कोमल वलीको जीवनयात्रा
![]() |
राप्ती अञ्चल, दाङ जिल्ला टिकरी गाविसमा बुबा ललितबहादुर वली तथा आमा दीपा वलीकी सुपुत्रीका रूपमा कोमल वली जन्मिएकी थिइन् । दाइ यामेन्द्र वली, भाइ नरेन्द्र वली तथा बहिनी प्रज्ञा शरदसँगै उनी हुर्किएकी हुन् । कक्षा ६ सम्म अध्ययनमा चलाख वली त्यसपछि भने केही कमजोर भइन् । सानो उमेरदेखि नै उनी विद्यालय, सामाजिक, जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेकी थिइन् । कक्षा १ देखि नै गाउन थालेको बताउने वली कक्षा ६ सम्म आइपुग्दा प्रतियोगितास्तरको राम्रो दोहोरी गायिका तथा राम्रो खेलाडी पनि भैसकेकी थिइन् ।
एथलेटिक्स, फुटबल र भलिबलकी खेलाडी वलीले सुरूमा राप्ती अञ्चलको प्रतिनिधित्व गरेर राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिइन र पछि मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइन् । कक्षा ८ को परीक्षा नसकुन्जेल उनी पूर्णरूपमा गायन र खेलमा सहभागी भइन् । 'छोरीले नपढ्ने भई भन्ने चिन्ताले आमाले ९ र १० मा निगरानीका साथ पढाउनुभयो'
कोमलले भनिन्- 'थर्ड डिभिजनमा एसएलसी पास गरें ।' स्कुले अध्ययनमै उनी विभिन्न नाटकमा अभिनय पनि गर्थिन् । नाटकमा छुच्ची युवतीको भूमिका उनका लागि रुचाइएको भूमिका थियो । ०४४ सालमा कोमलले एसएलसी उत्तीर्ण गरेकी थिइन्, त्यसपछि घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिन् । वली भन्छिन्- 'पछि काठमाडौं आएर पाटन बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर पूरा गरें ।'
छोरीका रूपमा जन्मिए पनि सानैदेखि नै उनी छोराझैं व्यवहार देखाउँथिन् । 'बुबाले मलाई सानैदेखि छोरोकै रूपमा हेर्नुहुन्थ्यो,' कोमलका अनुसार अहिले पनि उनी आफूले गरेर जानेको कामका सम्बन्धमा मात्र अरूलाई यो काम गरेका छौं भनेर सोध्छिन् । वली हाँस्दै भन्छिन्- 'मैले नगरेको काम विवाह मात्रै होला ।'
कोमल कक्षा १ मा अध्ययन गर्दादेखि नै विद्यालयमा बुबाले सिकाइदिएको गीत गाएर सुनाउँथिन् । गुरु/गुरुआमाले कोमल गीत गाऊ भनेपछि उनी सबैका अगाडि आएर 'ए म त रोल्पाली हुँ नि, रोल्पालीको क्या राम्रो जीवनी' गाइहाल्थिन् । कक्षा ३ सम्म उनले मात्र यही गीत सुनाएपछि, एक दिन शिक्षकले बुबासँग अर्को गीत सिकेर आऊ, अनि सुनाऊ है, यो गीत मात्रै कति सुन्नु भनेछन् ।
कक्षा ६ मा नपुग्दै दोहोरी गायिकाका रूपमा स्थानीय स्तरमा चर्चित भैसकेकी कोमल सहभागी दोहोरी गीत प्रतियोगितामा स्रोताहरूको उल्लेख्य उपस्थिति हुन्थ्यो । ६ कक्षाको परीक्षा दिएर बसेका बेला दोहोरी गायक नारायण पाण्डे उनलाई खोज्दै घर आइपुगे । पाण्डेले उनलाई राष्ट्रिय दोहोरी गीत प्रतियोगितासम्मको यात्रा गराए । जुन प्रतियोगितामा उनी सर्वोत्कृष्ट भइन् । त्यसपछि उनले दोहोरी गायन प्रतियोगितामा कहिल्यै हारको स्वाद लिनुपरेन ।
