सुस्त श्रवण परिक्षार्थीलाई सहजकर्ताको सुविधा


भक्तपुर, फाल्गुन २८ - -यस बर्ष मुलुकभरबाट ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थी परीक्षामा सहभागि हुदै
-दृष्टिबिहीनले आठ कक्षा अध्ययन गर्दै गरेकालाई मात्रै सहजकर्ता राख्न पाउने व्यवस्था
-दोहोरो रजिष्टेशन फारम भरेका विद्यार्थीले परीक्षा अघि नै अनुरोध गरेमा परीक्षा दिनबाट बञ्चित नगर्ने
सुस्त श्रवण भएका परिक्षार्थीले एसएलसीमा आधा घण्टासम्म सहजकर्ता राख्न पाउने भएका छन् । प्रश्नपत्र बुझाईमा समस्या नहोस भनेर यस्ता व्यवस्था गरेको परिक्षा नियन्त्रण कार्यालयले जनाएका छ ।
सहजकर्ता सुस्त श्रवणको साङकेतिक रुपमा कुराकानी गर्न सक्ने निम्न माध्यमिक तहसम्मको शिक्षक हुनु पर्ने छ । 'साङकेतिक भाषा जान्ने भएपनि शिक्षक हुनुपर्छ,'परीक्षा नियन्त्रक खगराज बरालले भने,'यस्ता व्यक्तिको छनौट केन्द्राध्यक्षले गर्ने छन् ।' बिहीबारदेखि सुरु हुने यस बर्षको एसएलसीमा यस्ता परिक्षार्थी कति छन ? भन्ने एकिन नभएको उनले बताए । परीक्षा हलमा सहभागी अन्य विद्यार्थीलाई 'गार्ड' ले प्रश्न पढेर सुनाउछन । तर सुस्त श्रवण भएका विद्यार्थीलाई इसारा गरेर बुझाउन सक्दैनन  । यस्ता परीक्षार्थीले प्रश्नपत्रमा उल्लेख भएको 'शब्द र पुरा वाक्य' बुझन कठिनाई भएको गुनासो आएपछि सहजकर्ताको व्यवस्था गरेको बरालले बताए । 'सहजकर्ता आधा घण्टासम्म मात्रै परीक्षा हलमा बस्न पाउछन्,'उनले भने,'हलबाट बाहिरिएपनि परीक्षा केन्द्रबाहिर एक घण्टासम्म जान पाउदैनन ।'
त्यस्तै दृष्टिबिहीनले आठ कक्षा अध्ययन गर्दै गरेकालाई मात्रै सहजकर्ता राख्न पाउने व्यवस्था गरेको छ । गत बर्षसम्म आठ कक्षा उतिर्ण गरेकालाई राख्न दिने व्यवस्था थियो । दोहोरो रजिष्टेशन फारम भरेका विद्यार्थीले परीक्षा अघि नै अनुरोध गरेमा परीक्षा दिनबाट बञ्चित नगर्ने बरालले बताए । तर, दुबै तर्फ रजिष्टे्रशन फारम भरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ । बरालको अनुसार १० जनाको अनुरोध निवेदन परेको छ । दोहोरो रजिष्टे्रसनको समस्या आएकोले आउँदो बर्षदेखि ९ कक्षामा फारम भर्ने व्यवस्था गरेको छ ।
यस बर्ष मुलुकभरबाट ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थी परीक्षामा सहभागि हुदै छन् । त्यसमा नियमित तर्फ ४ लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ जना छन् । यी परीक्षार्थीका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र तोकेको छ । १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरिक्षक, ७ हजार २ सय ९७ र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने बरालले जानकारी दिए ।