंगास्थित आँखा अस्पताल र सिफलमा पार्किङ गर्न सक्नेछन् भने विशिष्ट व्यक्ति, अर्चक/उपार्चकका लागि कोषकै प्रांगणमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
तीज लाई व्यवस्थापन गर्न दुई हजार पाँच सयको संख्यामा सुरक्षाकर्मी र हजारजना स्वयंसेवक खटाइनेछ । निराहार व्रत बसेर बेहोस हुनेहरूलाई उपचारका लागि स्वास्थ्य शिविरहरू राखिनेछन् ।
![]() |