'गाउँलेको थाप्लोमा १९ लाख ऋण'
![]() |
बाग्लुङ,असोज २- जिल्लाको बिनामारेका स्थानीयलाई सडक खन्दा लाएको ऋण कसरी तिर्ने भन्ने पिरलो छ। गाउँलेले ऋण खोजेर खनेको सडक बर्षादको भेलले छिया-छिया पारेको छ। दर्जनौँ पहिराले सडकमा गाडी गुड्ने होइन पैदल हिँड्न पनि मुस्किल पर्छ।
गत वर्ष करिब १९ लाख ऋण खोजेर बिनामारे गाविसका स्थानीयले गाविसका सबै वडामा कच्ची मोटर बाटो पुर्याएका थिए। बिनामारे-१को जैमुनीघाटदेखि -बोटेगाउँ- वडा नं २ गण्डकी प्रा.वि.- वडा नं ३ सिम्ले-तल्ला आरना- पुजारी टोल- बिराउने, वडा ४ स्वास्थ्यचौकी भबन, वडा नं ५-६को दलित बस्ती, वडां८,९ हुँदै वडा नं ७ को कुँडारा- पैयुँडाडा हुँदै सर्कुवा गाविससम्म करिब साढे आठ किलोमिटर कच्ची सडक निर्माण गरेका हुन्। प्राबिधिक पक्षलाई बेवास्ता गरी धमाधम डोजर प्रयोग गरी सडक निर्माण गरेपछि वर्षातमा सबै वडाको अधिकांश सडक भत्किएको छ। सडकबाटै पानी बग्दा ठुल्ठुला खाल्डा परेका छन्।
हिउँदको समयमा सडकमा मालबाहक ट्याक्टर गुडेपनि बर्षादको भेलले सबै बाटो बिग्रिएको सडक निर्माण समितिका सदस्य चुडामणी आचार्यले बताए। 'गत बर्षको ऋण तिर्न बाँकीनै छ,' आचार्यले भने, 'वर्षातको पानीले सडक खोलो परेकोले मर्मत गर्न फेरी १० लाख रुपैयाँ लाग्ने निश्चित छ।'
सो ठाउँमा अहिले गाडी गुड्न सक्दैनन्। गत वर्षको ऋण कसरी तिर्ने भन्ने स्थानीयलाई चिन्ता छन्।डेढ लाखदेखि १० हजार रुपैयाँसम्म ऋण काडेर सडक निर्माण गरेको सडक निर्माण समितिका कृष्ण बहादुर हमालले बताए। 'सयकडा २ रुपैयाँ ब्याजमा ऋण खोजेर बाटो बनाएका हौं,' हमालले भने,' वर्षातको पानीले विभिन्न ठाउँमा पहिरो जाँदा सडकको बेहाल भयो।' उनीहरुले गाउँमा खोजेको ऋण तिर्न सकेका छैनन्। स्थानीय ठगबहादुर थापाले मात्र एक लाख रुपैयाँ ऋण दिएका छन्। केही रकम स्थानीयले चन्दा संकलन गरेका थिए। ११ लाख रुपैयाँ गाउँ विकास समितिले सहयोग गरेको सचिव मोहोलाल लामिछानेले बताए। 'मोटो रकम ऋण लिएर खनेका हुन्,' लामिछानेले भने,'जिविस लगायतका निकायले सहयोग गर्नुपर्छ।'
जिल्ला विकास समिति,बाग्लुङले सडक निर्माण गर्दा प्राबिधिक पक्षलाई ध्यान दिन आग्रह गरेपनि डोजर प्रयोग गरी धमाधम सडक खन्दा भुक्षय भएको छ। सडकको स्लोप नमिलेकोले बाटो बिग्रिएको हो। सो कच्ची सडकको निरिक्षण गरेका स्थानीय विकास अधिकारी पुण्यबिक्रम पौडेलले अव्यबस्थित विकासले समस्या सृजना हुने बताए।
'स्थानीयले ऋणधन खोजेर विकास निर्माणमा जुट्नु सकरात्मक मान्नु पर्छ,' पौडेलले भने,' तर, सडक निर्माण प्राबिधिक र योजनाबद्ध भएन।' 'अहिलेलाई जिविसले सहयोग गर्ने सम्भाबना कम छ,' उनले भने। स्थानीयले प्राविधिकको सल्लाह वेवास्ता गरी आफूखुसी निर्माण गरेका हुन्।
कुश्मिशरादेखि सर्कुवाको मौलाछ-बिनमारे-अर्जेवा जैदी हुँदै छिस्ती जाने सडकमा जिल्ला विकास समितिले सहयोग गरेपनि सो सडकमा सहयोग नपाएको स्थानीयको गुनासो छ। सो सडकको नाली निर्माण, ग्याबिन, पुरिएको सडक खुलाउनु पर्नेछ।
![]() |