'जातीय राजनीतिले देशलाई राम्रो गर्दैन’



कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ पार्टीले राजनीतिक निकासका लागि ठोस एजेन्डा अघि सार्न नसकेको र सशस्त्र द्वन्द्वकालमा माओवादीद्वारा कब्जा सम्पत्ति फिर्ता गराउन कुनै चासो नदिएकामा पार्टी नेतृत्वसित असन्तुष्ट छन् । त्यही कारण उनी पार्टी बैठकमा समेत लामो समयदेखि जान छाडेका छन् । पार्टीको नीति, सिद्धान्त र विचारलाई छोडेर मुलुकमा जनजातिको छुट्टै पार्टी खोल्न भइरहेको गतिविधिले समेत उनलाई निराश बनाएको छ । मुलुकको राजनीतिक संकटको निकास, कांग्रेसको आन्तरिक राजनीति र जनजातिको छुट्टै पार्टी गठन हुन लागेको बारेमा कांग्रेस नेता गुरूङसित कान्तिपुरकाबलराम बानियाँ र कुलचन्द्र न्यौपानेले शनिबार गरेको कुराकानीः
किन लामो समयदेखि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अनुपस्थित रहनुभएको हो ?
पार्टीमा जे भइरहेको छ, त्यसमा मेरो केही चित्त दुखाइ छ । कहिलेकाहीँ बैठक बोलाउँदा २४ घन्टाअघि पनि खबर नगरी एकैचोटि एसएमएसको भरमा बोलाइन्छ । घरमा हुँदा प्रायः म मोबाइल बन्द गर्छु । त्यसैले समयमा बैठकका बारेमा खबर पाउँदिनँ । फेरि पार्टी बैठकमा मैले आफूलाई लागेका केही कुरा राखेको थिएँ । म आफैं द्वन्द्वपीडित पनि हो, पार्टीका धेरै साथी र सर्वसाधारण जनता द्वन्द्वबाट पीडित छन् । मेरो र परिवारका (भाइ, बहिनी, भतिजो) को सबै जग्गाजमिन एकै ठाउँमा छ । त्यो सबै धेरै समयदेखि माओवादीको कब्जामा छ । आफूले कमाएर राखेको धानसमेत माओवादीले लुटेर लगेका थिए । पछि जग्गाजमिन माओवादीले बाँडेर लिए । मैले बैंकबाट ऋण लिएर लगाएको चिया बगानमा चियाका बोट ठूला रूख नै भइसकेका छन्, पुनः तिनलाई हटाएर चिया लगाउनुपर्छ । मजस्तै पार्टीका धेरै साथी र हजारौं सर्वसाधारणको जग्गाजमिन अहिले पनि माओवादीको कब्जामा छ । यही विषयमा मेरै नेतृत्वमा रहेको द्वन्द्वपीडित समाजले पार्टीमा ज्ञापनपत्र बुझाएको थियो । त्यस विषयमा पार्टीको बैठकमा तीन दिनसम्म छलफल पनि भयो । तर पार्टीले केही निचोड निकाल्न सकेन । पार्टीमा एक जना केन्द्रीय सदस्यले माओवादीद्वारा कब्जा गरिएको सम्पत्ति फिर्ताको सवाललाई बेमौसमको गीतसमेत भन्न पछि परेनन् । तर, त्यसमा सभापतिज्यूले प्रतिवाद गर्नुभएन । बेमौसमको गीत भनेपछि मलाई चित्त दुख्यो । पार्टी पनि यो समस्यालाई सुल्झाउनेतिर लागेन । त्यसपछि पनि एक/दुईपटक केही हुन्छ कि भनेर म बैठकमा गएँ । तर, केही भएन । अनि मैले उठाएको सवालमा पार्टीमा केही नहुने रहेछ भन्ने लाग्यो र पार्टी बैठकमा जान छोडें । बाहिर त आदिवासी जनजातिको मुद्दामा पार्टी संवेदनशील नभएका कारण तपाईं असन्तुष्ट भएर बैठकमा नगएको भनिन्छ नि ? म जनजाति भएर कांग्रेसमा लागेको होइन । २००७ सालदेखि कांग्रेसमा लाग्दा म जनजातिको पगरी गुथेर आएको होइन । जनजातिको पगरी गुथेर बलबहादुर राई, योगेन्द्रमान शेरचन कांग्रेसमा आएका होइनन् । अहिले जनजाति भएर नआएको होला भन्ने लाग्ला । तर, म  विचार र सिद्धान्त मन पराएर कांग्रेस भएको हो । अहिले उठेको जनजातिको अभियानका क्रममा मलाई साथीहरूले भेटेका थिए । मैले उनीहरूलाई पनि म जनजातिको पगरी गुथेर कांग्रेसमा गएको होइन भनेर प्रस्ट भनिदिएको छु । म पार्टीमा जनजातिको पगरी गुथेर बसेको पनि होइन । तर, केही मानिसले मलाई गलत ढंगले दोष लगाएका छन् । जनजातिका कारण म पार्टी बैठकमा नगएको भन्ने हुँदै होइन ।
कांग्रेस र जनजातिबीचको सम्बन्ध टाढिँदै गएको हो ?
