पुरूष हुनुको पीडा

घटना १— बर्दियाका गंगाबहादुर धामी संयुक्त अरबको दुबईमा काम गर्न गएको पाँच महिनामै घर फिरे । कणर्ाली ओभरसिजबाट दुबई उडेका उनले काम-कम्पनी थेग्न सकेनन् र झन्डै मानसिक विचलन खेप्दै गत बुधबार उनी काठमाडौं उत्रिए । काठमाडौं एयरपोर्ट उत्रँदा जीउज्यानको एकसरो लुगा र सानो प्लास्टिके झोलाबाहेक उनीसँग केही थिएन । कहाँ जाने, कता जाने, कसरी जाने केही पत्तो थिएन । गोजीमा पैसा थिएन, मनमा आँट थिएन । एयरपोर्टमा भेटिएका एक हितैषीको भरमा उनी नयाँ बसपार्कको होटल शर्मामा एक रातलाई बास बस्न गए । धामीको बिचल्ली हविगतबारे वैदेशिक रोजगार विभागमा पनि रिपोर्ट भैसकेको रहेछ । त्यही सूचनाका भरमा धामीलाई दुबई उडाउने एजेन्ट नारायण पोखरेल सम्पर्कमा आए । र फेरि एजेन्ट शैलीमै पोखरेलले धामीलाई सम्झाइ-बुझाइ गरे— 'तिमीलाई विदेशको अर्को राम्रो ठाउँमा पठाउँला, अहिले गाउँ र्फक ।'

घटना २— बागलुङ, रूकुमको सिमानामा पर्ने बोहरा गाउँका काशीराम रेग्मी पनि वैदेशिक रोजगारीको सपनामा चार महिनाअघि -मे १०) खाडीको कुवेततिर उडे । आफ्ना ज्वाइँले पठाएको भिसा, ज्वाइँका साथीले सिकाएको उपाय र एजेन्टहरूको गोलचक्करमा परेर घरको काममा गएका उनी यो अवधिमा पाएको सास्ती त्यति सजिलै बक्न सक्दैनन् । कुवेतको कुर्तुवा भन्ने ठाउँका अरबी मालिक -घर नम्बर २७) कहाँ तीन महिनासम्म भाँडा माझ्ने, भुइँ बढार्ने, ट्वाइलेट सफा गर्ने, लुगाफाटा धुने काम गर्दा उनले दिनहुँ दुई-चारपटक गाली अथवा कुटाइ खेप्नुपथ्र्यो । काठमाडौं छँदा एजेन्टहरूको माखेसाङ्लोले होटलमा वेटरको कामका लागि ८५ कुवेती दिनार मासिक तलब दिनेसहितको भर-भरोसा उनलाई दिलाएको थियो । तर उता न काम भनेको थियो, न काम गर्दाको तलब उनले कहिल्यै देख्न पाए । त्यसपछि भागेर कुवेती दूतावासमा पुगेका उनी १४ दिनसम्म दूतावासमै आश्रति बने । दूतावासले काम, कम्पनी र तलबको सोधपुछ गर्नुको सट्टा अगष्ट २५ मा खैतान जेल पठायो । जेलमा २१ दिन बसेपछि गत बिहीबार उनी काठमाडौं फर्किए । जेलमा टाटेपाटे पारेर काटिएको केश, ज्वरोले थलिएको शरीर र एकसरो लुगाका भरमा काशीराम पनि गत बिहीबार बिहान काठमाडौं एयरपोर्ट उत्रिए । यता एयरपोर्टमा न थिए कोही आफन्त, न कोही उद्धारक । 

त्यो 'एकसरो' हविगतमा कुनै महिला विदेशबाट आएमा एयरपोर्टमै तानातान देखिन्छ, उद्धार गर्नेको नाउँमा । एयरपोर्टमा महिला र बालिका उद्धारका खातिर धेरै खालका काउन्टर खुलेका छन् । तर पुरूषको भने कहीं कतै कोही छैन । हो, काशीराम एक पुरूष थिए, जसका लागि उद्धारक बनिदिने जीओ/एनजीओ/आईएनजीओ कोही कतै थिएन । वैदेशिक रोजगारीबाट फिरेका कामदारको सहयोग/उद्धारमा खुलेको प्रवासी नेपाली समन्वय समितिका प्रतिनिधि जेपी सापकोटाले काशीरामको 'बिचल्ली-हविगत' पत्तो पाएछन् । काशीरामको उद्धार र भरथेगका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डदेखि विभागसम्मको जेपीको कुदाकुद यो साताभर जारी रहेकै छ । गोंगबुको एउटा बागलुङे होटलमा आश्रय लिएर बसिरहेका काशीराम यतिखेर आफ्नो बोहरा गाउँसम्म जाने खर्चको जोहो जुटाउन पर्खिरहेका छन् । 

