निजी विद्यालय मापदण्ड निर्देशिका जारी, विद्यालयलाई नै मान्य नहुने


काठमाडौँ, फागुन २८ - शिक्षा मन्त्रालयले जारी गरेको 'संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९' कार्यन्वयनका लागि सबै जिल्ला शिक्षा कार्यालयमा सर्कुलर पठाएको छ।


शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले सबै सरोकारवालाको संलग्नतामा निर्देशिका जारी गरिएकाले यसको पालना हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १९२ 'ङ' सो निर्देशिका हालै जारी भएको हो।

निर्देशिकाको मस्यौदा कार्यदलमा रहेको निजी तथा आवासीय अर्गानाइजेसन (प्याब्सन) ले यसको विरोध गर्न थालेकोमा निर्देशक पाण्डेले आश्चर्य प्रकट गरे ।

निर्देशिका हरेक निजी (संस्थागत) विद्यालयको एउटा कक्षामा कम्तीमा २२ जना विद्यार्थी हुनुपर्ने, निश्चित प्रतिशत छात्रवृत्ति पारदर्शीरुपमा दिनुपर्ने, विद्यालयको आफ्नै जग्गामा भवन हुनुपर्ने, पुस्तकालय, शौचालयजस्ता भौतिक पूर्वाधार हुनुपर्ने र शिक्षकको सुविधा तोकेअनुसार हुनुपर्नेलगायतका विषय उल्लेख गरिएको छ।

प्याब्सनको हिजो बसेको सचिवालयको बैठकले निर्देशिकामा रहेका कतिपय विषय आफूहरुलाई मान्य नहुने जनाउँदै त्यसको सार्वजनिक विरोध गर्ने निर्णय गरेको थियो।

प्याब्सनका महासचिव डी.के. ढुङ्गानाले आफूहरुको सुझावभन्दा फरक बुँदा पनि राखेर निर्देशिका आएको बताए ।

निर्देशक पाण्डेले बालबालिकाका नाममा कसैले व्यापार गर्ने वा ठगी गर्ने मनसाय मात्रै राखेमा त्यो शैली मान्य नहुने र नियमअनुसार कारबाही गरिने बताए । रासस