०४६ सालसम्म खेलाडीका रूपमा सक्रिय वलीले तत्कालीन परिवेशमा खेलाडीका रूपमा भविष्य सुरक्षित नहुने देखेपछि खेल जीवन त्याग्ने निर्णय लिइन् ।
म भित्र गीत थियो, उनी भन्छिन्, मैले मिडियामा लाग्दै आफ्नो प्रतिभा मुखरित गर्नु थियो, गीत गाएर नै बेलायत पुगेपछि त झन् यसैलाई निरन्तरता दिनुपर्छ भन्ने भयो । साथीहरू जापान गएर र्फकंदा किन नेपाल फर्किएको नेपाल भन्थे, उनले थपिन, तर मैले संसार घुम्ने लक्ष्य राखेकी थिए । हङकङ, जापान, कतार झन्डै एक दर्जन पटक पुगिसकेकि कोमलले डेढ दर्जनभन्दा बढी मुलुकमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेकी छिन् ।
चलचित्र र आधुनिक गायन
डेढ दर्जन चलचित्रगीतमा उनले स्वर दिएकी छिन् । माया र प्रेमका गीत स्वच्छन्द शैलीमा गाउने वली आफूलाई आधुनिक गायनमा फिट नहुने देख्छिन् । वली भन्छिन्- मेरो भोकलमै नेपाली लोकसंगीत छ । संगीतकार बिजु वज्र भने कोमल वलीलाई संगीतकारले आधुनिक गायनमा पनि ल्याउन सक्ने बताउँछन् । विजु भन्छन्- म कोमल वलीकै लागि आधुनिक पप डान्स नम्बरहरू बनाइरहेको छु, जुन चाँडै नै श्रोतामाझ आउनेछ । वलीले हालसम्म ६ सय भन्दा गीत रेकर्ड गराइसकेकी छिन् ।
दोहोरी गायनमा प्रवेश
प्राथमिक विद्यालयमा अध्ययनरत रहँदै कोमलको रुचि दोहोरी गीत प्रतियोगिता बढिसकेको थियो । कोमलका अनुसार पुरुष पक्षले गाइनसक्दै उनको मनमा तुरुन्तै चोटिलो जवाफ सहितको भाका आइहाल्थ्यो । तन्नेरी र बूढाहरूलाई आच्छु-आच्छु पार्न थालेपछि दाङभर उनको प्रतिभाले चर्चा पायो, कक्षा ६ नपुग्दै उनी जिल्ला स्तरका प्रतियोगितामा सहभागी हुन थालेकी थिइन्, त्यही क्रममा दोहोरी गायक नारायण पाण्डे उनलाई खोज्न घर नै आइपुगेका थिए ।
२०४१ सालमा कक्षा ७ मा अध्ययनरत रहेकै बेला दशरथ रंगशालामा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजित गरिएको थियो । विशाल जनसहभागिता बीच सम्पन्न उक्त प्रतियोगितामा तत्कालीन अधिराजकुमार धीरेन्द्रलगायत उच्चपदस्थ व्यक्तित्वहरू उपस्थित थिए । १४ वर्षकी वलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई सहजै हराइन् । त्यसपछि एकाएक उनी राष्ट्रिय रूपमै चर्चामा आइन् । त्यसपछिका ५ वर्ष ५ पटक उनी राष्ट्रिय दोहोरी गायन प्रतियोगिता विजेता भइन् ।
दोहोरी गायनमा पुरुष पक्षलाई निरन्तर हराउन सफल वली रोल्पाको दृश्य सम्झँदा भने कहिलेकाहीँ डराउँछिन् । दोहोरीमा महिला टिमलाई हराएपछि पुरुष टिम शीर्ष महिला दोहोरी गायिकालाई श्रीमती बनाउन तान्थे, महिलाहरू आफ्नो साथीलाई बचाउने प्रयास गर्थे, तर पुरुष बाहुबलले महिला गायिकालाई तान्न सफल हुन्थ्यो । कोमलका अनुसार दोहोरी गायनमा एक दुई पटक आक्रामक भएर माया पिरतीका गीत गाउने युवा टिम देखेर, हारे भने यिनीहरूले श्रीमती बनाउलान् कि भन्ने डरचाहिँ हुन्थ्यो तर त्यस्तो दिन आएन, उनले भनिन् । वली भन्छिन्, म दोहोरी गायनलाई प्रतियोगिताका रूपमा मात्र बुझ्थे । कसैलाई मन पराउन वा माया गर्न दोहोरीलाई माध्यम बनाइन् ।
