दरमा दारु
![]() |
धनबहादुर खड्का- रेस्टुरेन्ट र फास्टफुडले तीज विशेष अफर ल्याएका छन्। प्रायः अफर उस्तै छन्, 'तीजको अवसरमा महिलालाई पेयपदार्थमा विशेष छुट!' सबै रेस्टुरेन्टले मेनुको पुछारमा अनिवार्य इंगित गरेको यो अफर कुनै शक्तिबर्द्धक जुसको होइन। तीजको अवसरमा महिलाले 'दर' मात्र होइन, 'दह्रै' खानपिन गरुन् भनेर यस्तो अफर ल्याइएको हुनपर्छ। दुई साताअघि तीजको दर खान सुरु गरेका शहरिया महिलाले दरमा दारु होइन, दारुमा दर मिसाएर खान थालेपछि रेस्टुरेन्टका सञ्चालकलाई यस्तो आइडिया फुरेको हो। वर्षभरि मापसेले टाट पल्टाएकाहरूले उक्सिन तीजलाई कमाउने राम्रै अवसर बनाएका छन्।
फेसनका रूपमा मौलाएको 'दर खाने कार्यक्रम'का निम्ता मान्न भ्याई नभ्याई छ महिलाहरूलाई। परिवार, साथी, कार्यालयका सहकर्मी सर्कलभन्दा पनि अघि बढेर व्यापारी र एनजिओ आइएनजिओले पनि तीजको दर खाने कार्यक्रमको आयोजना गर्न थालेका छन्। हरितालिकाको अघिल्लो दिन आडिलो खाना खाने चलन महिनादिनअघिदेखि नै सुरुभएपछि दरमा दारुको अनिवार्य उपस्थिति हुन थालेको छ। परम्परागत रूपमा खाइने दरको मेनुमा पनि व्यापक परिवर्तन भएको छ। चल्तीका रेस्टुरेन्टमा र अहिलेका तीज विशेष कार्यक्रममा पुग्ने हो भने रातो सारीमा सजिएर रातै वाइन घुट्क्याउनेहरू बग्रेल्ती भेटिन्छन्।
शुक्रवार बेलुकी दरबारमार्गस्थित एक रेस्टुरेन्टमा देखिएको माहोलले तीजमा आएको परिवर्तनको पूरै चित्र देखाउँछ। भित्तामा टाँसिएको 'फलानोको दर खाने कार्यक्रम'ले मात्रै त्यो खानपिनलाई दरै भन्न कर लाग्थ्यो। 'तीजको लहर आयो बरिलै' प्ले गरेर नाच्न सुरु गरेका महिलाहरूलाई 'दरको तरल पदार्थ'ले नाडीनशा समाउँदै गएपछि डिजेलाई 'आइटम सङ छैन' भनेर कराउन थालेका थिए। तीजकै भनिएको 'चोलीको तुना फुकाइदेऊ' भन्ने गीतमा मात चढेकाले गरेको हाउभाउ देखेर नमातेकाहरू रातोपिरो भएका थिए।
डिस्कोको माहोल हेर्न नजिकै रहेको आई क्लब पुग्दा अघिको कार्यक्रममै देखिएका केही अनुहार मस्त नाचिरहेका थिए। दर खाने कार्यक्रमका युवा-युवती निम्त्याउलाहरू पनि डिस्कोमा 'चिकिनी चमेलीमा'मा नाच्न 'पौवा' चढाएर 'छुपके अकेली' आएका थिए। गीतको भावजस्तै हालत भएकाले होला उनीहरूले अझ बढी इन्जोय गरेका!
शनिवार बानेश्वरस्थित एउटा फुडल्याण्डमा दर खान बोलाइएका महिलाहरू दारु खाने अवसरबाट बञ्चित नहुन् भनेर सँगै बार पनि राखिएको थियो। ड्रिंक्समा १५ प्रतिशत छुट दिने लेखिएको सूचनामा तीज स्पेसल ककटेलको पनि व्यवस्था भएको उल्लेख थियो। दिउँसो १ बजे सुरु भएको दर कार्यक्रममा सूर्य अस्ताउँदै गर्दा दारुको लाइनमा लाग्नेको संख्या पनि बढ्दै थियो।
गएको शनिवारमात्रै तीनटा संस्थाले आयोजना गरेका तीजे पार्टीमा दारुको खोलो बगाइएको थियो। प्रायः तीजे कार्यक्रमको मुख्य प्रायोजक नै मदिरा उत्पादक कम्पनी थिए। तीजको ब्यानरको छेउपट्टि आकर्षक विज्ञापन राखेर आफ्नो ब्रान्डको बोतलको बिर्काे खोलाउने आइडिया त्यसै फुरेको होइन व्यापारीलाई। दरमा दारु नभई नहुने महिलाको जमात ठूलै भएपछि मन खोलेर यस्ता कार्यक्रमलाई प्रायोजन गरेका हुन्। शहरिया खानपिन संस्कृतिमा अनिवार्य बन्दै गएको मदिराले तीजलाई वशमा पारिसकेको स्पष्टै देखिन्छ। विवाहित हिन्दू नारीले पतिदेवको दीर्घायुका लागि मनाउने तीज पूर्णतः मनोरन्जनात्मक पर्वका रूपमा परिवर्तन भएको छ। मदिरापानबिना रमाइलो गर्नै नसक्ने पुस्ताको वर्चस्व बढ्दै छ। कुनै समय महँगा गहनाको प्रदर्शन गरेर आफूलाई अब्बल ठहर्याउन लागि परेका शहरिया महिलाहरू अहिले मदिराको ब्रान्डमा हैसियतको लडाइँ लडिरहेका छन्। 'फलानीले त यो ब्रान्डको खुवाई नि' भन्ने गफ टोल-टोलमा सुनिन थालिएको छ।
रमाइलो गर्ने बहाना खोज्नेका लागि तीज गतिलै अवसर भएको छ। किंवदन्तीअनुसार महादेव पति पाउन पार्वतीले पानी पनि सेवन नगरी व्रत बसेकी थिइन्। तर, यथार्थमा हुनेवाला 'महादेव'ले नै 'पार्वती'लाई मदिरा पान गराएका दृश्य हेर्न सकिने ठाउँ थुप्रै छन्। तीज आउनु दुईहप्ताअघि नै यी कलियुगका महादेव पार्वतीलाई दर खुवाउन पसिना काढिरहेका छन्। धेरैलाई पार्वती बनाउने सपना बाँडेकाको हालत पतला छ रे, अनि धेरैलाई महादेव बनाउनेहरूलाई भ्याई नभ्याई!
तीजको दिन भोकले काम गर्न सकिँदैन भनेर तीन दिनका लागि पुग्ने घाँस जम्मा गरेर घर पुगेपछि घटघट मोही पिएर आनन्दित हुन्छन्, यही देशका गाउँका महिला। दिनभरिको तीजको कार्यक्रमको थकान मेट्न मदिराको बोतलै बुत्याउँछन्, शहरिया महिला। दर भनेको सितिमिति भोक नलाग्ने खानेकुरा हो। परम्पराअनुसार उपलब्ध भएसम्म धेरै रुच्ने शुद्ध खानेकुरालाई दर भनिन्छ। तर, अहिले दर दरिलो नभए पनि दह्रो भने हुनैपर्छ।
![]() |