लोग्नेमुखी संस्कृतिको उपज
![]() |
निर्मला शर्मा
संस्कृतिका कारण महिलाहरू सदियौदेखि पिल्सिएका छन् । तीज पनि त्यसैको एउटा उदाहरण हो । पुरूषको आयु बढाउन महिला वर्त बस्नु तर महिलाका बारेमा पुरूषप्रधान समाजले वास्तासमेत नगर्नु भनेको अहिले पनि समाजमा महिलाको समान र स्वतन्त्र अस्तित्व छैन भन्ने हो । अर्थात अहिले पनि पुरूषविना महिलाको अस्तित्वको कल्पना गर्न सकिन्न । यही संस्कृतिलाई बलियो बनाउन समाजले बनाएका तानाबानमध्ये तीज पनि एक हो । आजको समयमा पनि लोग्नेको आयु बढाउने भन्ने नाममा निराहार व्रत बस्नु कुनै बेलाको सतीप्रथा जस्तो कुसंस्कृतिकै निरन्तरता हो । आजको एक्काइसौ शताब्दीमा हामी कस्तो समाज बनाउन खाज्दैछौ, जहाँ पुरूषको आयु लामो हुनुपर्ने महिलाका बारेमा वास्तै नगरे हुने ? यो गम्भीर विभेद होइन र ? त्यसैले सामान्य रूपमा हेर्दा तीज एउटा रमाइलो गर्ने चाड हो जस्तो लागे पनि यस्ता पर्वले महिलाको स्वतन्त्र अस्तित्व र स्वामित्व दुवैलाई स्विकार गदर्ैैन ।
हरेक क्षेत्रमा महिलाको सहभागिता पुरूषसरह हुनुपर्ने माग भइरहेका बेला महिला आफैले यो पर्वको महत्वलाई बढाउँदा कतै हामी त्यही असमान र विभेदपूर्ण परम्परालाई मान्यता दिन खोजिरहेका त छैनौ भन्ने आभास हुनथालेको छ । जबसम्म समाजमा महिलाकोे समान अस्तित्व स्विकार्य हँुदैन, तबसम्म हामीले समतामूलक समाजको निर्माण गर्न सक्दैनौ । त्यसैले परम्परालाई जोगाउने नाममा महिलाले महिलामाथि शोषण हुने यस्ता गतिविधिलाई अस्विकार गर्नुपर्छ । नभए परम्पराका नाममा भित्रिएका यस्ता परम्परालाई परिमार्जन गर्नु जरूरी छ ।
कुनै बेला महिलालाई घरबाट निस्कन वर्षदिनको तीज कुर्नुपथ्र्यो । माइत जान तीज नै आउनुपथ्र्यो । एकसरो लुगा बदल्न पनि पर्व नै आउनुपथ्र्यो । अहिले पनि गाउँ र दुर्गम क्षेत्रका महिलालाई यो समस्या हुँदै नभएको होइन । तर धेरै गाउँ, सहरका पढेलेखेका महिलामा यो समस्या थोरै छ । सम्पतिमा महिलाको अधिकार स्थापित हुने क्रम बढ्दो छ । साक्षरता दर पनि बढ्दो छ । सशक्तीकरण बढ्दो क्रममा छ । तर आश्चर्यको कुरा, पतिको आयु बढाउने भ्रममा महिलाको अस्तित्व नै अस्विकार गर्ने तीज मनाउने प्रचलन झन् बढ्दै गएको छ ।
समय बदलिएको छ । अन्यायका बारेमा बोल्न वर्षदिनमा आउने तीज नै कुर्नु पर्दैन । अब महिलाहरू अन्याय सहेर बस्दैनन्, आवश्यक परे उनीहरू विद्रोह गर्छन् । अधिकार खोज्ने प्रवृत्ति बढेको छ । सबेै कुरा समयअनुसार बदल्नुपर्छ भनेर विभिन्न आन्दोलन भएका छन् । तर तीजको हकमा यसलाई परिमार्जन गर्नुपर्नेमा महिलाले आफैमाथि व्यंग्य गरेर तीज मनाउने क्रम दिनहँु बढ्दो छ ।
तीजका नाममा बनाइएका गीतहरू त यति विभेदकारी छन् कि तीमध्ये धेरैले मनोरञ्जनका नाममा महिलाको अस्तित्व र गरिमाको नै खिल्ली उडाउँछन् । महादेवजस्तो पति पाउन, पतिदेवको आयु बढाउन मात्रै होइन, अब त महादेवलाई पुकारेर 'मलाई कहिले त्यस्तो पति दिलाइदिन्छौ' भनेर अनुरोध गरेका गीतहरू बज्न थालेका छन् । तीजमा रमाउने नाममा महिलाले कम्मर मर्काइ-मर्काइ नाच्दा आफू के भनेर नाचिरहेकी छु र त्यसको सन्देश के हो भनेर पनि सोच्नुपर्छ । आफू भोकै बसेर, रातो सारीमा राम्री देखिएर नाचेको गीतको मर्मचाहिं पुरूषप्रधान समाजमा महिलालाई अझै हेपेर व्यवहार गर भन्ने खालको हुनुहुन्न ।
पञ्चायतकाल र त्यसयता पनि महिला मुक्तिसंग जोडेर तीजका गीत बज्ने गर्थे । अहिले त्यो पनि छैन । अहिले त केवल उन्मुक्तिका नाममा यस्ता गीतहरू छन्, जसले न महिला आन्दोलनलाई टेवा दिनसकेका छन्, नत देशको संस्कृतिमा सुधार गर्नमा नै सहयोग गरेका छन् । मनोरञ्जनका नाममा महिलालाई प्रयोग गरेर समाजमा उनीहरूको छवि झन् धमिलो बनाउने उद्देश्यले प्रयोग हुनथाल्यो, तीज ।
सांस्कृतिक पर्वका नाममा हुने यस्ता भेटघाटलाई महिलाहरूले उपलब्धिमूलक बनाउनु जरूरी छ । अहिले पनि महिलाहरू विभिन्न खाले हिंसा सहेर बस्न बाध्य छन् । घरको काम महिलाकै जिम्मामा छ, चाहे ती पढेलेखेका नै किन नहुन् । घरपरिवार सम्हालेर बच्चा हुर्काउने काम पनि महिलाले नै गर्नुपर्छ । त्यति गरेर घर बाहिरको काममा महिलाले पुरूषसंग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । सरकार, राजनीति, निजामती, पत्रकारिता, प्रहरी, लगायतका क्षेत्रमा महिलाको संख्या एकदमै न्यून छ । तीजलाई महिलाले यस्ता विषय बहसमा ल्याउने मञ्चको रूपमा प्रयोग गर्नुपर्छ । महिला सशक्तीकरणका विषयलाई समावेश गरियो भनेमात्रै यस्ता भेटको अर्थ हुन्छ, नभए पुरूषकै प्रशंसा र उनीहरूकै आयु बढाउने पुकार गरेर आफ्नो अस्तित्व मेटाउन थप टेवा दिने यस्तो पर्व एक महिनासम्म मनाउनुको अर्थ हुन्न ।
तीजमात्रै होइन, आफू भोको बसेर लोग्नेको आयु बढोस् भनेर कामना गर्ने वा राम्रो केटा पाउने लोभमा व्रत बस्ने हास्यास्पद प्रचलनलाई मलजल गर्ने कैयौ परम्परा समाजमा विद्यमान छन् । दुर्भाग्य, शिक्षित र पढेलेखेका भनाउने महिलाहरू पनि यही प्रचलनका पछि दौडिरहेका छन् । परम्परागत रूपमा हेर्दा तीज महिलालाई आत्मनिर्भर हुन नदिएर लोग्नेमुखी बनाउने संस्कृतिको एउटा उपज हो । त्यसैले तीजजस्तो पर्वका कारण महिलामाथि हुने सामाजिक शोषणको अन्त्य हुन नसकेको हो कि त्यस बारेमा पनि सोच्ने कि ?
तीजलाई महिलाहरूले खुसी बाँड्ने अवसरका रूपमा लिनुपर्छ, महिला मुक्ति आन्दोलनको अंगको रूपमा मनाउनुपर्छर् । व्रत बस्ने कुसंस्कार छाडेर रमाइलो गर्ने अवसरमा बदल्नुपर्छ । पशुपतिमा लाइन लागेर, पञ्चमीको पूजा गरेर लोग्नेको आयु बढ्ने र त्यसपछि महिलाका सबै समस्या समाधान हुने भए अहिलेसम्म कति लाख महिलाले यो काम गरे
होलान् ? तर आज पनि नेपाली समाजमा महिलामाथिको अत्याचार बढिरहेको छ । त्यसैले तीजमा भोकै बसेर पुरूषको आयु बढाउने प्रतिस्पर्धामा लाग्नुभन्दा महिलाको यति ठूलो भेटघाटलाई महिला मुक्ति आन्दोलनको शक्तिको रूपमा परिणत गर्न सक्यो भने महिला-पुरूष सबैको भलो हुन्छ र सबैको आयु बढ्छ ।
![]() |