लक्ष्य थियो रेडियो नेपाल
कोमल वलीको एउटै सपना थियो, रेडियो नेपालमा काम गर्ने । अहिलेको बुझाइमा भन्ने हो भने मिडियामा करियर बनाउने लक्ष्य, तर तत्कालीन अवस्थामा मेनस्टि्रमको मिडिया रेडियो नेपाल भएकाले रेडियो नेपालमा बोल्ने उनको रहर थियो । एसएलसी उत्तीर्ण गरेपछि उनले रेडियो नेपाललाई अर्जुनदृष्टि बनाइन् । रेडियो नेपालमा समाचार पढ्नु उनको ध्येय थियो । समाचार पढ्ने क्रेज यति थियो कि, उनी रेडियो नेपालमा झैं खररर समाचार पढेर सुनाउँथिन् । तत्कालीन समाचारवाचकहरू दुर्गानाथ शर्मा र कृष्णा ताम्राकार उनका आदर्श थिए । एकपटक रेडियो नेपालमा असफल भए पनि ०५० साल वैशाख १ गते उनले समाचार पढ्ने इच्छा पूरा गर्ने अवसर पाइन्, त्यसयता उनी निरन्तर समाचार पढिरहेकी छिन् ।
०४४ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि प्रत्येक ६ महिनामा पाउने डेटमा गीत रेकर्ड गर्न उनी सिंहदरबार आइपुग्थिन् । ०४४ सालमा राष्ट्रिय लोकगीत प्रतियोगितामा कोमल र उनकी बहिनी प्रज्ञाले दोस्रो स्थान हासिल गरेका थिए । गायक नन्दकृष्ण जोशी प्रतियोगितामा पहिलो भएका थिए । रेडियो नेपालमा उनले घटना र विचार, परिक्रमाजस्ता राजनैतिक कार्यक्रम पनि संचालन गरिसकेकी छिन् । प्रायोजित कार्यक्रमहरूले त उनलाई यति व्यस्त बनाउँथ्यो कि उनी रेडियो नेपालमा लगातार १८ घण्टा काम गर्थिन् ।
गीतिसंग्रहमा कोमल
दोहोरी गीत प्रतियोगितामा मुलुकभरकै प्रतियोगीलाई उछिनेकी कोमलले ०४४ सालमै डा. गोविन्द आचार्य तथा बहिनी प्रज्ञाका साथमा आफ्नो स्वरमा 'राप्तीको झरना' शीर्षकको गीतिसंग्रह श्रोतामाझ ल्याइन् । स्कुले अध्ययन पूरा गर्ने क्रममै आएको उक्त संग्रहले श्रोताको यति धेरै माया पायो कि उनी चर्चाको शिखरमा पुगिन् । ०४५ सालमा लोकगायक प्रेमराजा महत तथा उनको 'बजाइदेऊ ताली' शीर्षकको गीतिसंग्रह आयो जुन पनि सुपर हिट भयो । त्यसपछि महतकै साथमा आएको 'बाँझो खेतमा' अर्को लोकपि्रय गीतिसंग्रह थियो । ०५२ सालमा उनले एकल लोकगीतिसंग्रह 'मलमल किरी' आयो । जुन उनको मलमल किरी यति लोकपि्रय थियो कि उनले पहिलो पटक त्यो गीतको म्युजिक भिडियो तयार गरिन्, यो गीतले नै उनलाई मह जोडीका साथ पहिलो पटक बेलायतमा कार्यक्रमका लागि २७ दिन बस्ने अवसर दियो । ०६१ सालदेखि उनले आफ्नो गायन प्याटर्न चेन्ज गरिन्, वली अविवाहित रहेको कुराले निकै चर्चा पाइरहेका बेला ०६१ सालमा बिहे भा'छैन आयो । यसले नयाँ रूपमा कोमल वलीलाई स्थापित गर्यो । ०६२ सालमा पोइला जान पाम, ०६३ सालमा कान्छी बूढी नल्याऊन् मेरा बूढाले, ०६४ सालमा झकास, ०६५ झ्वाँक तन्नेरी, ०६६ मा बदमास र ०६८ मा बबाल तीज गीतिसंग्रह श्रोतामाझ आएकी छिन् । यसपटकको तीजमा वलीको एल्बमको शीर्षक छ - 'पति देवका लागि' ।
![]() |