हवाई र स्थलमार्ग अवरुद्ध हुँदा पर्यटक अन्यत्रै मोडिए
![]() |
पोखरा, असोज ३- लगातारको झरीले करिब एक सातादेखि पोखरा-जोमसोम हवाई रुटमा उडान हुन सकेको छैन। त्यसैगरी पहिरोले गर्दा बेनी-जोमसोम सडक खण्ड पनि अवरुद्ध छ। हवाई र स्थलमार्ग दुवै अवरुद्ध भएपछि मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पर्यटक मुक्तिनाथ नै नपुगी पोखराबाटै अन्यत्र मोडिएका छन्।
पोखरा-जोमसोम रुटमा उडान गरिरहेको तारा एयरलाइन्सले खराब मौसमका कारण ६ दिनदेखि कुनै पनि उडान हुन नसकेको जनाएको छ। ताराका पोखरास्थित स्टेसन म्यानेजर राम लामिछानेका अनुसार दैनिक कम्तीमा ५ वटाको अनुपातमा उडान भइरहेको पोखरा-जोमसोम रुटमा विगत ६ दिनदेखि कुनै पनि उडान भएका छैनन्। ताराले पछिल्लो समय यो रुटमा दैनिक ८ वटासम्म उडान गरेको थियो।
'लगातारको झरीका कारण हरेक दिन उडान स्थगित भएका छन्, यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या परेको छ,' ताराका म्यानेजर लामिछानेले भने, 'अझै कतिदिन उडान स्थगित हुने हो भन्ने अन्योल छ। मौसम हेर्दा अझै लम्बिने संकेत छ।'
जोमसोम विमानस्थलका म्यानेजर शिव शर्माले ६ दिनदेखि मुस्ताङमा हवाई सम्पर्क नहुँदा अन्नपूर्ण क्षेत्रको पदमार्गसहित मुक्तिनाथ दर्शन गर्न गएका पर्यटकले सास्ती भोग्नुपरेको बताए। 'मौसम खराब भएपछि ६ दिनमा करिब ३ दर्जन उडान स्थगित भइसके, ताराका जहाजले दैनिक ४ देखि ८ वटासम्म उडान भरिरहेका थिए,' शर्माले भने, 'मौसम सफा नहुन्जेलसम्म अवस्था यस्तै रहने देखिन्छ।'
उनले बेनी-जोेमसोम सडक खण्डको ठाउँठाउँमा पहिरो झरेको र खराब मौसमले हवाई मार्ग अवरुद्ध हुँदा समस्या भइरहेको बताए। 'बेनी-जोमसोम खण्डमा पनि समस्या छ, स्थलमार्ग पनि सहज नभएको र हवाई यातायात पनि हुन नसक्दा पर्यटक समस्यामा छन्,' उनले भने, 'लगातारको झरीले गर्दा स्थलमार्गमा पैदल हिँड्न पनि कठिन छ।'
बेनी-जोमसोम खण्डमा यातायात सञ्चालन गरिरहेका व्यवसायीले लगातारको झरीका कारण यात्रु समस्यामा परेको बताए। अहिले बेनी-जोमसोम खण्डको १३ किलोमिटर दूरीमा मात्र कुनै समस्या नरहेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका निवर्तमान अध्यक्ष गोपाल भट्टचनले बताए। 'यहाँदेखि १३ किलोमिटर दुरीमा मात्र कुनै समस्या छैन, पानीले बाटो चिप्लो बनाए पनि अहिलेसम्म हिलोबाहेक पहिरो झरेको छैन,' उनले भने, 'तर त्यँहाबाट उता निकै समस्या छ। ५/६ किलोमिटर हिँडेपछि मात्र सवारी पाइन्छ, त्यो पनि पुरै दुरी गुड्दैन।'
पहिरोका कारण बेनी-जोमसोम खण्डमा सवारी गुडाउन निकै मुस्किल भइरहेको उनले बताए। 'केही दिनअघिसम्म भिरकाटेमा मात्र समस्या थियो, तर अहिले ठाउँठाउँमा पहिरोले अवरुद्ध गरेको छ,' उनले भने, 'स्थलमार्ग सहज भएको भए हवाई उडान हुन नसक्दा पनि खासै समस्या पर्ने थिएन, तर अहिले हवाई र स्थल दुवैमार्गमा समस्या छ।' उनले चिप्लोबाटोमा हिँड्नुपर्दा पर्यटकले समस्या खेपिरहेको बताए।
जोमसोम जाने हवाई र स्थल दुवैमार्ग अवरुद्ध भएपछि मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पर्यटक पोखराबाटै अन्यत्र मोडिएको पर्यटन व्यवसायीले बताए। भारतीय पर्यटकलाई मुक्तिनाथ लगेर दर्शन गराइरहेका सत्यम टुर्स एन्ड ट्राभल्सका प्रकाश पौडेलले ७२ जना भारतीय पर्यटक तीनदिनको पर्खाइपछि मंगलबार जोमसोम नगई पोखराबाटै काठमाडौं फर्केको जानकारी दिए।
'सत्यमबाट बुकिङ गरेका ७२ जना भारतीय पर्यटक जोमसोम जान तीन दिनदेखि पोखरामा पर्खिएर बसेका थिए, तर उडान नभएपछि मंगलबार काठमाडौं गए,' पौडेलले नागरिकसँग भने, 'अन्य ट्राभल एजेन्सीबाट बुकिङ गर्नेहरुको अवस्था पनि यस्तै छ।'
उनले तीन दिनअघि नै उडानका लागि जहाज चार्टर गरेका ती पर्यटक योजनाअनुसार जोमसोम जान नपाएपछि पोखराबाट काठमाडौं मोडिएको बताए। 'मुक्तिनाथ दर्शन गरेर फर्केपछि मात्र काठमाडौं हुँदै जनकपुर घुम्ने उनीहरुको प्याकेज थियो, तर मुक्तिनाथ जानका लागि तीन दिन पोखरामा बिताउनुपर्यो,' उनले भने, 'यसले गर्दा जनकपुरको यात्रा नै रद्द गर्ने मनस्थितिमा उनीहरु पुगेका छन्।'
पोखरामा धेरै दिन बिताउनुपर्दा उनीहरुको समय र खर्च बढेको पौडेलले बताए। 'काठमाडौं रहँदासम्म मौसम खुले फेरि पोखरा फर्किएर जोमसोम जाने त भनेका छन्, तर अहिलेको जस्तै अवस्था रहे त्यो पनि सम्भव हुँदैन,' उनले भने। उनले सत्यमकै अर्को १९ जना भारतीय पर्यटकको टोली पनि निर्धारित समयमा मुक्तिनाथ पुग्न नसकेपछि काठमाडौं फर्केको बताए।
![]() |