महिलाका लागि खाना


राम्रो एवं फुर्तिलो देखिने चाहना सबैमा हुन्छ । यसका लागि खानाको ठूलो भूमिका हुन्छ । त्यसैले बालबालिका हुन् वा युवायुवती अथवा वृद्धवृद्धा सबैले सन्तुलित खाना अर्थात् शरीरका लागि चाहिने सबै किसिमको पौष्टिक तत्व उपलब्ध हुने खानेकुरा खानु आवश्यक छ ।

परिवारका सदस्यलाई शारीरिक एवं मानसिक रूपमा स्वस्थ राख्न आपै पनि बलियो र स्वस्थ हुनुपर्ने हुन्छ । यसका लागि प्रत्येक महिलाले सचेत भई खानपिन गरे आफूलाई स्वस्थ र फुर्तिलो राख्न सकिन्छ ।

बिहानको खाना ः बिहानको खानाले दिनभरि काम गर्न चाहिने शक्ति उपलब्ध गराउँछ । आफ्नो तौल कम गर्ने भन्दै कतिपय महिला बिहानको खाना खाँदैनन् वा अति कम खान्छन् । विभिन्न अध्ययनअनुसार बिहानको खाना नखानेहरूको दाँजोमा बिहानको खाना राम्रोसँग खानेहरूको शारीरिक तौल नियन्त्रण भएको देखिन्छ ।

समय-समयमा खाने ः  दिउँसो थोरै-थोरै भए पनि पटक-पटक -३ देखि ४ घन्टाको बीचमा) खानुपर्छ । यसो गर्दा शक्ति प्राप्त हुन्छ र शरीर फुर्तिलो रहन्छ । लामो समयसम्म भोकै बस्ने बानीले मानिसलाई अल्छी एवं थकित बनाउनुका साथै रिस पनि उठ्न सक्छ ।

रातिको खाना ः  राति खाना खाएपछि सुतिने भएकाले त्यति शक्ति आवश्यक हुँदैन । त्यसैले राति कम खाना खानुपर्छ  । बिहानको खाना अलि धेरै, दिउँसोको खाजा सकभर थोरै-थोरै गरेर दुई पटक र रातिको खाना कम खानुपर्छ ।

तयारी खानेकुरा भरसक नखाने ः  तयारी चाउचाउ, चीजबल, मःम, चाउमिन, वर्गर आदि खानेकुरा सकभर खानु हुँदैन । यस्तै बट्टामा प्याक फलफूल तथा जुस पनि स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । यसले जिब्रोलाई क्षणिक मिठास मात्र दिन्छ र यसमा क्यालोरी पनि एकदम धेरै हुन्छ तर हामीलाई चाहिने भिटामिन र मिनरल भने एकदम कम हुन्छ । जसले गर्दा हामीलाई चाहिने पोषकतत्व प्राप्त हुँदैन र अनावश्यक रूपमा शरीरमा बोसो जम्मा हुन्छ ।

रेसायुक्त अन्न ः  रेसायुक्त अन्न भन्नाले ननिफलेको चामल, खोस्टे दाल, चोक्करसहितको पीठो -गहँु, मकै, जौ, कोदो, फापर आदिको) हो । रेसायुक्त अन्नले शरीरमा आइरन तथा भिटामिन प्राप्त हुन्छ । यसले मधुमेहीहरूको शरीरमा चिनीको मात्रा तथा तौललाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

उचित मात्रामा चिल्लो खाने ः  धेरैजसो मानिसको धारणा के छ भने चिल्लो भनेको एकदम अस्वस्थ खाद्य वस्तु हो, यसले शरीरमा तौल बढाउँछ । यो एकदम गलत धारणा हो । चिल्लो खाद्यपदार्थ भनेको हाम्रो स्वस्थ्ाकर खानामा नभई नहुने तत्व हो । हाम्रो शरीरलाई चाहिने भिटामिन ए, डी, ई र केलाई सोस्न चिल्लो पदार्थ नभई हुँदैन । तोरीको तेल, सूर्यमुखी तेल, तिलको तेल,  भटमासको तेल, माछा आदिको तेलबाट प्राप्त हुने चिल्लोलाई हामी अनस्याचुरेट चिल्लो भन्छौं जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । त्यसैगरी हाम्रो भान्सा घरमा हुने मेथीका दाना, तिल, ज्वानो, सिलाम, आलस आदि वस्तुहरूबाट पनि राम्रो खालको चिल्लो पदार्थ पाइन्छ ।

चिल्लो पदार्थले छालालाई चिल्लो र चम्किलो बनाउँछ, नङ र रांैलाई पनि स्वस्थ बनाउन मद्दत गर्छ । चिल्लो पदार्थको कमी भए अनुहारको छाला फुस्रो, रांै सुख्खा एवं नङ  कमजोर हुन्छ ।

बोसो, घिउ, वनस्पति घिउ, चीजबाट प्राप्त हुने चिल्लो भने नराम्रो चिल्लो पदार्थ -स्याचुरेटेड फ्याट) हो । यस्तो चिल्लो पदार्थले रगतमा एक प्रकारको बोसो -कोलेस्ट्रोल) जम्मा गर्छ जसले गर्दा रक्तचाप बढ्नुका साथै मुटुसम्बन्धी रोग लाग्छ ।

प्रशस्त मात्रामा क्याल्सियमयुक्त खाना खाने तीस वर्ष काटेपछि महिलाहरूको हड्डी कमजोर हुँदै जान्छ । जसले गर्दा धेरै महिलामा हड्डीसम्बन्धी समस्या देखिन्छ । यो समस्या समाधान गर्न क्याल्सियमयुक्त खाना खानुका साथै शारीरिक व्यायाम गर्न सकिन्छ ।

क्याल्सियम दूध एवं दूधबाट बनेका परिकारहरूबाट प्राप्त गर्न सकिन्छ । त्यस्तै अण्डा, हरियो सागसब्जी, जौका खाद्यपदार्थ, अन्य अन्न एवं तोफु, बन्दा आदिबाट पनि क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

४० वर्ष कटिसकेपछि महिलाको हार्मोन तलमाथि हुने हुँदा शरीरको तौल बढ्ने तथा मधुमेह, उच्च रक्तचाप, थाइरोइडसम्बन्धी समस्या देखिने सम्भावना हुन्छ । त्यस्तै ४० वर्ष कटिसकेपछि महिनावारी रोकिने समय पनि भएकाले खानपानमा ध्यान दिँदै नियमित रूपमा सामान्य व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ ।