महँगो तीज


कमलकुमार बस्नेत- बजारमा सुनको भाउले आकाश छुनै लाग्दा नेपालीहरूको घरमा तीजले ढोका ढकढकाएको छ। ल्हासामा सुन छ, कान मेरो बुच्चै भनेजस्तै भएको छ। गहनामा सजिएर तीजको गीतमा कम्मर मर्काई-मर्काई नाच्ने धेरैको सपनालाई बढ्दो बजार भाउले कुण्ठित बनाइदिएको छ।

 
तीज नजिँकदै गर्दा महिलाहरू कुनै ठाउँमा जम्मा भएर दर खान र खुवाउन व्यस्त छन्। कसै कसैले घरमै जम्मा भएर तीज बनाउँदै आएका छन् त बजेट ठूलो हुनेले क्याटरिङ नै बुक गर्ने गरेका छन्।
गत साताको शनिवार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा दर खाने कार्यक्रममा भेटिएकी काठमाडौँ, तीनकुनेकी सिर्जना बास्तोला यसपाली चौथो पटक दर खाइसकेको बताउँदै थिइन्। उनको तीजको क्यालेन्डर अझै कम्तीमा तीन वटा दर खाने कार्यक्रमले भरिएको छ।
तीजलाई रातो साडीको पर्वका रूपमा पनि हेरिन्छ। अहिले बजारमा एक हजार पाँच सयदेखि एक लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने साडी पाइन्छन्। अहिले साडी पसल र कस्मेटिक पसलमा महिलाहरूको भीड बढेको देख्न सकिन्छ।
महाबौद्धस्थित साडी पसलकी सञ्चालक जमुना खड्काका अनुसार अन्य समयको तुलनामा तीजमा साडीको बिक्री ५० प्रतिशतले बढ्ने गरेको छ। अहिले उनको साडी पसलमा एक हजार देखि २० हजारसम्म मूल्य पर्ने साडीहरू राखिएका छन्।


त्यस्तै, तीजका अवसरमा बिक्री हुने हरियो छड्के तिलहरी (नक्कली सुन) को व्यापार पनि फस्टाएको छ। अहिले बजारमा एक हजारदेखि तीन हजार रुपैयाँसम्मका छड्के तिलहरी पाइन्छन्।
अहिले बजारमा सुनको भाउले तोलाको ६० हजार रुपैयाँको सीमा पार गरिसकेको छ। यो गत वर्षको तुलनामा करिब १० हजारले बढी हो। त्यसैले होला, बजारमा नक्कली सुनका गहनाको ठाउँ पाएको छ।
नयाँ बानेश्वरस्थित नारी शृंगार पसलकी निलम शर्माले अहिले दैनिक १५ हजार रुपैयाँभन्दा बढीको नक्कली सुनका गहना बेचिरहेकी छिन्। शर्माका अनुसार यस्ता गहनाको चमक छ महिनासम्म टिक्ने र हेर्दा सक्कली सुनभन्दा कम नदेखिने भएकाले पनि नक्कली सुनप्रति ग्राहक आकर्षित भएका हुन्।
सामाखुसीकी लक्ष्मी ढकालको यो वर्षको तीजमा गत वर्षको भन्दा बजेटको आकार दोब्बर ठूलो छ। गत वर्ष २० हजार रुपैयाँमा तीज उम्काएकी उनको यो वर्ष बजेट बढेर ४० हजार रुपैयाँ पुगेको छ। यसपाली आधा तोला भए पनि सुनको जोहो गर्ने योजना बनाएकाले बजेटको आकार बढेको उनले बताइन्।
अहिले राजधानीका अधिकांश क्याटरिङ तथा होटलमा दर खाने कार्यक्रम भइरहेका छन्। नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा दरको भाउ प्रतिप्लेट सात सय रुपैयाँ तोकिएको छ। सबै दर खाने कार्यक्रममा सामान्यतया यति पैसा तिरे पुग्छ, तर मदिराको व्यवस्था भएको पार्टीमा भने केही बढी तिर्नुपर्छ।