ढुकुर खेदिएसँगै बिरामीको मृत्यु




सुन्दै अचम्म लाग्ने, मोरङको सुन्दरपुर-४ को अपत्यारिलो घटना। चन्दा नदिएको झोकमा स्थानीय केही युवाले ढुकुरलाई लखेटेपछि बिरामीको  मृत्युसँगै पटाक्षेप भएको छ। दुई महिनासम्म लगातार बिरामीको कुरुवा बन्दै आएको ढुकुरलाई चन्दा नदिएको झोकमा केही स्थानीय युवाले  लखेटेपछि निको हुँदै आएकी बिरामी धनमाया गुरुङको निधन भएको हो।

बिमारी गुरुङको घरमा प्रत्येक दिन आएर ढुकुरले उनको हेरविचार गरेको भन्दै विभिन्न ठाउँका हजारौं सर्वसाधारणको घुइँचो लाग्ने गरेको  थियो। ढुकुर हेर्न आउने सर्वसाधारणले महिलाको उपचारका लागि झन्डै ३ लाखभन्दा बढी चन्दासमेत दिएका थिए। झट्ट सुन्दा विश्वास गर्न  नसकिने यो घटना हेर्न आउने सर्वसाधारणले दिएको रकम बढ्दै गएपछि केही स्थानीय युवाले समेत उठेको रकमको केही भाग आफूहरूलाई  दिनुपर्ने माग राखेका थिए। ढुकुर आउन थालेको ५० दिनपछि युवाहरूले पैसा नदिएको भन्दै ढुकुरलाई लखेटेका थिए। क्रमिक रूपमा ठीक हुँदै  गएकी धनमाया त्यसपछि भने थला पर्दै गएको धनमायाका श्रीमान् धु्रव गुरुङले बताए। १२ दिनसम्म पनि ढुकुरको अत्तो-पत्तो भएन, मेरी  जहानको मृत्यु भयो, -श्रीमान् गुरुङले भने।

गत जेठयता पेट सुन्निने बिरामीले थला परेकी ५० वर्षीया गुरुङसँग दैनिक ढुकुर आएर सँगै बसेको दृश्य हेर्न दैनिक ३-४ हजार मानिस  उनको घर पुग्ने गरेका थिए। गुरुङको निधन भएको भोलिपल्ट सोमबार बिहान मृतकलाई अन्तिम दाहसंस्कारका लागि घाट लाने तयारी  भैरहेका बेला भने सोही ढुकुर अर्को जोडीसमेत लिएर आएको स्थानीय बासिन्दा ज्ञानेन्द्र ओझाले बताए। धनमाया गुरुङ बिरामी सहयोग  समितिका सदस्य ओझाका अनुसार सुन्दरपुरका केही युवाले खेदेको १२ दिन अघिदेखि ढुकुर आउन छाडेको थियो। 'तर गुरुङको निधन भएको  भोलिपल्ट अन्तिम बिदाइका लागि आएको होला,' ओझाले थपे, 'भित्र पस्न पनि धेरै प्रयास गर्‍यो तर मानिसको भीड र चारैतिर पाल टाँगे काले पस्न पाएन।'

ढुकुर आएसँगै केही स्वस्थ महसुस गर्न थालेकी गुरुङको ढुकुर आउन छोडेसँगै निधन भएपछि स्थानीयवासी आश्चर्यमा परेका छन्। 'केही दैवी  शक्ति नै थियो कि ?' स्थानीय रामबहादुर श्रेष्ठले भने- 'ढुकुर पनि आउन छोड्नु बिरामीको पनि मृत्यु हुनु अचम्मकै संयोग हो।' पैसाकै  अभावमा उपचारको माया मारेको परिवारलाई पनि ढुकुर आउनु भगवान आएजत्तिकै भएको थियो। ज्योति माविको जग्गामा बस्दै आएकी गुरुङ  र उनको परिवारले १० लाख जुटाउन नसक्दा मृत्यु कुर्नुको विकल्प थिएन, तर ढुकुर आएसँगै उनीहरू स्व. गुरुङको उपचार हुने आशामा  थिए।

गुरुङ परिवारका लागि भगवान् बनेको ढुकुरलाई स्थानीय बासिन्दाले समेत दैवी शक्ति मानेका छन्। उनीहरूले बिरामीको उपचारका लागि  उठाएको पैसामा थपथाप पारेर एउटा 'ढुकुरेश्वर महादेवको' मन्दिर निर्माण गर्ने योजना बनाएका छन्। बिरामीको सहयोगका लागि उठेको  पैसा हाल सुन्दरपुर सहकारीमा राखिएको छ। बिरामी गुरुङलाई हेर्न जाने सर्वसाधारण मात्र नभै हङकङमा रहेका नेपालीहरूले समेत गुरुङको  उपचारार्थ ५० हजार रुपैयाँ पठाएका थिए।