अविरल वर्षाले एक चौथाइ उडान रद्द



सुशील भट्टराई, काठमाडौं, असोज २- अघिल्लो रातिदेखि परेको अविरल वर्षाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक चौथाइ उडान-अवतरण प्रभावित भएको छ। वर्षाकै कारण प्रधानमन्त्री बाबुराम भट्टराईको उडानसमेत रद्द भयो।


विमानस्थलका अनुसार आन्तरिक उडान झन्डै २५ प्रतिशत रद्द भए पनि अन्तर्राष्ट्रियतर्फ खासै प्रभाव परेन। राजधानीमा अविरल वर्षा भए पनि त्यसैका कारण उडान-अवतरण प्रभावित भने भएको होइन। काठमाडौं विमानस्थलबाट जुन-जुन गन्तव्यका लागि उडान तालिका राखिएका थिए, त्यहाँका विमानस्थलमा अविरल वर्षा हुँदा उडान रद्द भएका हुन्।
'प्रधानमन्त्रीज्यूको बिहान पोखरा जाने उडान तालिका थियो, तर उतैतिर अधिक वर्षा भएका कारण उडानै रद्द भयो,' त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले सोमबार नागरिकसँग भने, 'करिब दुई घन्टापछि उहाँ अर्को उडानमा पोखरा जानुभयो।'
विमानस्थलका अनुसार प्रधानमन्त्री भट्टराईको बिहान १०ः१० बजे बुद्ध एयरको जहाजबाट पोखरा जाने तालिका थियो। तर, पोखरामा पनि अविरल वर्षा भइरहेपछि प्रधानमन्त्रीलाई विमानस्थल नआउन जानकारी गराइएको थियो।
'पोखरा विमानस्थलको मौसम खुलेपछि प्रधानमन्त्रीज्यूलाई उडानमा जान बोलायौं, उहाँ आउनुभयो,' महाप्रबन्धक सुमनले भने, 'त्यसपछि अतिविशिष्ट कक्षबाट उहाँ जहाज चढ्न जाँदै हुनुहुन्थ्यो, फेरि उताबाट मौसम खराब भएको सूचना आयो र त्यस्तै १५ मिनेटजति रोकिनुभयो।' त्यसपछि प्रधानमन्त्री भट्टराई करिब १२ बजेतिर बुद्ध एयरकै अर्को जहाजबाट पोखरा गएको उनले जानकारी दिए।
त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चुडालले अविरल वर्षाका कारण २५ प्रतिशतजति आन्तरिक उडान रद्द भएको जानकारी दिए। 'पहाडी भेग र तराईका केही विमानस्थलमा उडान रद्द भए,' उनले भने, 'अन्य विमानस्थलमा बढीमा एक घन्टासम्म डिले भए पनि उडान भए।'
उनका अनुसार मंगलबार बुद्ध र यती एयरलाइन्सका कुनै पनि माउन्टेन फ्लाइट हुन सकेनन्। सोलुखुम्बुको लुक्लाका लागि मंगलबार करिब १५ उडान राखिएका थिए। तीमध्ये १० जति भएको र बाँकी भएनन्। पहाडी भेगका लामिडाँडा र फाप्लुमा कुनै पनि उडान भएनन्।
त्यसै गरी तराईका भरतपुर र सिमरामा पनि उडान भएनन्। बुद्धका सिमरा जानुपर्ने तीन र भरतपुरका दुई तथा तुम्लिङटारका एक उडान रद्द भएका थिए। उता नेपालगन्ज, भैरहवा, धनगढी, विराटनगर, जनकपुर र भद्रपुरतर्फका सबै उडान भएका थिए।
विमानस्थलका अनुसार बुद्ध एयरबाट बिहान साढे ८ बजे पोखरा गएका उद्योग मन्त्री अनिल झा पनि उतैको मौसम खराब भएपछि अवतरण नगरी फर्किएका थिए। यतीका एउटा उडान पनि पोखराबाट डाइभर्ट भएर काठमाडौंमै फर्किएको थियो।
यतीका वरिष्ठ बिक्री तथा बजार प्रबन्धक विनय शाक्यले पोखरातर्फका आफ्ना उडान करिब दुई घन्टाजति डिले भएको बताए। बिहानका एक/दुई उडान ढिला भए पनि अरू नियमित भएको उनले जानकारी दिए। यतीले पोखराका लागि दैनिक सात उडान गर्छ।
उनका अनुसार यतीको भरतपुरको एक उडान रद्द भएको थियो। त्यसै गरी यतीअन्तर्गतकै अर्को वायुसेवा कम्पनी तारा एयरको तुम्लिङटार, फाप्लु, भोजपुर र जोमसोमका एक-एक उडान रद्द भएका थिए।
यहाँ अविरल वर्षा भए पनि अन्तर्राष्ट्रिय उडान प्रभावित भएनन्। अन्तर्राष्ट्रिय उडान गर्ने मध्यम किसिमका जहाजलाई यहाँ अवतरण गर्न २ हजार ८ सय मिटर र त्यसभन्दा ठूला जहाजलाई ३ हजार २ सय मिटर 'भिजिबिलिटी' आवश्यक पर्ने विमानस्थलले जनाएको छ।
जहाजको ककपिटभित्र बसेका पाइलटले सिधा अगाडि हेर्दा जति सफा देख्छ, त्यसलाई भिजिबिलिटी भनिन्छ। त्रिभुवन विमानस्थलको नियमअनुसार अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने बेला मध्यमखाले पाइलटले सिधा अगाडि २ हजार ८ सय मिटर र ठूलाले ३ हजार २ सय मिटर सफा देख्नैपर्छ। त्यसपछि मात्र अवतरण गर्न सकिन्छ। १ हजार ६ सय मिटर भिजिबिलिटी हुँदासम्म आन्तरिक उडान गर्ने साना जहाजलाई कुनै समस्या हुँदैन। माउन्टेन फ्लाइट एक दर्जन बढी हुन्छन्।
त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ। सामान्य मौसमका बेला बिहान करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज अवतरण गर्छन्।
त्रिभुवन विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ३ सयजति उडान-अवतरण हुने गरेका छन्। यिनमा २ सय ५० जति आन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान-अवतरण हुने गर्छन्।