रोजगारीको खोजीमा दिल्ली गएका नेपाली युवकको हत्या


पर्सा, फागुन २८- रोजगारीको लागि भारतको दिल्ली पुगेका एक पर्सा जिल्लावासी युवकको हत्या गरिएको छ। कामको खोजी गर्दै दिल्ली पुगेका पर्साको गाविस लहावरथकरी-८ धोवियाटोला निवासी मनी हवारीको १८ वर्षीय छोरा अनुर आल्म हवारीको अज्ञात व्यक्तिले हत्या गरेका हुन्।





विपन्न परिवारका अनुर रोजगारीको लागि १५ दिन अगाडि मात्र नेपालबाट भारतको दिल्ली गएकोमा गएराति अज्ञात व्यक्तिले उनलाई पेटमा छुरा प्रहार गरी हत्या गरेको थाहा पाएपछि धोविया टोल नै शोकाकुल भएको छ।

अनुरसँगै रहेका उनका काकाका छोरा नाजीर हवारी पनि गम्भीर घाइते अवास्थामा प्रहरीले फेला परेको र उनको अवस्था गम्भीर रहेको मृतकका पिता हवारीले बताए ।

अनुरको १६ दिनपछि भारतको भर्वलियामा विवाह हुने तयारी परिवारले गरिरहेका थिए। परिवारको पेट भर्न विदेशीएका छोराको हत्या भएपछि अत्यन्त दुःखी रहेका पिता हवारीले अनुरका हत्यारालाई कारबाही गराउन नेपाल सरकारले भारत सरकारसँग उचित पहल गर्न आग्रहसमेत गरे । रासस