अदालतको काम कारबाहीमा मेरो संलग्नता हुन्न : रेग्मी
![]() |
नारायण न्यौपाने, काठमाडौं, चैत ४ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन नै सबैभन्दा महत्वपूर्ण विषय भएकाले त्यसलाई अघि बढाउन पूरै राज्य संयन्त्रको ध्यान केन्द्रित रहेको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा समाचारदातासँग कुराकानीमा अध्यक्ष रेग्मीले चुनावका बारेमा निर्वाचन आयोगमा अहिले रहेका कर्मचारीसँग तीव्ररुपमा छलफल भइरहेको तथा सम्पूर्ण कर्मचारी संयन्त्रसमेत निर्वाचनमा केन्द्रित रहेको बताए ।
मन्त्रिपरिषद्को विस्तारसँगै आयोगका आयुक्तको छिटोभन्दा छिटो नियुक्ति गर्ने, त्यसपछि आयोगले निर्वाचनका लागि थप गृहकार्य गर्ने र छिटो निर्वाचन गर्ने प्रक्रियालाई प्रतिबद्धताका साथ लाने लक्ष्य रहेको उनले बताए । अध्यक्ष रेग्मीले भने, 'सकेसम्म छिटो निर्वाचन सम्पन्न गर्न प्रयत्न गरिनेछ।'
'प्रमुख चार राजनीतिक दलले संविधान बनाउने संविधानसभा जस्तो साह्रै महत्वपूर्ण अङ्गको निर्वाचन सम्पन्न गराउन जुन विश्वासका साथ आफूलाई जिम्मेवारी दिएका छन्, मलाई पनि निर्वाचन प्रक्रियाको माध्यमबाट अघि बढ्न उनीहरुले पूर्ण सहयोग गर्ने विश्वास लिएको छु' -अध्यक्ष रेग्मीले भने । 'राष्ट्रको अहिलेको विषम परिस्थिति र गतिरोध भइरहेको अवस्थामा प्रमुख राजनीतिक दलले स्वतन्त्र न्यायालयमा बसिरहेको व्यक्तिलाई निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भनेर विश्वास गरी जिम्मेवारी दिनुभएको छ, त्यसप्रति राजनीतिक दललाई म धेरै आभार व्यक्त गर्छु,' उनले भने ।
समाचारदाताको एक प्रश्नको जवाफमा अध्यक्ष रेग्मीले भने, 'न्याय परिषद्को होस् वा अदालतको कुनै काम कारबाही र क्रियाकलापमा आफ्नो कुनै संलग्नता हुँदैन, म अलग भएर आइसकँे, त्यहाँको कुनै पनि कार्य प्रणालीमा म संलग्न छैन, आफूले भिन्न जिम्मेवारी लिइसकेपछि न्यायपालिकाले आफ्नो काम गर्छ, न्यायाधीशले त्यहाँ रहेका मुद्दामामिलालाई स्वतन्त्र र निष्पक्ष हिसाबले सम्पादन गर्ने छन्। उनले भने, 'कार्यगत हिसाबले कार्यपालिका र न्यायालयको अलग अलग स्थिति र भूमिका भएकाले न्यायालय स्वतन्त्र हुन्छ कि हुँदैन भनेर द्विविधा लिनुपर्ने आवश्यकता छैन।
कामु प्रधान न्यायाधीशलगायत अन्य नियुक्ति प्रक्रिया बाधा अड्काउ फुकाउ आदेशमार्फत फुकेको बताउँदै उनले आफू व्यक्तिका रुपमा यहाँ आएर काम गरिसकेकाले त्यहाँ भन्नुपर्ने र गर्नुपर्ने अवस्था नै नरहने तर्क प्रस्तुत गरे । अध्यक्ष रेग्मीले सम्पूर्ण जनसमुदाय र भिन्न विचार दृष्टिकोण राखेर आन्दोलनमा रहेका दललाई लक्ष्य गर्दै जनतामा जाने विषयलाई अन्यथा रुपमा नलिएर निर्वाचनमै केन्द्रित हुन आह्वान गरे ।
उनले संविधानसभामार्फत संविधान जारी गर्ने अभियानलाई पूर्णता दिएर मुलुकलाई संवैधानिक र राजनीतिक स्थायित्व दिँदै समृद्धितर्फ उन्मुख गराउने दिशामा लाग्नुपर्नेमा समेत जोड दिए । रासस
![]() |