मरिगए थाक्दैनन् भाउजुहरू





सन्तोष न्यौपाने- वर्षदिनसम्म थन्केका मादलको ताना साउने संक्रान्तिपछि तानतुन पारेर कसिलो बन्छन्। दाहिने र देब्रेको ताल ठिक छ कि छैन, ट्याङ-टुङ बजाउन थाल्छन्। यी मादलले एक महिनाभर धान्नुपर्छ। भदौरे तीजका भाका मादलको तालसँग बग्न थाल्छन्।


जोर मादल घन्केपछि गाउँ नै उचालिएर आउँछ। खानपिन सकेर रातिराति छामछुम गर्दै ठूलाघरे र जिम्माल दाइका ठुल्ठुला आँगनमा कोचाकोच हुन्छ। समूह-समूह बनाएर तीज भाका झिक्ने प्रतिस्पर्धा नै चल्छ। मादलेका हातमा ठेला उठ्लान् तर कम्मर मर्काई-मर्काई नाच्ने भाउजुहरू मरिगए थाक्दैनन्। बरु जोसै-जोसमा टुक्का झिक्छन्-
नाच नाच मारुन
मादलको तालमा...
कुनै समय यस्तै थियो गाउँको तीज। एकादेशको कथा बन्दै गरेको तीजलाई धेरै मिस गर्छिन् अर्घाखाँची, खन गाविसकी लोक गायिक जमुना सनम। 'त्यस्तो तीज त कहिल्यै फर्किन्न होला,' उनी भन्छिन्, 'गाउँको तीजको आफ्नै संसार थियो।'
भदौ लागेपछि तीजको पञ्चमीसम्म गाउँका घरघरमा रातिराति गीत गाउने चलन थियो। अहिले पनि फाट्टफुट्ट हुने गर्छ। महिलासँग गाउँका केटाकेटीदेखि बुढापाकासम्म जम्मा हुन्थे रमाइलो हेर्न। वल्लो गाउँदेखि पल्लो गाउँसम्म पुग्थे पारखी। 'एक-डेढ घन्टा हिँडेर पनि गीत गाउँन हिँड्थ्यौं हामी,' जमुना सम्झन्छिन्।
आफैं पनि तीजको एल्बम निकालेकी जमुना पुराना तीज निकै रसिलो भएको अनुभव सुनाउँछिन्। वल्लो घर र पल्लो घर, एक गाउँ र अर्को गाउँको सम्बन्ध जोड्न माध्यम बनेको थियो तीज। दिनभर मेलापात गएका महिला एकै थलोमा बसेर दुःखसुख साट्ने माध्यम थियो। सञ्चारको माध्यम, सेवासुविधा नभएका बेला एकअर्काका भावना बुझ्ने माध्यम बनेको संस्कृतविद मोदनाथ प्रश्रित बताउँछन्। उनी भन्छन्, 'मान्छेहरू खेतीकिसानी मात्र गर्थे, एकै ठाउँ बस्ने, खाने गर्थे। बाहिर हिँड्ने चलन नभएका बेला तीज बेग्लै तरिकाले मनाइन्थ्यो।' एक गाउँबाट अर्को गाउँ बिहे गर्ने चलन थियो। सामूहिक भावनाबाट प्रेरित थिए गाउँले। मान्छेमा धार्मिक आस्था धेरै थियो। धर्मसँग जोडेर हेर्थे तीजलाई। गीतका भाका पनि त्यस्तै हुन्थे। पुरानो गीत सम्झँदै प्रश्रितले एक भाका निकाले-
भगवानलाई भेटेर केके पाउर ल्यायौ
बरिलै फूलपाती अक्षेता...
...
कहाँमा जान्छौ रानी चरी बगाल
बरिलै भगवानलाई भेटन...
पुराना भाकाले महिलाका सुखदुःखलाई समेटेको जमुना बताउँछिन्। विवाह भएर घर गएका चेलीका कुरा हुन्छन्। नयाँ घरमा पाएका दुःखका कुरा हुन्छन्। माइतीको सम्झनाका कुरा हुन्छन्। तीजका बेला पनि माइत जान नपाएका गुनासो गीतबाट पोक्छन् महिला-
शिरफूल लाएर माइत जाने बेलामा
दहिको ठेकी बोकेर बेसी मेलामा...
पारिवारिक सम्बन्धका विषय पनि आउँछन् तीजे गीतमा। घरमा सासु-ससुराका मात्र होइन, माइती दाइ भाउजुसँगका सम्बन्ध, उनीहरूका प्रगतिका कुरा पनि आउँछन्। छोरालाई स्कुल पठाउँदा छोरीलाई मेलामा पठाएको कुरा हुन्छन्।
जेठीमा भाउजुले वचन लाउँदा
घर मेरो छैन र रुन्छ मन धरिधरर..
...
जेठामा दाजुले सुकाएको बिसुन
भँगेरी चरीले मैदानमा लरिलरर...
सामाजिक र राजनीतिक परिवर्तनसँगै चाडपर्वमा पनि परिवर्तन देखिन थालेको प्रश्रित बनाउँछन्। २००७ सालको परिवर्तनसँग मान्छेहरू रोजगारीका लागि बाहिर हिँड्न थाले। उच्चशिक्षा लिन सहर पस्न थाले। यसले पनि गाउँको रौनक घटाउन थाल्यो। जहाँ बसेको छ, त्यहीँ चाडपर्व मनाउन थाले। द्वन्द्वले गाउँबाट सरह झर्नेको संख्या ह्वात्तै बढ्यो। मान्छे जहाँ गए पनि आफ्नो परम्परा संस्कृतिलाई भुल्न सक्दैन। त्यसैले गाउँमा भन्दा सहरमा तीजको चलहपहल बढेको प्रश्रित बताउँछन्।
गाउँमा पुगेको सेवासुविधाले पनि चाडपर्वमा असर गरेको छ। जमुनाले स्कुल पढ्दा सञ्चार माध्यम भनेको रेडियो नेपालमात्र थियो। गीत सुन्ने, रमाइलो गर्ने माध्यम अरू थिएन। यसैले पनि रमाइलोका लागि तीजमा झुम्मिन्थे। तर अहिले त्यस्तो अवस्था रहेन। यातायात सुविधा, बिजुली, घरमै बसी पचासौं च्यानल हेर्ने सुविधा छ। समूहमा भन्दा एक्लै रमाउने बानी बस्न थालेको छ। सिनेमाको प्रभाव र नगर संस्कृतिले गाउँको चाडपर्वलाई प्रभाव पारेको प्रश्रित बताउँछन्। गाउँबाट धेरै मानिस सहर पसेपछि सहरमा तीज मनाउने चलन बढ्दो छ। यसले संस्थागत रूप पनि लिँदै गएको छ। विभिन्न संस्थाको नामका हिरोहिरोइनलाई अगाडि लगाएर तीज मनाउने चलन बढ्दो छ। जमुना भन्छिन्, 'गाउँको आगनीमा नाचेको सम्झँदै, यहाँका होटलहरूको स्टेजमा नाच्नुपरेको छ।'