माओवादी र एमालेले जनजातिको छुट्टै संरचना बनाएर अघि बढ्दा मैले नै पार्टीमा हामीले त्यस्तो गर्नु हुँदैन । अलग्गै पहिचान बनाएर बस्नुपर्छ भनेर भनेको हुँ । जोकोही सिद्धान्त, आदर्श र दर्शनबाट पार्टीमा लागेको हुन्छ । पार्टीको सिद्धान्त, आदर्श र दर्शनलाई नलिने जनजातिलाई ल्याएर राख्दा त्यसले कुनै अर्थ दिँदैन । पार्टी सिद्धान्त र कार्यक्रममा अडिने हो । तर, जनजाति भनेर मात्रै ल्याउँदा उसले पछि पार्टीको निर्णय नमान्न सक्छ । त्यस दिशामा मैले पार्टीमा बेलैमा सुझाव पनि दिएको थिएँ । माओवादी र एमालेले जेजे गर्छन् त्यही गरेर हिंड्ने हो भने हामी कांग्रेस रहँदैनौं । जनजातिलाई माओवादी र एमालेले जुन ढंगले पहिला उचाले, त्यसैले समस्या आएको हो । कांग्रेसले आफूलाई विशुद्ध जनजातिका रूपमा नभई पार्टीको नीति र सिद्धान्तमा अडाउन सक्नुपर्छ । त्यसमा अडिन सकेन, माओवादी र एमालेले जस्तै बाटो समात्न थाल्ने हो भने कांग्रेस पनि कमजोर भएर जान्छ ।
कांग्रेसका होइन माओवादी र एमालेभित्रका जनजातिका कारणले मात्रै समस्या उत्पन्न भएको हो भन्ने तपाईंको धारणा हो ?
कांग्रेस भनेको सिद्धान्तनिष्ठ पार्टी हो भन्ने कुरा पहिला खुट्याउनुपर्छ । त्यसपछि पार्टीमा आउने कुनै पनि जातजाति, आदिवासी, सीमान्तकृत र मधेसी सबै कांग्रेसी हुन्छन् । बीपीकै पालदेखि पार्टी समावेशी ढंगले चल्दै आएको छ । तर, बीपीले जनजातिको नाम नराखी सबैलाई मिलाएर पार्टी हाँकेका थिए । पार्टी ब्राह्मण, क्षेत्री, मधेसी, नेवार, गुरुङ या कुनै जाति विशेषको हुन सक्दैन । पार्टीले एउटा नीति, विचार र कार्यक्रम दिन्छ । त्यसैका आधारमा सबैलाई समेटेर अघि बढ्ने हो । त्यसैमा कांग्रेस अडिन सक्नुपर्छ । अहिले जनजातिको मुद्दा जसरी उठेको छ, मैले त्यस्तो जन्जालमा फस्न हुँदैन भनेर भन्दै आएको छु । तर, पार्टीका वरिष्ठ नेता भन्नेहरू नै जनजातिको आन्दोलनको संरक्षक भइरहेका छन् । त्यसैले समस्या आइरहेको छ । अहिले भनौं भने जनजातिहरू रिसाउँछन् । जनजातिहरूले आएर सहयोग माग्दासमेत मैले मलाई अलग्गै बस्न देऊ भन्दै आएको छु । म अहिले पनि कुनै पनि नाराको पछि दौडिने पक्षमा छैन । सबैले बीपीको राष्ट्रिय मेलमिलाप, राष्ट्रियता र प्रजातन्त्रको नीति र देशको माटोलाई एकपटक राम्ररी सम्झनुपर्ने बेला आएको छ ।
कांग्रेसलाई जनजाति विरोधी पार्टीका रूपमा चित्रण गरिन्छ नि, तपाईंलाई त्यस्तो लाग्दैन ?
