चुनावी सरकारको नेतृत्व पनि हाम्रोः दाहाल



भोजपुर, आश्विन ३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापना नभए सरकारको नेतृत्व कांग्रेसले नपाउने बताए । 'संविधानसभा पुनःस्थापना नभए अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्दैन' अध्यक्ष दाहालले संचारकर्मीबीच भने- 'त्यो सरकारको नेतृत्व पनि हामी नै गर्छौं ।'
संविधानसभाको पुनःस्थापना कि नयाँ निर्वाचन, वा संविधान सभाको निर्वाचन कि संसदीय निर्वाचन भन्ने विषयमा दलहरूबीच विवाद चुलिएको बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनःस्थापना सहमति नभए पुनः संविधान सभाको निर्वाचन हुने बताएका छन् ।
असोज १ गते भोजपुर सदरमुकाम आउने पूर्व निर्धारित कार्यक्रम प्रतिकूल मौसमका कारण स्थगित गरी मंगलबार मात्र भोजपुर आएका अध्यक्ष दाहालले दलहरूबीच सहमति भए प्रधानमन्त्री बाबुराम भटराईले तत्काल सरकार छाड्ने बताएका छन् । 'राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीजीले कांग्रेस, एमालेका नेताहरूसित बढो गम्भीर भएर भनिसक्नुभा छ,' प्रधानमन्त्री बाबुराम भट्टराईलाई उद्धृढ गर्दै अध्यक्ष प्रचण्डले भने- 'चाँडो सहमति गर्नुस् म एकछिन पनि बस्न तयार छैन् भनिसक्नु भाछ । त्यसैले कांग्रेस एमालले नेताहरूसँग स्पष्ट भएर सहमतिका साथ राष्ट्रलाई निकास दिन सुझाव दिन्छु ।' संविधान सभा पुनःस्थापना गर्न सहमति भए पाँच बुँदे सहमति अनुरूप काँग्रेसको नेतृत्वमा सरकार निर्माण हुने उल्लेख गर्दै दलीय सहमति भए तत्काल एक मिनेट पनि सरकारमा नबस्ने प्रधानमन्त्रीले दलहरूबीच प्रष्ट रूपमा भनिसकेकाले जसरी भए पनि राजनीतिक सहमति हुनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष प्रचण्डले संविधानसभा पुनःस्थापना गरेर विवादित विषयमा ८० प्रतिशत सहमति भइसकेकाले बाँकी २० प्रतिशत सहमति गरी संविधान जारी गर्नुपर्ने पक्षमा रहेको बताए । दाहालले जातीय पहिचानसहितको संघीयता, प्रदेशको संख्या र नामकरणमा विवाद भएकाले संविधानसभाको अवसान भएको बताए । संविधान सभा पुनःस्थापना भए व्यवस्थापिका संसदको निर्वाचन गर्नुपर्नेमा आफूहरूको जोड रहेको समेत जनाए ।
भोजपुर जिल्ला पार्टी कार्यालयद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सकिएपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूको जिज्ञासामा बुधबार अपराह्न राजधानीमा बस्ने दलहरूबीच ठोस निर्णय हुनसक्ने जानकारी दिए । हालसम्म अन्य दलहरूले संविधान सभाको सट्टा ससदीय निर्वाचनमा जोड दिएकाले सहमति हुन नसकेको जनाए । संविधान सभाको पुनःस्थापना वा नयाँ संविधान सभा निर्वाचनमा दलहरूबीच सहमति नभए काँग्रेसको नेतृत्वमा सरकार नबन्ने दाबी गरेका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भोजपुर आएका उनले कार्यकर्ता र स्थानीयवासीलाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीले १५ दिनका लागि भए पनि संविधानसभा पुनःस्थापना गरी संविधान जारी गर्ने पक्षमा रहेको बताए । 'आजसम्म संविधानमा सहमति गर्ने प्रयास गर्‍यौं, यही सहमति नभए भोलिदेखि सविंधानमा सभामा सहमति गर्दैनौं,' प्रचण्डले भने । अन्य दलहरू निर्वाचनमा जाने पक्षमा देखिएकाले सहमति हुनेमा आशावादी भएको विचार व्यक्त गरे । त्यसपछि सरकारको नेतृत्वको विषयमा छलफल हुने जानकारी दिए । राजधानीबाट मंगलबार अपराह्न माउन्टेन एयरको हेलिकप्टरबाट माओवादी पूर्वी कमाण्ड इन्चार्ज गिरिराजमणि पोखरेलसँगै भोजपुर आएका नेता प्रचण्ड साँझ राजधानी फर्किए ।