धामी र रेग्मीका यी दुई घटना अहिले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टेबलमा बहस-मामला बनेका छन् । श्रमका सबै नियम र प्रक्रिया पूरा गरेर काठमाडौं एयरपोर्टबाटै विदेश उडेका दुबै पीडित कल्याणकारी कोष अथवा अन्य सहयोगी निकायको नजरमा पर्न नसक्ने रहेछन् । किनभने कोषको नियममा वैदेशिक रोजगारीमा गएर कुनै अङ्गभङ्ग भएमा अथवा प्रत्यक्ष क्षतिका नजिरहरू देखिएमा मात्रै कोषबाट सरसहयोग गर्न सकिँदो रहेछ । 'मानसिक विचलन' वा 'पागल भएको स्थिति'मा पनि कल्याणकारी कोष कुनै प्रकारको सहयोग गर्नमा बाध्यकारी नबन्ने रहेछ । अर्कातिर संस्थागतको साटो 'व्यक्तिगत' तौरतरिकामा रोजगारीमा गएर बिचल्ली बन्दै फिर्नेहरूका लागि पनि कोषले सहयोग गर्न नसक्ने रहेछ । यी दुबै 'गर्न नसकिने' नजिरका नमुना पात्र बनेका रहेछन्— धामी र रेग्मी । 

यसबेला वैदेशिक रोजगार प्रबर्द्धन बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले एउटा बिचल्ली बसेको होटलको खानपिन खर्च अथवा गाउँसम्म पुग्ने खर्च जुटाइदिनु भनेको 'मानवीय आधार'मात्रै हुनेरहेछ । तर सरकारी नियम, कानुन र पद्धति पहिल्याउँदै वैदेशिक रोजगारीमा गएर अलपत्र बन्दै फिरेका धामी र रेग्मीका लागि उद्धारको निश्चित मापदण्ड पहिल्याउने दिशामा कहीं कतै प्रावधान रहेनछ । यो अवस्थामा अब कि त व्यक्तिगत तहमा जानेका लागि श्रम स्वीकृति नदिने, कल्याणकारी कोषमा पैसा नलिने र व्यक्तिगतलाई पूरै 'प्रतिबन्ध' गर्ने/गराउने व्यवस्था हुनुपर्छ । होइन भने राज्यले तोकेका सबै नियम पूरा गरेर रोजगारीमा गएको नागरिकका दुःख/कष्टमा पनि 'सुनुवाइ' हुने व्यवस्था तय हुनुपर्छ । यसतर्फ अब केही विचार्नुपर्ने संकेत देखिएको छ ।

फेरि बोहरा गाउँका काशीराम रेग्मीले वैदेशिक रोजगारीमा देखेको सपनालाई सुनिहेरौं । गाउँमा खेतीपाती गरेर जीवन निर्वाह गर्दै आएका ३४ वर्षे रेग्मीले १० कक्षा पढेका रहेछन् । कलिला तीन छोरा र श्रीमतीसहितको परिवार दुःखजिलो गरेर जीवन निर्वाह गरिरहेका बेला कुवेतमा रहेका उनका आफ्नै बहिनी-ज्वाइँ बलिभद्र अधिकारीले जेठानको पासपोर्ट कपी लगेका रहेछन् । त्यही गोलचक्करमा 

कुवेतमै रहेका अर्का एजेन्ट गुल्मीका ज्ञानप्रसाद काफ्लेले भिसा पठाएका थिए भने ज्ञानप्रसादका आफन्त एजेन्ट दिपेश आचार्यलाई काशीरामले काठमाडौंमा ६० हजार रूपैंया बुझाएका थिए । 

फेरि यो ६० हजार रूपैयाँको कथा पनि उस्तै छ । गाउँमा रहेका आफ्ना ७ वटा बाख्रा बेचेर र ३० हजार रूपैयाँ चर्को ब्याजमा ऋण लिएर काशीरामले विदेशिने खर्च जोहो गरेका रहेछन् । यसरी भाग्य चिठ्ठाजस्तो बनेको वैदेशिक रोजगारी काशीरामका लागि ऐंठन भैरहने सपनाझैं बनेको छ । त्यही भएर बितेको चार महिनाको बुहार्तन र ऐंठन काशीराम सुनाउन नसक्ने भएका छन् । बरू उनी गोंगबु 

छेउको बागलुङे लजमा बसेर आकाशतिर हेर्दै रोइरहेका छन् ।