म बीपीको पालादेखि नै कांग्रेसमा बसेकाले मैले पार्टीलाई जनजाति विरोधीका रूपमा हेरेको छैन र छँदा पनि छैन । २००७ सालमा बन्दुक बोक्ने धेरै जनजाति थिए । त्यतिबेलाको संघर्षमा मर्ने धेरै जनजाति नै छन् । तर, उनीहरूले जनजातिको पगरी गुथेर आफ्नो ज्यान फालेका थिएनन् । बीपीले कहिल्यै जनजाति र तागाधारी भनेर पार्टी सञ्चालन गरेनन् । जनजातिको राजनीतिको सुरुवात २०१७ सालमा राजा महेन्द्रले गराएका हुन् । उनले त्यतिबेला प्रजातन्त्र र कांग्रेसलाई कमजोर बनाउन कांग्रेसभित्रकै जनजाति लगेर मतवाली कांग्रेस खोल्न लगाएका थिए । तर, सम्भव भएन । त्यसपछि मगुराली संघ, सेता मगुराली संघ पनि खोलिए । तर, बीपीले कहिल्यै जातजातिको कुरा गरेनन् तर उनले सधैं सबैलाई मिलाएर पार्टी चलाए । पार्टीलाई समावेशी पनि बनाए । अहिले जनजातिको सवाललाई गलत ढंगले व्याख्या गरिएको छ ।
पार्टीले जनजातिको माग सम्बोधन गर्न भीमबहादुर तामाङको अध्यक्षतामा गठन गरेको समितिले सुझाब दिएको छ । त्यसले जनजातिको अहिलेको मागलाई सम्बोधन गर्न सक्छ ?
पार्टीले गरेको यो प्रयास आफैंमा ठीक हो । तर सबै पार्टीका जनजातिसँग बृहत् रूपमा सुझाव लिएर प्रतिवेदन ल्याएको भए अझ राम्रो हुन्थ्यो । आफ्नो ढंगले मात्रै प्रतिवदेन आएको छ । आफ्नो पार्टीको मात्रै कुरा गरेर देशव्यापी रूपमा उठेको जनजातिको मुद्दा सम्बोधन गर्न गाह्रो हुन्छ । देशमा जातीय सद्भाव कायम गर्ने र जातीय द्वन्द्व अन्त्य गर्ने हिसाबले कांग्रेसले नीति बनाउनुपथ्र्यो । तामाङ कार्यदलले त्यस दिशामा ठोस सुझाब दिन सकेको छैन ।
मूलधारका पार्टीले जनजातिको पहिचानको मुद्दालाई सम्बोधन गर्न सकेनन् भनेर जनजातिको छुट्टै पार्टी गठन गर्ने तयारी भइरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
कांग्रेसमा यस्तोखालको कुरा मैले सुनेको छैन । संविधानसभा छँदै केही साथीले जनजातिको पहिचानको मुद्दामा हाम्रो अडान यो हो भनेर सही गरेर प्रचण्ड (एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल) लाई दिएछन् । मलाई त सही गर पनि भनेनन् । अहिले एमालेका अशोक राईजस्ता नेता पार्टीबाट बाहिर छौं भन्दै छन् । उनीहरूसँग मेरो कुराकानी केही भएको छैन । आफ्नै पार्टीभित्रको कुरा गर्ने हो भने एउटा घटनामा मलाई चित्त दुखेको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुने बेला मसहित लक्ष्मण घिमिरे र विनयध्वज चन्द गिरिजाबाबुसमक्ष गएका बेला दलको नेताका बारेमा कुरा चल्यो । गिरिजाबाबुले मलाई देखाएर भन्नुभयो, अब केबीजीलाई दलको नेता बनाउनुपर्छ । त्यसबेलासम्म मलाई दलको नेता बन्ने आकांक्षा पनि