महादेवले वर जुराइदिने हुन् र?
![]() |
लोकगायिका कृष्णा बिसी
दर खाने कार्यक्रमले भ्याई नभ्याई होला है?
हामीलाई खान होइन, गाउन बोलाउँछन्। कार्यक्रमको भ्याई नभ्याईले दर होइन, खाजा खाने समय पनि हुँदैन।
व्रत बसिन्छ कि नाइँ?
बसिन्छ नि। बच्चामा मिठो खानेकुरा खानका लागि बसियो। अलि ठूली भएपछि रहरले बसियो। अहिले संस्कृति मान्नैपर्यो भन्ने लागेर बसिन्छ। तर, पानी पनि नखाई बसिने कडा व्रत बस्दिनँ।
लोकगायिका कृष्णा बिसी
वर त माग्नुहुन्छ होला। के माग्नुहुन्छ?
फलानो चिज देऊ प्रभु भनेर कहिल्यै भन्दिनँ। मनमनै के पो भन्छु याद भएन।
बेला त योग्य वरै पाउँ भन्ने भइसक्यो नि?
महादेवले योग्य वर जुराइदेलान् भन्ने विश्वास छैन। बरु बाआमा र साथीभाइले पो सक्छन्।
व्रत बसेर पनि अहिलेसम्म वर जुराइदिएनन् भनेर रिसाको हो कि क्यो हो?
रिसाको पनि छैन। खुशी पनि भएकी छैन।
जुराइदिए भने कस्तो खालको केटा जुराइदिउन् जस्तो लाग्छ?
मलाई माया गर्ने र बुझ्ने खालको जुराइदिए हुन्छ।
गीत त 'मेरो त उसैसँग लभ परेको छ' भनेर गाउनुभएको रहेछ?
यो गीत गाएपछि त स्पष्टीकरण दिँदा-दिँदा हैरान भइसकेँ। कसैले मलाई ताकिरहेको छ भने ऊ पनि बिच्किएला भन्ने डर पो लाग्न थाल्यो अचेल।
त्यसोभए क्याम्पस पढ्दाखेरिका पल सम्झेर यस्तो गीत गाएको हो त?
मेरो त क्याम्पस पनि लभ पर्नै पाएन। आइएमा पढ्दा दुईजनामात्रै केटा थिए। ती पनि लायक थिएनन्। बिएमा गायनतिर व्यस्त भएर कलेज जानै पाइनँ। अहिले एमएको इभिनिङ क्लासमा सबै घरबार जोडेका बुढामात्रै छन्।
मोडलिङ पनि आफैँ गर्नहुन्छ, हैन?
मोडलिङ गर्ने रहर छ। निकै राम्री नभए पनि हेर्न लायककै छु भनेर आफ्ना गीतमा आफैँ मोडलिङ गर्छु।
हिरोइन बन्ने रहर पनि छ कि क्या हो?
ममा हिरोइन बन्ने कला चाहिँ छैनजस्तो लाग्छ।
हिँड्न त ठाँटिएरै हिँड्नुहँदो रहेछ?
यो त आम युवतीको साझा काम भइगयो नि।
गीत गाउन थालेको कति भयो?
ठ्याक्कै १० वर्ष भयो।
कतिवटा एल्बम निकाल्नुभयो?
छ वटा।
अहिलेको गीतको कत्तिको रेस्पोन्स छ?
बिक्री त्यस्तै हो। कार्यक्रममा जाँदा दर्शकले गरेको कमेन्टबाट हल्ला गरिने गीतको घेराभित्र मेरो गीत पनि छजस्तो लाग्छ।
![]() |