नेप्सेमा वृद्धि जारी



काठमाडौं, असोज २ (नागरिक)- बिमाबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेपछि सोमबार समग्र बजार परिसूचक नेप्से उकालो लागेको छ। कारोबार रकम पनि दैनिक औसतभन्दा बढी छ। स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १.४२ अंकले बढेर ४२२.२५ कायम भएको छ। आइतबार नेप्से १.९४ अंकले बढेको थियो। जलविद्युत समूहको परिसूचक सबभन्दा उच्च (२३.३१) अंकले बढेको छ। यसलाई क्रमशः अन्य, होटल, व्यापार, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक र वित्त समूहले पछ्याएका छन्। बिमा समूहको परिसूचक घटेको छ। उत्पादनमूलक समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन।



यस दिन एक हजार तीन सय २८ कारोबारमा ६ करोड ३३ लाख ७१ हजार रुपैयाँ बराबरका एक लाख ९० हजार ५ सय ४१ कित्ता सेयर किनबेच भएका छन्। आइतबार एक हजार चार सय ७ कारोबारमा ८ करोड ५० लाख ५० हजार रुपैयाँ बराबरका दुई लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच भएका थिए। पछिल्लो समयमा दैनिक ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदै आएको छ।
कारोबार संख्या (७७) का आधारमा यस दिन सबभन्दा धेरै पटक सेयर किनबेच हुने कम्पनी ग्लोबल आइएमई बैंक हो। किनबेच भएका सेयर संख्या (१९ हजार ७ सय २५) का आधारमा एनबी बैंक अगाडि छ। कारोबार रकम (एक करोड ५ लाख ६९ हजार रुपैयाँ) का आधारमा चिलिमे हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ।
स्टक एक्सचेन्जका अनुसार यस दिन १०० कम्पनीको सेयर कारोबार भएकोमा ५६ को मूल्य बढेको १३ को स्थिर रहेको र ३१ को घटेको छ। स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या बढे पनि कारोबार हुनेको संख्या बढेको छैन।
नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी कम्पनी र पब्लिक डेभलपमेन्ट बैंक
यस दिन सेयर मूल्य उच्च दरमा घट्ने कम्पनीको सूचीमा अगाडि छन्। डिप्रोक्स विकास बैंक, नेरुडे विकास बैंक र नेपाल इन्स्योरेन्सको सेयर मूल्य उच्च दरमा बढेको छ। सोमबारको कारोबारबाट बजार पुँजीकरण तीन खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा एक अर्ब बढी हो। बजार उचाइमा पुगेका बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।