थिएन । अर्कोपटक पनि पनि गिरिजा दाजुले त्यही भन्नुभयो । अन्तिम दिनमा मैले विश्वास नलागी फेरि सोध्न गएँ, तपाईं उठ्ने हो कि होइन ? मलाई उठ् भन्नुभएको हो कि होइन ? उहाँले म उठ्दिनँ, तपाईं उठ्नोस् भन्नुभयो । तर, भोलिपल्ट मलाई भुमरीमा हालियो । गिरिजादाजुले शेरबहादुरलाई सघाउनुभयो । पार्टी फुटाएर गएका कारण शेरबहादुरलाई उहाँले सहयोग गर्नुहोला भन्ने मलाई लागेको थिएन । तर, उहाँले ठूलो छाती गरेर देउवालाई सघाउनुभयो । तत्कालीन कार्यबाहक सभापति सुशील कोइरालासँग मेरो राम्रै सम्बन्ध थियो । पार्टी विभाजन हुनुमा रामचन्द्रजीको पनि भूमिका थियो । तर, सुशीलले रामचन्द्रजीलाई सघाउनुभयो । पार्टी नेताहरूको यो पहेली मैले बुझिनँ । किन मलाई गिरिजादाइले उठ् भन्नुभयो । किन सघाउनुभएन ? सुशील दाइले रामचन्द्रजीलाई सघाउँदा मलाई केही भन्नुभएन । मलाई चित्त बुझाएको भए म दलको नेतामा उठ्दिनथेँ । पार्टीमा मलाई यो कुराले चित्त दुखेको छ ।
जनजाति आन्दोलनचाहिँ पार्टीहरूले उनीहरूको मुद्दा सम्बोधन नगरेकै कारण उठेको हो त ?
जनजाति आन्दोलनमा बाहिरी देशको प्रभाव परेको भन्ने छ । आईएनजीओको र डलरको असर हो भन्ने पनि सुनिन्छ । कतिपय साथीले देशै डलरमा चलिरहेको छ, सहायतामा चलेको छ भने जनजातिले मात्र लिन किन नहुने भन्छन् । खासमा पार्टीमा जनजाति, आदिवासी संघ भनेर राख्नै हुँदैनथ्यो तर, जो जनजाति मात्र भनेर अघि बढिरहेका छन्, उनीहरू गलत बाटामा छन् । तर, पार्टीले समग्र जनताको हितमा नीति, सिद्धान्त र आदर्शमा रहेर जनजातिलाई भन्न सक्नुपर्छ, सबैलाई समेट्न सक्नुपर्छ । हामी नेपाली हौं, त्यसपछि हामी कांग्रेस, एमाले र माओवादी हौं तर गुरुङ, मगर, राई लिम्बु होइनौं भनेर । दलहरूले यस्तो भन्न सकिरहेका छैनन् । अरू पार्टीले नसके पनि कम्तीमा कांग्रेसले यो भन्ने साहस देखाउनुपर्छ ।
जातीय पहिचानको संघीयतामा जान जनजातिको छुट्टै पार्टी आवश्यक छ भनिँदै छ । यसमा केही आधार छ ?
यति सानो मुलुक, थोरै जनसंख्या रहेको मुलुकमा जुन कुरा आइरहेका छन्, त्यो गलत छ । पहिल्यै नेतृत्वले सही ढंगले अघि बढ्नुपथ्र्यो, त्यो नभएकै कारण आज धेरैखालका समस्या देखिएका हुन् । अहिले त्यस्तो भन्दिने र आँट गर्ने मान्छेको खाँचो छ । जातीय राजनीतिले देशलाई कहिल्यै पनि राम्रो गर्दैन । जातीय आधारमा राज्य पुनर्संरचना हुनुपर्छ भन्ने कुरा अघि बढाउँदै जाँदा मुलुक असफल राष्ट्र हुन सक्छ । अहिले जेजस्तो गतिविधि भइरहेको छ, यसले हामी असफल राष्ट्र हुने बाटामा अघि बढिरहेको संकेत मिलिसकेको छ ।
भन्नुको अर्थ तपाईंको धारणा संघीयतामै जानु हुँदैन भन्ने हो ?
