मातृ तथा बाल पोषण सुधारको कार्यक्रम तिब्र पारिने


काठमाडौं, असोज १ - सरकारले पाँच वर्षमा मातृ तथा बाल पोषणको अवस्था सुधार गरी मातृ मृत्युदर एक तिहाइले कम गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोग, सातवटा विभागीय मन्त्रालय र प्रमुख सरोकारवालाले मातृ तथा बाल पोषण सुधार तीब्र पार्न प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या, कृषि विकास, शिक्षा, सहरी विकास, संघीय मामिला तथा स्थानीय विकास, महिला तथा बालबालिका र अर्थमन्त्रालय तथा योजना आयोगका पदाधिकारी र सरोकारवालाले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अहिले पाँच वर्ष मुनिका झण्डै ४१ प्रतिशत बालिबालिकामा पुड्कोपन तथा उमेर अनुसार कम उचाई हुने समस्या छ । योजनाका लागि युनिसेफले मुख्य प्राविधिक सहायता गरेको छ भने युरोपेलि युनियनले दक्षिण एशियामा मातृत्व तथा बालबालिकाको पोषण सम्बन्धी परियोजना मार्फत सहयोग उपलब्ध गराएको छ ।
यो अभियानका लागि क्यानडाली अन्तराष्ट्रिय विकास संस्थाबाट १५ लाख अमेरिकी डलर सहयोग प्राप्त भएको राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिका संयोजक डाक्टर शिवचन्द्र राईले जानकारी दिनुभयो । राईका अनुसार एक हप्ता भित्र कार्यविधि तयार गरी लागू गरिनेछ ।
मातृ तथा बालपोषण सम्बन्धी स्थानीय स्तरमा देखिएका समस्या, त्यसको कारण र समाधानका उपायको खोजी गरिने र पहिलो चरणको अभियान जुम्ला, अछाम, बाजुरा, पर्सा, नवलपरासी र कपिल्बस्तुमा लागू हुने राईले जानकारी दिनुभयो ।