पृथ्वी राजमार्ग अवरुद्ध


गजुरी (धादिङ), असोज। पृथ्वी राजमार्गअन्तर्गत जोगीमारा गाविस-२ मौवाखोलानजिक तित्राङ भन्ने ठाउँमा आज बिहानदेखि सडक अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।

 
सडकमाथिबाट आएको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो भने निरन्तर पहिरो आइरहेकाले डोजरको सहायताले हटाउने कार्यसमेत प्रभावित भइरहेको जोगिमारा प्रहरीले जनाएको छ। केही दिन अघिदेखि परेको अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरोले सडक पुरिएपछि राति २ बजेदेखि सडक अवरुद्ध बनेको हो।

गजुरीबाट गएको डोजरले बिहानदेखि पहिरो हटाइरहेको छ। पहिरो निरन्तर बगिरहेकाले बाटो खुलाउन सकेको छैन। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार चितवनबाट डोजर ल्याएर हटाउने भनिए पनि डोजर आइपुग्न अझै केही समय लाग्छ।

सोमबारदेखि तीजका लागि हिँडेका यात्रु राजमार्गमा गएको पहिराका कारण गन्तव्यमा पुग्न सकेका छैनन्। जोगीमारा क्षेत्रमा गएको पहिराले रोकिएका यात्रु चिया र खाजासमेत खान नपाउँदा भोकभोकै छन्। पहिरो गएको ठाउँनजिक पलस छैनन्। काठमाडौंदेखि करिब ८५ किलोमिटर टाढा रहेको त्यस क्षेत्रमा अहिले सैयौँ गाडी अलपत्र परेका छन्।

यसैगरी एक सातादेखि लगातार परेको वर्षाका कारण राजमार्गका ठाउँठाउँमा गरी ५० भन्दा धेरै पहिरो गएको छ। पृथ्वी राजमार्गअन्तर्गत नै पर्ने गजुरी गाविसको गलौदीखोला, कालीखोलालगायत क्षेत्रमा यातायात एकतर्फी मात्र सञ्चालनमा आएको छ। रासस