सत्य कुरा हो । नेपालमा संघीयताको आवश्यकता थिएन र छैन पनि । संघीयता आवश्यक छ भनेर किन माओवादी र एमालेले भने ? किन कांग्रेस चुप लागेर बस्यो ? कांग्रेसले त्यति बेलै चाहिँदैन भनेर भन्न सकेको भए मुलुकमा यस्तो अवस्थै आउँदैनथ्यो । त्यतिबेला गिरिजाप्रसाद कोइराला आफैं थिए । उनी आफैंले यसरी जानुपर्छ भनेर भन्न सक्नुपथ्र्यो । यो देशमा २००७ सालमा होस् या अहिले, जुन ढंगले आन्दोलन सफल भयो, आन्दोलनको जसरी सुरक्षित अवतरण गरियो, ती संसारमै बिरलै हुने घटना हुन् । यहाँ कुनै रक्तपात भएन । त्यति राम्रो ढंगले सुरक्षित अवतरण भयो । जुन ढंगले आन्दोलनको सुरक्षित अवतरण भएको थियो, नेताहरू त्यसविपरीत गएकाले अहिले राजनीतिक संकट आएको हो ।
नेतृत्वकै कमजोरीले मुलुक संकटमा परेको हो त ?
हो, नेतृत्वको कमजोरीले गर्दा नै यस्तो भएको हो । नेतृत्वले आफैंले खोजेर विकृति ल्याए । २०६२/६३ को आन्दोलनले स्थापित गरेको संसद्मा जुन ढंगले मनोनीत गरेर सांसद थपिए, त्यसले ठूलो विकृति भित्र्यायो । त्यस्तो गर्नुपर्ने जरुरी थिएन । त्यतिबेला नै राजनीतिक उपलब्धिलाई संस्थागत गर्न एउटा रोडम्याप कोरेर अघि बढ्नुपथ्र्यो । तर, गिरिजादाजुले संसद्देखि नै माओवादीलाई आवश्यकभन्दा बढी च्याप्दै लैजानुभयो र त्यही कारण अहिलेको समस्या आएको हो ।
अब संघीयताबाट पछि हट्न सकिने अवस्था छैन । अब समाधान कसरी खोज्ने ?
संघीयता र पहिचान भन्ने कुरा अब अनिवार्य भइसक्यो । मेचीदेखि महाकालीसम्म र सबै जातजातिमा संघीयता अपरिहार्य छ भन्ने अनुभूति भइसकेको छ । अब मिलाएर सहमतिमा संघीयतामा जानुको विकल्प छैन । तर, चार दलका नेता मात्रै बसेर समाधान हुन सक्दैन । संघीयताका सवालमा निर्णयमा पुग्न विज्ञलाई समेत संलग्न गराएर वार्ता गर्नुपर्छ । नत्र दलहरूको वार्तामा आआफ्ना कुरा राख्ने, कुनै निर्णय नहुने, तर बाहिर भने हामी सहमतिनजिक पुगेका छौं भनेर सधैं जनता ढाँट्ने नाटक अब धेरै दिन चल्न सक्दैन । अब नागरिक समाज उठ्नुपर्छ । नागरिक समाजले सहमतिका लागि दबाब सिर्जना गर्नुपर्छ ।  
जनजातिलाई उठाएर केही विदेशी शक्तिले राष्ट्रियतालाई कमजोर पार्न लागे भन्ने कुरा विभिन्न पार्टीभित्र उठ्न थालेको छ नि, तपाइर्ंलाई के लाग्छ ?
हो, यसका लागि अर्बौंको खेल भएको कुरा आइरहेको छ । यो कुरा कसले बुझ्ने ? नेताहरूले बुझ्नुपर्ने हो । आजका देशभक्त नागरिकले यसको विश्लेषण गर्न जरुरी छ कसरी राष्ट्रियता कमजोर हुँदै छ भन्ने कुरा । अहिले सबैलाई महसुस भइरहेको छ कि डलरको खेतीले नेपालको राष्ट्रियतालाई कमजोर बनाउँदै छ । हाम्रो मुलुक यति कमजोर त कहिल्यै पनि थिएन ।
मुलुकलाई कसरी निकास दिन सकिन्छ ?
