विलासी वस्तु आयात बढ्दो
|
विष्णु पोखरेल, काठमाडौं, चैत ५ - चार-पाँच वर्षअघिसम्म नेपालीलाई नौलो रहेको शक्तिवर्द्धक पेय (इनर्जी ड्रिंक्स) अहिले धेरैका लागि लोकप्रिय बनिसकेको छ। उपभोग बढेपछि बजारमा २०/२५ ब्रान्डका यस्ता पेय भित्रिएका छन्। अति कमविकसित मुलुकमध्ये अग्रपंक्तिमै आउने केही नेपाली उपभोक्ता यस्ता छन्, जो सहरका डिपार्टमेन्टल स्टोरमा सबैभन्दा महँगा मदिरा खोज्न दिनैपिच्छे पुग्छन्।
यस्तै उपभोक्ता लक्ष्य गर्दै सहरका डिपार्टमेन्टल स्टोर, सुपरमार्केट र पसलेले ७ सय मिलिलिटर बोतलको ४० हजार रुपैयाँसम्म पर्ने मदिरा बेच्न राखेका छन्।
सुन आयात बढेर व्यापार घाटा उच्च भएको भन्दै सरकारले कोटा तोकेर बैंकले मात्र आयात गर्ने व्यवस्था गरे पनि कम हुन सकेको छैन। वर्षेनि आयात बढिरहेको सुन माग उच्च हुँदा तस्करी मौलाउँदो छ। पटक-पटक चीनबाट तस्करी भएको सुन विभिन्न स्थानमा बरामद भइरहेका छन्।
थाइल्यान्डबाट आउने इनर्जी ड्रिंक्समात्र होइन, स्कटल्यान्डको महँगो ह्विस्की, मलेसियाली चुरोट र अरबको अत्तर (पर्फ्युम) सर्वसाधारण नेपालीलाई अब नौलो रहेनन्। वषर्ौंदेखि राजा-महाराजा र दरबारियाले यस्ता विलासी वस्तु उपभोग गर्दै आएका छन्। अब यिनमा सर्वसाधारणको पनि पहुँच विस्तार भएको छ।
विलासी वस्तु उपभोग बढ्दै जाँदा यसको प्रभाव राष्ट्रिय अर्थतन्त्रमा देखिन थालेको छ। विलासी वस्तुमा सर्वसाधारणको पनि पहुँच विस्तार भएपछि मुलुकमा वर्षेनी यिनको आयात बढ्दो छ। आयात वृद्धिसँगै अर्बौं रुपैयाँ विदेशिएर व्यापार घाटा बढिरहेको छ।
पछिल्लो सरकारी तथ्यांकले पनि विलासी वस्तु आयात बढिरहेको देखाएको छ। सुन, इनर्जी ड्रिंक्स, रक्सी, चुरोट, सौन्दर्य सामग्रीजस्ता वस्तु आयात बढिरहेको हो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्ष सात महिनामा यस्ता वस्तु आयात बढ्दोक्रममा रहेको देखिन्छ।
केन्द्रका अनुसार यस अवधिमा सुन २१.८, इनर्जी ड्रिंक्स ३३.७, मदिरा ४४.९, चुरोट-सुर्ती ६.४ र कस्मेटिक्स आयात ३०.२ प्रतिशतले बढेको छ। पछिल्ला वर्ष रेमिट्यान्सलगायतका विभिन्न कारण सर्वसाधारणको आय वृद्धि भएकाले यस्ता वस्तु प्रयोग बढेको अर्थशास्त्री र समाजशास्त्री बताउँछन्।
अर्थशास्त्री केशव आचार्यले विलासी वस्तु आयातक्रम अझै बढ्ने सम्भावना रहेको बताए। 'रेमिट्यान्सबाट आम्दानी बढिरहेको छ, अफिसियल, अनअफिसियल च्यानलबाट विदेशी सहयोग आउनेक्रम बढ्दो छ,' उनले भने, 'यसले मानिसको क्रय शक्ति बढिरहेको छ।'
अनौपचारिक अर्थतन्त्र बढेकाले पनि विलासी वस्तु अयात वृद्धि भएको उनले बताए। 'मान्छेले पैसा कमाएको छ, तर लगानी गर्ने ठाँउ छैन,' उनले भने, 'त्यसलाई यस्ता वस्तु खरिदमा केन्द्रित गरेको छ।' बढ्दो तस्करी, हुन्डी कारोबार, भ्रष्टाचारजस्ता कारण बढेको आम्दानी विलासी वस्तु उपभोगमा खर्च भइरहेको उनले बताए।
समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले नेपाली समाजमा उपभोगमुखी संस्कृति विकास हुँदै गएको बताए। 'अहिले केही सीमित वर्गमा पैसा केन्द्रित भएको छ,' उनले भने, 'यसले उपभोगमुखी संस्कृति विकास भएको हो।'
उनका अनुसार नेपालीको बढेको जीवनस्तरको प्रतिफलस्वरूप सुन, घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी बढेको छ। हाल नेपालीले रेमिट्यान्स र अन्य स्रोतबाट आएको रकम छोराछोरीको पढाइ, स्वास्थ्य, घरजग्गा र विलासी वस्तुमा खर्चिरहेका छन्। लगानी गर्ने ठाउँ नहुँदा विलासी वस्तुमा रकम खर्च भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष सात महिनामा २ खर्ब २५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स आम्दानी भएको छ। यो बैंकिङ माध्यमबाट आएको हो। हुन्डीबाट आउने रेमिट्यान्स पनि निक्कै रहेको अनुमान छ। यसरी वैदेशिक रोजगारीबाट आएको रकम लगानी गर्नुको साट्टा नेपालीले विलासी वस्तुमा खर्च गर्ने प्रवृत्ति बढ्दो छ।
केही विलासी वस्तु आयात विवरण
वस्तु गत वर्ष साउन-माघ चालु वर्ष साउन-माघ वृद्धि प्रतिशत
सुन १६ अर्ब ८५ करोड २० अर्ब ५१ करोड २१.८
इनजी ड्रिंक्स ३६ करोड ४८ करोड ३३.७
मदिरा ७१ करोड १ अर्ब ३ करोड ४४.९
चुरोट-सुर्ती १ अर्ब १७ करोड १ अर्ब २४ करोड ६.४
कस्मेटिक्स १ अर्ब ५८ करोड २ अर्ब ६ करोड ३०.२
स्रोतः व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
|



