यस्तो अवस्थामा मैले के गर्ने ?
![]() |
म एउटा युवकलाई मन पराउँछु। उ बीबीएस दोस्रो वर्षमा पढ्दैछ। उसले आफ्नो पारिवारिक पेसा सम्हालेको छ। म उसँग विवाह गर्न चाहन्छु। अहिले मेरो घरमा अरू कसैसँग विवाहको कुरा चलिरहेको छ। यो कुरा मैले उसलाई भनेकि थिए, तर उसले अहिले विवाह नगर्ने भन्छ। म उ बाहेक कसैसँग विवाह नगर्ने निर्णयमा पुगेकी छु। किनभने उसँग मेरो शारीरिक सम्बन्ध पनि भैसकेको छ। अहिले मेरो विवाहको कुरा सुनेर उ मबाट टाढा हुन खोज्दैछ। यस्तो अवस्थामा मैले के गर्ने ?
७८९
प्रेम र विवाह अलग कुरा हुन्। जोसँग प्रेम भयो उसैसँग विवाह हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। प्रेम गर्दा कसैले पनि विवाहलाई ध्यानमा राखेको हुँदैन। तपाईंको हकमा पनि जोसँग तपाईंले प्रेम गर्नुभयो उसैसँग विवाह पनि गर्नुपर्छ भन्ने बाध्यता म देख्दिन। रह्यो तपाईंको कुरा, कोसँग विवाह गर्ने ? कोसँग नगर्ने ? भन्ने निर्णय गर्ने हक तपाईंलाई छ। तपाईंका प्रेमीले तपाईंसँग अहिले विवाह गर्दैनन् भने भविष्यमा गर्ने सम्भावना छ कि छैन ? छ भने त्यो कुरालाई तपाइंले आफ्ना आमाबुवासमक्ष स्पष्टसँग राख्नुपर्छ। आजभोलिको युगमा कतिपय आमाबुवाहरू विवाहका लागि आफ्ना छोराछोरीको छनौटलाई नै पहिलो प्राथमिकता दिन्छन्। तपाईंका आमाबाबु पनि त्यो कोटीमा पर्न सक्नुहुन्छ। तपाईंको विवाहको प्रसंग चलिरहेको सन्दर्भमा म के भन्न चाहन्छु भन्ने बढेका छोरीबेटी घरमा भएपछि विवाहको प्रसंग चल्ने मात्र होइन त्यसका लागि पर्याप्त तयारी पनि भैरहेको हुन्छ। तपाईंको हकमा पनि त्यस्तै भएको हो। घरमा विवाहको प्रसंग चलिरहेको छ भन्दैमा आत्तिनुपर्ने कुनै कारण म देख्दिन। जसलाई तपाईं माया गर्नुहुन्छ उसै विवाह गर्ने तपाईंको इच्छा हो भने यो कुरा आफ्ना प्रेमीलाई स्पष्टताका साथ भनेर उसको विश्वास जित्ने प्रयास गर्नुहोस्।
![]() |