संघीयताको विषय धेरै अघि बढिसक्यो । अब म एक जनाले संघीयतामा जान हुँदैन भन्दा कुनै अर्थ राख्दैन । तर, कांग्रेस अलमलमा रहेकाले अन्योल बढेको हो । सबभन्दा पहिला कांग्रेसले नै राजनीतिक निकासका लागि स्पष्ट धारणा अघि सार्नुपर्छ । मेरो धारणा मुलुक संघीयतामा नगइदिए हुन्थ्यो भन्ने छ । हाम्रो मुलुक भारतको हरियाणा राज्यजत्रो पनि छैन । अनि संघीयतामा किन जानुपर्‍यो ? यतिखेर यसो भनेर संघीयताबाट पछि हट्न सक्ने अवस्था छैन । कसरी जाने ? कति संख्याको प्रदेश बनाउने भन्ने निर्णय चार पार्टीका नेताले मात्रै वार्ता गरेर समस्या हल हुनेवाला छैन । सबै पक्ष र समुदायबीच छलफल आवश्यक छ । चार वर्षसम्म नेताहरूले आजै समाधान हुन्छ, भोलि नै निर्णय गर्छौं भनेर ढाँट्दै आए । पछिल्लोपटक जनजातिले समेत बहुजातीयमा जाने भनेर मानिसकेका थिए । त्यति हुँदा पनि पार्टीहरूले किन निकास दिन सकेनन् भन्ने कुरा रहस्यमय छ ।
कांग्रेसले सरकारको माग राख्नु हुँदैन भन्ने तपाइर्ंको धारणा हो ?
अहिले सरकारमा जान नपाउने र जान पाउनुपर्छ भन्नेबीच द्वन्द्व छ । सत्ताको यही तृष्णाले नै पार्टी अन्योलग्रस्त छ । कांग्रेसले सत्ताका लागि नभएर यतिबेला मुलुकलाई निकास दिने रोडम्याप बनाएर अरू दलसँग वार्ता गर्नुपथ्र्याे । तर, नेतृत्वको कमजोरीले त्यसो हुन सकिरहेको छैन ।  
अरू दलले कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय नभएका कारण निकास आउन नसकेको भन्दै छन् नि ?
अरू दलले पहिला त्यसो भनेका थिए । अहिले भन्न छाडिसके । अहिले कांग्रेसले मात्रै आफ्नो नेतृत्वको सरकारको माग गरिरहेको छ । कांग्रेस आफ्नै कमजोरीले यो विषयमा धेरै पछि पर्दै छ ।
कांग्रेसमा तीन नेताबीच विवाद देखिएपछि अब कि त भीमबहादुर तामाङलाई कि तपाईंलाई उम्मेदवार बनाउनुपर्छ भन्ने कुरा उठेको छ नि ?
यो सपनामा दूध र भात खाएजस्तो मात्रै हो । तीन नेताले आर्यघाट नपुग्दासम्म पद छाड्दैनन् ।
कांग्रेसका कतिपय नेता अब राष्ट्रपतिले वर्तमान सरकार हटाउनुपर्छ, त्यसपछि निकास निस्कन्छ भनिरहेका छन् नि ?
सुरुमा नै मैले राष्ट्रपतिलाई गुहार्नु हुँदैन, राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्नु हुँदैन भनेको थिएँ । कामचलाउ सरकार भनिसकेपछि राष्ट्रपतिले गर्न सक्ने थप कुनै भूमिका छैन । अहिले हाम्रो पार्टीका राष्ट्रपति छन् भनेर हामीले यसो गर भन्न हुँदैन । भोलि अर्कै पार्टीको राष्ट्रपति हुँदा के गर्ने ? तर, दलहरूले केही गरेनन् भने धेरै दिन राष्ट्रपतिले यसरी मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्नु हुँदैन । राष्ट्रपतिले लामो समय पर्खन पनि मिल्दैन ।
दलहरूले सहमति गर्न सकेनन् भने राष्ट्रपतिले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
संक्रमणकालको निकास दलहरूले निकाल्न सकेनन् भने मात्र अन्तिममा राष्ट्रपतिले निकास खोज्ने हो । तर कदम कसरी चाल्ने भन्नेबारे राष्ट्रपतिले सोच्नुपर्छ । देश नटुक्रिने, सबै समुदायलाई समेट्ने, सबै दललाई मान्य हुनेबीचको बाटोबाट राष्ट्रपतिले निकास खोज्नुपर्छ ।