१६ कर्नेल विरुद्ध ८ कर्नेल अदालतमा


विरोध गर्नेहरु मलाई थाहा छः प्रधानसेनापति

४ चैत, काठमाडौं । नेपाली सेनामा भएको ‘फास्ट ट्रयाक’ बढुवासम्बन्धी विवाद ब्यारेक बाहिर छताछुल्ल भएको छ । १६ जना प्रमुख सेनानी (लेफि्टनेन्ट कर्नेल) को बढुवा खारेजी हुनुपर्ने माग गर्दै ८ जना बहालवाला प्रमुख सेनानीले आइतबार सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेपछि सेनाभित्रको विवाद बाहिर आएको हो ।
कनिष्ठलाई बढुवा गरिएको र समूह विभाजन गरेर आफूहरुलाई विभेद गरिएको भन्दै लेफि्टनेन्ट कर्नेलहरु अदालत गएका हुन् । कनिष्ठलाई बढुवा गर्नु त्रुटिपूर्ण छ र तीन समूहमा गरिएको बर्गीकरण संविधानको धारा १३ को कानुनको समान संरक्षण विपरीत भएको भन्दै रिट दायर भएको हो’ लेफि्टनेन्ट कर्नेलहरुका कानुन व्यवसायी सुवास आचार्यले अनलाइनखबरसँग भन्नुभयो-’रिटमा समूह विभाजन, नियमावली र त्यही आधारमा गरिएको बढुवा खारेज गर्न माग गरिएको छ ।’
suprim-courtसेनाले योग्यता र दक्षतालाई प्राथमिकता दिने भन्दै गत माघ १० मा पहिलोपटक राजपत्रमा सूचना प्रकाशित गरी नयाँ नियमावली लागू गरेको थियो । नयाँ नियमावलीमा अति योग्य, बढी योग्य र योग्य समूहमा बढुवा सिफारिस गर्ने प्रावधान छ । यस अन्तरगत अति योग्यबाट २० प्रतिशत, योग्यबाट ६० र योग्यबाट २० प्रतिशत बढुवाका लागि सिफारिस गर्ने भनिएको छ । बढुवा समितिले गरेको सिफारिसमा चित्त नबुझी सैन्य सचिवालयमा उजुरी दिए पनि सुनुवाइ नभएको भन्दै लेफि्टनेन्ट कर्नेलहरुले अदालतको ढोका ढक्ढक्याएका हुन् ।
को-को छन् रिट हाल्ने ?
बढुवामा अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गर्ने ८ जना प्रमुख सेनानीहरुमा बलाधिकृत विभाग सैनिक समाचार निर्देशनालय जंगी अड्डा भद्रकालीमा कार्यरत सम्पतकुमार अर्याल, १० नं बाहिनी महाराजगञ्जका रमेश थापामगर र बलाधिकृत विभाग सैनिक बिनय महानिर्देशनालय भद्रकालीका चन्द्रबहादुर पुनमगर हुनुहन्छ । त्यसैगरी विशेष सुरक्षा बल नारायणहिटीमा कार्यरत प्रमुख सेनानी राजेन्द्रजङ्ग खत्री, आर्टिलरी निर्देशनालय लगनखेलमा कार्यरत रामजी थापा, ज्वालादल गण भक्तपुरका सुरेन्द्र घर्ती, बलाधिकृत विभाग नीति निर्देशनालय भद्रकाली प्रकाश पोखरेल र प्रबन्धरथी विभाग (खा.प.) भद्रकालीमा कार्यरत प्रमुख सेनानी नवीन बस्न्यातसमेत ८ लेफि्टनेन्ट कर्नेलहरु निवेदक रहनुभएको छ ।
बढुवामा पर्ने १६ विपक्षी
सेनाभित्रको विवाद ब्यारेक बाहिर आउने क्रमसँगै रिट निवेददकहरुले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रक्षा मन्त्रालय, नेपाली सेना, भद्रकाली र बढुवा समितिलाई मात्रै नभई बढुवामा परेका १६ जना प्रमुख सेनानीहरुलाई विपक्षी बनाएका छन् ।
त्यसरी विपक्षी बनाइएकाहरुमा जंगी अड्डाका प्रमुख सेनानी सहदेब खड्का, हिरालाल जोशी, पंकज कार्की, प्रयोग ज.व.रा, योगराज शर्मा, राम राणा, लवकुमार रायमाझी, अर्जुन श्रेष्ठ, सुरेन्द्रसिंह रावल, प्रेमध्वज अधिकारी, दीपककुमार बानिया, शंकरबहादुर पण्डित र प्रमुख सेनानी होमनाथ दवाडी हुनुहन्छ । त्यसैगरी प्रमुख सेनानी रामकृष्ण थापा, भीम शाह र हेमजंग थापालाई पनि विपक्षी बनाइएको छ । विपक्षी बनाइएका १६ लेफ्टिनेन्ट कर्नेर्लहरु बढुवाको सिफारिसमा परेका हुन् भने निवेदकहरु नयाँ नियमावलीका कारण बढुवाको सूचिबाट बाहिरिएका हुन् ।
रिटमा भनिएको छ- ‘बढुवाका लागि सिफारिस गरिएका सैनिक अधिकृतहरुमध्ये ८ जना हिरालाल जोशी, सुरेन्द्रसिंह रावल, प्रेमध्वज अधिकारी, दिपक कुमार वानीय, शंकर बहादुर पण्डित र होमनाथ दवाडी सि.सं. २७ का र २ जना अधिकारीहरु भीम शाह र हेमजंग थापा हामीभन्दा कनिष्ठ सैनिक अधिकृतहरु हुन् । विपक्षी मध्येका भीम शाह, हेमजंग थापा र रामकृष्ण थापाले स्टाफ कलेज नगरेका व्यक्ति हुन् ।’
विरोध गर्नेहरु मलाई थाहा छ- प्रधानसेनापति
यसैवीच नेपाली सेनाको पृतनापति सम्मेलनमा बोल्ने क्रममा प्रधानसेनापति गौरबसमशेर राणाले बढुवाको विरोध गर्नेहरु कोको हुन् भन्ने आफूलाई राम्रोसित थाहा भएको बताउनुभएको छ । चैत्र १ गतेबाट चार दिनसम्म चलेको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति राणाले पावर पोइन्टबाट प्रस्तुती गर्नुभएको थियो । यसक्रममा उहाँले नेपाली सेनामा देखिएको बढुवासम्बन्धी विवादबारे बोल्दै राणाले क-कसले विरोध गरिरहेका छन् भन्ने आफूलाई राम्रो जानकारी भएको बताउनुभयो । सेनामा नयाँ र योग्यहरुलाई मौका दिने मनसायले नयाँ नियमावली अनुसार बढुवाको व्यवस्था गरिएको भन्दै राणाले यसको विरोध गर्नुको औचित्य नरहेको पृतनापति सम्मेलनमा बताउनुभएको स्रोतले बतायो