तीजमा पुरुषको भूमिका


खेम गैरे- हरितालिका तीजलाई हिन्दू महिलाहरूको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ। यसको अर्थ के तीज पुरुषहरूको पर्व होइन? नेपालका प्रायः चाडबाडले महिला र पुरुष दुवैलाई समेटेको पाइन्छ। प्रत्यक्ष वा अप्रत्यक्ष हरितालिका तीजसँग पुरुषहरू पनि जोडिएका हुन्छन्। यो पर्व उनीहरूले पनि मान्छन्।


मीनभवन क्याम्पसका स्ववियु सभापति तुलसीराम मैनालीले भदौ २८ गते कलेजमा तीज विशेष कार्यक्रम राखे। 'देशका विभिन्न कुनाबाट यहाँ पढ्न आउने दिदीबहिनीलाई दर ख्वाएर सम्मान गर्‍यौँ,' उनले भने, 'वास्तवमा हामी दाजुभाइको दायित्व भनेकै चेलीबेटीलाई सम्मानजनक वातावरण सिर्जना गरिदिने हो। अभिभावकको भूमिका निर्वाह गर्ने हो।' तर, तीजका नाउँमा मौलाउँदै गइरहेको विकृतिको भने उनी घोर विरोध गर्छन्। 'तीज भनेको महिला दिदीबहिनी आपसमा जम्मा भएर दुःखसुख साट्ने एउटा विशिष्ट अवसर हो। तर यसको भावना र मर्मविपरीत यसलाई जथाभावी तरिकाले मनाइँदै छ,' उनले भने।
अनेरास्ववियु केन्द्रीय कमिटीका केन्द्रीय सदस्य श्यामकाजी खत्री तीज महिलाको पर्व भए पनि यसमा पुरुषहरूको भूमिका महŒवपूर्ण रहने बताउँछन्। 'वास्तवमा महिलाले तीजको व्रत पुरुषकै लागि लिने गर्छन्। आफ्ना पुरुषको दीर्घायु र उन्नतिका लागि पानी समेत नखाई व्रत बस्ने गर्छन्।' तीजको दिन आफ्नी गर्लफ्रेन्डसँग मन्दिर जाने योजना छ उनको।
बिबिएस तेस्रो वर्षमा अध्ययनरत गौशालाका भीमसेन धामीले बजाएको मादलको स्वर मन नपराउने सायद कमै मान्छे होलान्। यो तीजमा दिदीबहिनीहरूसँग बसेर मादल बजाइदिने अनि उनीहरूसँग दोहोरी गाउने रहर छ उनको। तीज पर्व महिलाहरूको हो भन्ने मान्यता उनलाई मन पर्दैन। 'पहिले-पहिले तीजलाई महिलाको पर्व भनिन्थ्यो, तर अचेल पुरुषहरू पनि सँगसँगै बस्छन्, खान्छन् अनि नाच्छन्,' उनले भने, 'यस्तो अवसरमा हामी पुरुषहरूको सहयोगी भूमिका हुनुपर्छ।'
नक्साल बस्ने पाल्पाका राम बस्याल आफ्नी विवाहित दिदीलाई केही दिनभित्रै माइती लिएर जाँदै छन्। खासगरी तीजको समयमा दाजुभाइ वा माइतीले आफ्ना विवाहित दिदीबहिनी वा चेलीबेटीलाई लिन जाने प्रचलन छ। यसरी माइती आएका दिदीबहिनीलाई मिठा-मिठा परिकारको दर ख्वाउने गरिन्छ।
तीजमा पुरुषहरूले महिलाका लागि विभिन्न कोसेली तथा लुगाफाटा, गरहगना किनिदिने चलन छ। नारीहरू रातो सारी, रातो चुरापोते र रातै पहिरनमा सजिएर नाच्ने गर्छन्। तर, अचेल भने यसले फेसनको रूप लिएको छ। हैसियतभन्दा माथि उठेर तीज मनाउने प्रवृत्तिले धेरैलाई आर्थिक समस्यामा फसाउने गरेका उदाहरण सुनिने गर्छन्। 'यो एकदमै गलत अभ्यास हो,' काभ्रेका राजु कार्की भन्छन्, 'अचेल नारीहरूमा महँगा कपडा र गरहगना लगाउने प्रतिस्पर्धा नै चलेको देखिन्छ। यसले पारिवाकि तथा सामाजिक सम्बन्धमा समेत खलल पुर्‍याउँछ।'