सुव्रतसँग अन्तर-कुन्तर कुरा - हरिवंश आचार्य, (वरिष्ठ कलाकार)



तीन कुरा जसका कारण तपाईं आफ्नो जीवनलाई माया गर्नुहुन्छ ?

मैले गरेका काम, मेरा छोराहरू र मेरी श्रीमती।

तपाईंसँग भएको सबैभन्दा महँगो भौतिक वस्तु ?

मेरो शरीर।

मदनकृष्ण श्रेष्ठसँग भेट नभएको भए ?

हल-गोरुमा एउटा गोरु कम हुन्थ्यो।

सबैभन्दा नर्भस भएको क्षण ?

केही वर्षअघि लसएञ्जल्स जाँदा गाडीमा ट्वाइलेट जानुपर्ने बाध्यताले च्याप्यो। यतिसम्म कि मेरो आफ्नै गाडी भएको भए त्यहीं भ्याइदिन्थें।  च्यापेरै घण्टौं यात्रा गरियो। त्यतिबेला दिमागले काम नगरेर निकै नर्भस भएको अनुभूति 

गरेको थिएँ।

जीवनमा गर्न चाहेर पनि नसकेको काम ?

श्रीमती मीरालाई बचाउन नसक्नु।

मनै नपर्ने सेलिब्रेटी ?

म आफैं।

अबको १० वर्षपछि तपाईंलाई कुन अवस्थामा भेटिएला ?

अहिलेजस्तो छु, त्यस्तै। परे दुई-चार जना ढाल्न सक्ने अवस्थामा हुन्छु।  

स्वादिलो गरी पकाउन आउने कुरा ?

उसिनेको अन्डा 

कुन खानेकुरा सम्झँदा मुखै रसाएर आउँछ ?

खसीको मासुको चिसो पक्कु 

सबैभन्दा लाज लाग्ने क्षण ?

बाथरुममा नुहाउँदा ऐनामा आफूलाई देख्दा निकै लाज लाग्छ।

विगतमा कसैलाई गोद्नुभएको छ ?

१३ देखि १८ वर्षको उमेरसम्म धेरैलाई गोदियो र गोदाइ पनि खाइयो।

मात्ने गरी पिएको कुनै सम्झना ?

म १६ वर्षको थिएँ, चलचित्र 'कुमारी'मा रक्सी पिउनुपर्ने थियो। साँच्चैको पिइयो भने अभिनय स्वाभाविक देखिन्छ भनेर केही मानिसले मलाई उक्साएर दुई-तीन पेग ब्रान्डी पिलाइदिए। 

तपाईंको आफैंलाई दिक्क लाग्ने बानी ?

म धेरै सोच्छु र निराशाका कुरा बढी सोच्छु। त्यसो नभए हुन्थ्यो। 

सेक्सी स्वदेशी महिला ?

मह दोहरीकी विदेशी महिला। उक्त चरित्रमा म सार्‍है सेक्सी देखिएको थिएँ। 

कुन सेलिब्रेटीलाई देख्दा सेक्स डिजायर बढेको अनुभूति हुन्छ ?

भन्नै पर्दा क्याटरिना कैफ

बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवती हुनुभयो भने ?

अप्रेसन गरेर फेरि पुरुष बन्थें